close

व्यवस्थापन संकाय पढ्ने विद्यार्थीका लागि उपयोगी ई-लर्निङ प्लेटलर्म- ‘मेरो पढाइ’

टेकपाना टेकपाना

बैशाख १४, २०८० १५:४

व्यवस्थापन संकाय पढ्ने विद्यार्थीका लागि उपयोगी ई-लर्निङ प्लेटलर्म- ‘मेरो पढाइ’

काठमाडौं । जहाँ समस्या, त्यहाँ उपाय । ठ्याक्कै यो कुरा मिल्न गयो मार्केटिङ एजेन्सीमा काम गरिरहेका मानव कल्याण पराजुलीको जीवनमा ।

काठमाडौंमा बसेर व्यवस्थापन संकायको अध्ययनसँगै उनी काम गरिरहेका थिए । तर काममा व्यस्त भइदिँदा नियमित रूपमा कक्षामा जान पाउँथेनन् । उनले आफ्ना सहपाठीलाई पढेको कुरा सोध्‍थे । 

त्यसबेला उनलाई आफूले पढिरहेको विषय अनलाइनमा भइदिए हुन्थ्याे जस्ताे लाग्थ्यो ।

जब कोभिड महामारी व्याप्त भयो, तब उनको जीवनमा नयाँ आयाम खुल्यो । कोभिडले उनको अफिसकाे काममा प्रत्यक्ष असर पुगेकाे थियो । आम्दानी घटिरहेको थियो ।

त्यसबेला उनले प्रविधिको महत्त्वलाई थप बुझ्ने मौका पाए । उनलाई प्रविधिसँग सम्बन्धी केही गरौं लागेको थियो । त्योसँगै पढ्ने रहर पनि । र यसरी बजारमा थपियो नयाँ अनलाइन लर्निङ प्लेटफर्म ‘मेरो पढाइ’ । 

पराजुली अनलाइन लर्निङ प्लेटफर्म ‘मेरो पढाइ’को प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । त्यस्तै इन्दिरा तिम्सिना, प्रेम रेग्मी र डिभी गुरुङ सञ्चालक समूहमा छन् । उनीहरू सबै प्रविधि र शिक्षा क्षेत्रमा काम गरिरहेका व्यक्ति हुन् । 

''नेपालमा अध्ययनको अभावमा विश्वविद्यालय छाड्ने संख्या धेरै भएकाले त्यसलाई कम गर्न सहयोग गर्नु कम्पनीको उद्देश्य रहेको छ,'' पराजुली भन्छन्, ''आफूले भोगेको समस्या अरु धेरैमा छ, तिनलाई समाधान गर्नुपर्छ भनेर २०२२ काे नाेभेम्बरबाट कम्पनी सुरु गरेका हाैं ।''

‘मेरो पढाइ’को बलियो पक्ष

हुन त बजारमा ई-लर्निङ प्लेटफर्म थुप्रै छन् । त्यही भीडमा ‘मेरो पढाइ’ थपिएको छ । कम्पनी सुरु गर्नुअघि धेरै समय रिसर्च एन्ड डेभलपमेन्ट (आर एन्ड डी) मा खर्चेर मात्र यस यात्रामा आएको संस्थापक पराजुली बताउँछन् ।

“ई-लर्निङ प्लेटफर्म सुरु गर्नुअघि कसरी जाने, कस्तो बनाउने भन्नेमा समय लगायौं,” उनी भन्छन्, “त्यसैले गर्दा हामीले उपलब्ध गराउने सामग्री विशेष बनाएका छौं ।”

अहिले यस प्लेटफर्ममा विश्वविद्यालयका प्राध्यापककाे सहयाेगमा कोर्ष निर्माण गरिएको उनी बताउँछन् । 

त्यसबाहेक कम्पनीको बलियो पक्ष ‘शुल्क’ लाई पनि उनी मान्छन् । अहिले ‘मेरो पढाई’ को हरेक कोर्षको शुल्क १९९ रूपैयाँ छ । धेरै पैसा लिनुमात्र समस्याको समाधान नभएकाले आफूहरूले त्यसमा काम गरेको पराजुली बताउँछन् ।

''यस प्लेटफर्ममा थोरै मूल्यमा नै व्यवस्थित तरिकाले अध्ययन गर्न सकिन्छ,' उनी थप्छन् ।

विशेषता 

यस प्लेटफर्ममा विशेषगरी कक्षा ११, १२ र स्नातक तहका व्यवस्थापन विषयका कोर्ष उपलब्ध छन् । त्यसबाहेक फोटोशप, फिग्मा, भिडि‌ओ एडिटिङ लगायतका कोर्ष पनि छन् । कोर्षभित्र पाठ्यक्रम अनुसारका भिडिओ छन् । 

''हामीले कोर्षको गुणस्तर कस्तो छ भनेर हेर्दा क्यामेरा एङ्गल, अडियो/भिडिओको गुणस्तर निकै राम्रो भएको पायौं । शिक्षकले पनि अनावश्यक कुरा गरेका छैनन् । हरेक कोर्ष सकिएपछि क्विज हुन्छ । जसले पढिसकेपछि सम्झन मद्दत गर्छ । त्योसँगै हरेक कोर्षको डिजिटल नोट उपलब्ध हुन्छ । साथै कुनै कुरा बुझिएन भने समाधानका लागि ‘फोरम’ भन्ने सेक्सनमा गएर प्रश्न सोध्न सकिन्छ । जसमा शिक्षक वा विषयको ज्ञान भएकाले उत्तर दिने गर्छन्,'' उनी भन्छन् ।

भविष्यको ‘मेरो पढाइ’

कम्पनीले अहिले प्लेटफर्ममा व्यवस्थापन सङ्कायका विद्यार्थीलाई अहिले केन्द्रमा राखेको छ । यसैले प्लेटफर्ममा व्यवस्थापनका कोर्ष मात्र उपलब्ध छन् । तर भविष्यमा अन्य विषयका कोर्ष पनि थप्ने याेजना ल्याइएकाे छ ।

अहिले प्लेटफर्ममा भएको सीप विकासका कोर्षमा बढी चाप भएकाले पछि तिनको पनि एड्भान्स कोर्ष सञ्चालन गर्ने पराजुली बताउँछन् ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८० १५:४