close

एक करोड नाघ्यो केबल तथा एफटीटीएच इन्टरनेट चलाउने नेपालीको सङ्ख्या

टेकपाना टेकपाना

बैशाख २६, २०८० ९:२३

एक करोड नाघ्यो केबल तथा एफटीटीएच इन्टरनेट चलाउने नेपालीको सङ्ख्या

 

काठमाडौं । एफटीटीएच तथा केबल इन्टरनेट प्रयोग गर्ने नेपालीहरूको सङ्ख्या एक करोड नाघेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै सार्वजनिक गरेको माघ महिनाको एमआईएस (म्यानेज्ड इन्फरमेसन सिस्टम) प्रतिवेदन अनुसार एफटीटीएच तथा केबल इन्टरनेट प्रयोग गर्नेहरूको सङ्ख्या करिब एक करोड अर्थात् ९९ लाख ८६ हजार ६४३ पुगेको हो । 

यो माघ महिनासम्मको तथ्याङ्क भए पनि वैशाख मसान्तसम्म आइपुग्दा एफटीटीएच तथा केबल इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक करोड नाघिसकेको छ । प्राधिकरणले एक फिक्स्ड लाइन इन्टरनेट बराबर औसत घरपरिवार सङ्ख्या ४.३७ लाई गुणन गरी कूल प्रयोगकर्ता सङ्ख्या निकाल्ने गरेको छ । 

फिक्स्ड लाइन इन्टरनेट कनेक्सनको कूल सङ्ख्या भने २५ लाख ८६ हजार ४९४ रहेको छ । जसमा २५ लाख एक हजार ३७ लाइन एफटीटीएच, ७१ हजार ७९ लाइन केबल तथा १४ हजार ३७८ लाइन वायरलेस कनेक्सन रहेका छन् । 

यसको अर्थ देशका करिब २६ लाख घरधुरीमा फिक्स्ड लाइन इन्टरनेटको पहुँच पुगेको छ । यस बाहेक एडीएसएल इन्टरनेट प्रयोग गर्नेहरूको सङ्ख्या तीन लाख तीन हजार १२१ र रेडियो वाईफाई प्रयोगकर्ताको सङ्ख्या ६२ हजार ८३२ रहेको छ । 

यद्यपि सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ताहरू भने फोरजीमा रहेका छन् । प्राधिकरणको प्रतिवेदन अनुसार एक करोड ९२ लाख तीन हजार ७७१ प्रयोगकर्ताले फोरजी सेवा प्रयोग गर्दै आएका छन् । 

त्यस बाहेक थ्रीजी मोबाइल इन्टरनेट प्रयोग गर्नेहरूको सङ्ख्या ८१ लाख आठ हजार ३७२ र ईभीडीओमा एक लाख ३६ हजार ५७३ रहेको छ । 

 

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८० ९:४४