close

टिकटकमा सार्वजनिक भिडिओमा नर्सको चरित्रहत्या भएको भन्दै नर्सिङ संघको आपत्ति

टेकपाना टेकपाना

जेठ ८, २०८० १५:३

टिकटकमा सार्वजनिक भिडिओमा नर्सको चरित्रहत्या भएको भन्दै नर्सिङ संघको आपत्ति

काठमाडौं । ड्युटीमा खटिएका नर्सको चरित्रहत्या गर्ने उद्देश्यसहित टिकटकमा भिडिओ सार्वजनिक भएको भन्दै नेपाल नर्सिङ संघले आपत्ति जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै यस्ताे कार्यकाे विरोध गरेको हो । 

"मिति २०८०/१/२८ गते बी.पी मेमोरियल क्यान्सर अस्पताल भरतपुरको आकस्मिक केयर युनिटमा भएको नर्स र बिरामी कुरुवाबीचको संवादलाई बिना अनुमति टिकटकमा अपलोड गरेको भिडिओमा व्यक्त गरिएका प्रतिक्रिया सम्बन्धमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ," विज्ञप्तिमा उल्लेख छ । 

ड्युटीमा खटिएका नर्सहरूप्रति सत्य तथ्य नबुझी सतही रूपमा व्यक्त गरिएका तुच्छ टिप्पणी र नर्सिङ पेशाप्रति लाञ्छना लगाई आँच पुर्‍याउने कार्य भएकाे भन्दै संघले भर्त्सना गरेको छ । साथै सामाजिक सञ्जालमा आएका भिडिओ हेरेर गैरजिम्मेवारपूर्ण टिकाटिप्पणी नगर्न पनि संघले आग्रह गरेको छ ।

त्यस्तै घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न पनि माग राखिएको छ ।

केही दिअघि गिभिना मगर नाम गरेकी महिलाले अस्पतालमा नर्सहरूले गरेको व्यवहार उचित नभएको भन्दै ड्युटीमा खटिएका नर्सको भिडिओ खिची टिकटकमा सार्वजनिक गरेकी थिइन् । टिकटकले हाल उनको अकाउन्टमाथि प्रतिबन्ध लगाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८० १५:३७