close

अब ह्वाट्सएपका आफ्ना गोप्य च्याट लक गर्न मिल्ने

टेकपाना टेकपाना

जेठ २, २०८० १०:१३

अब ह्वाट्सएपका आफ्ना गोप्य च्याट लक गर्न मिल्ने

काठमाडौं । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताको लागि नयाँ फिचर 'च्याट लक' सार्वजनिक गरेको छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफूले चाहेका च्याटबक्स लक गर्न अथवा हाइड गर्न सक्नेछन् । 

यदि तपाईँ आफ्नो कुनै एक च्याट अरुले नदेखोस् भन्ने चाहनुहुन्छ भने तपाईँले उक्त च्याटलाई लक गर्न सक्नुहुन्छ । उक्त लक भएको च्याटलाई तपाईँले पासवर्ड वा आफ्नो वायोमेट्रिक अनलक फिचर प्रयोग गरेर ओपन गर्न सक्नुहुन्छ । 
यसरी लक गरिएको च्याटको नोटिफिकेसन पनि आउँदैन भने यो छुट्टै फोल्डरमा गएर बस्छ । यसको लागि आफूले लक गर्न चाहेको च्याट ओपन गर्नुहोस् र स्क्रिनको सबैभन्दा माथि प्रोफाइलमा क्लिक गर्नुहोस् । 

यसपछि त्यहाँ उपलब्ध अप्सनहरूमा 'च्याट लक' भन्ने अप्सनमा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईँको च्याट लक हुन्छ र लक्ड च्याट्स भन्ने फोल्डरमा गएर बस्छ ।

यसरी लक गरेको च्याट पछि हेर्नको लागि ह्वाट्सएप ओपन गर्ने वित्तिकै स्क्रिनलाई थोरै तल स्क्रोल गर्दा स्क्रिनको सबैभन्दा माथि 'लक्ड च्याट्स' भन्ने फोल्डर देखिन्छ । उक्त फोल्डरभित्र गएर आफूले लक गरेको च्याट ओपन गर्न सकिन्छ । 

प्रयोगकर्ताको गोपनियतालाई ध्यानमा राख्दै यो फिचर ल्याएको कम्पनीले जनाएको छ । ह्वाट्सएपको नयाँ अपडेटसँगै यो फिचर पनि सबै प्रयोगकर्तालाई उपलब्ध हुनेछ । 
 

पछिल्लो अध्यावधिक: जेठ २, २०८० १०:१३