close

धर्नामा बस्दै महावीर पुनले भने- आविष्कार, नवप्रवतर्तन र अनुसन्धानको विषय कसैले बुझेनन्

टेकपाना टेकपाना

बैशाख १५, २०८० १२:३०

धर्नामा बस्दै महावीर पुनले भने- आविष्कार, नवप्रवतर्तन र अनुसन्धानको विषय कसैले बुझेनन्

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले राज्यले आविष्कार, नवप्रवर्तन र अनुसन्धानकाे क्षेत्रलाई बेवास्ता गरेकाे भन्दै विरोध जनाएका छन् ।

विभिन्न माग राख्दै शुक्रबारदेखि माइतीघरमा धर्नामा बसेका पुनले प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्षदेखि लिएर कुनै अर्थशास्त्रीले पनि देशमा आविष्कार अनुसन्धानको आवश्यकता किन छ भन्ने विषयमा आवाज नउठाएको गुनासो पोखे ।

"आविष्कार, अनुसन्धानले देशको अर्थतन्त्र बनाउँछ । तर हामीले आविष्कार, अनुसन्धानलाई नै बुझेका छैनौं," उनले भने, "एउटा दाँत कोट्याउने सिन्कामात्र पनि देशमा नै उत्पादन गर्न सकेको खण्डमा आम्दानीका साथै रोजगारी पनि बढ्छ ।"

साथै उनले आन्दोलन आफ्नो मात्र नभई सबै नवीनतम सोच भएका, सिर्जनशील सोच भएका नेपालीहरूको भएको बताएका छन् ।

आन्दोलनमा पुनले विशेषगरी चार बुँदे माग राखेका छन् । यसअन्तर्गगत आविष्कार, नवप्रवर्तन र अनुसन्धानका लागि सरकारले बजेट छुट्टाउन उनले माग राखेका छन् ।

"विकसित देशमा सरकारले आफ्नो बजेटको एउटा निश्चित प्रतिशत अनुसन्धान र आविष्कारका लागि बजेट छुट्टाएको हुन्छ । नेपालमा पनि प्रदेश र संघीय सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष भनेर खडा गरोस्  र प्रत्येक वर्ष विकास बजेटको एक प्रतिशत छुट्याओस्," उनले भने ।

त्यस्तै पुनले सरकारले छुट्याएको कोष खर्च गर्न कानून बनाउन पनि माग राखेका छन् । "सार्वजनिक खरिद ऐनले अनुसन्धान आविष्कारलाई सम्बोधन गर्दैन । यसका लागि फरक कानून बनाएर अगाडि बढ्नुपर्छ," उनले थपे । 

त्यस्तै उनले सरकारले देशमै बनेका कुनै पनि उत्पादनलाई सहजीकरण गर्न दर्ता गर्नेदेखि सञ्चालन अनुमतिपत्रका लागि मापदण्ड तयार पार्न माग राखेका छन् । हालै देशमै विद्युतीय बाइक बिक्री तथा उत्पादन गरिरहेकाे यात्री मोटरसाइकल्सले आफ्नो सवारी दर्ता गर्नका लागि सकस भोग्नु परेको विषय उठाउँदै यस्तो अब नहोस् भन्नका लागि नयाँ कानून बनाउन माग राखे ।

पुनले अनुसन्धान गर्ने, नवप्रवर्तनमा काम गर्नेहरूलाई नियमन तथा सहजीकरण गर्न छुट्टै सरकारी निकाय व्यवस्था गर्नसमेत माग राखेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८० १३:४३