close

पैसा कमाउन साउदी गएका नेपाली, ‘रङ नम्बर’ बाट आएकी केटीलाई विश्वास गर्दा गुमाए १० लाख रुपैयाँ

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ १४, २०८१ १९:३३

एआईबाट तयार पारिएको सांकेतिक तस्बिर एआईबाट तयार पारिएको सांकेतिक तस्बिर

काठमाडौं । पाल्पाका पारस अमात्य (नाम परिवर्तन) पाँच वर्षअघि कक्षा १२ उत्तीर्ण गरी काठमाडौं आए । १२ पछिको अध्ययनका लागि काठमाडौं आएका उनले के पढ्ने, कहाँ पढ्ने केही मेसो पाएका थिएनन् । उनको चिनजानका साथीले होटेल मेनेजमेन्टको तालिम लिएपछि राम्रो ठाउँमा जागिर पाउन सकिने आश्वासन दिएपछि उनी तालिम लिन थाले । छ महिनाको आधारभूत तालिम लिएपछि उनी बानेश्वरको एक रेस्टुरेन्‍टमा काम गर्न थाले । रेस्टुरेन्टमा काम गर्दा उनीसँग त्यति पैसा बच्दैनथ्यो । कोठा भाडा, लुगाकपडा लगायतमा सबै तलब सकिन्थ्यो । 

दुई वर्षसम्म काम गर्दा पनि पैसा जम्मा गर्न नसक्ने देखेपछि उनले विदेश जाने सपना देखे । परिवारको तीन सन्तानमध्ये कान्छा उनले यो कुरा आमाबुवालाई सुनाए । घरमा उनलाई विदेश पठाउने जति पैसा पनि थिएन । त्यसैले घर परिवारले गाउँबाट उनलाई विद‍ेश पठाउने रकम पठाए । त्यसपछि उनी पैसा कमाउने सपना साँचेर साउदी अरब उडे । 

उनले साउदीको एक रेस्टुरेन्टमा सेफको काम पाए । मिलनसार व्यवहार गर्ने उनलाई साथीभाइ सबैले माया गर्थे । झन्डै तीन वर्ष जति सेफकै काम गर्दा उनले घरको ऋण तिरे । समय समयमा घरमा खर्च पनि पठाए । र, यता आफ्ना लागि केही रकम पनि जम्मा गरे ।

दुई महिना पहिलेको कुरा हो, उनको ह्वाट्सएपमा एउटा अपरिचित नम्बरबाट मेसेज आयो । उक्त अकाउन्टको प्रोफाइलमा एउटा कम्पनीको लोगो राखिएको थियो । र, मेसेज कुनै स्टाफले आफूभन्दा माथिल्लो ओहोदाको कर्मचारीलाई कामको प्रगति विवरण पठाएको जस्तो देखिन्थ्यो । 

अमात्यले मेसेजको आशय बुझेनन् । उनले अङ्ग्रेजीमै ‘यो के पठाउनु भएको ? मलाई किन पठाउनु भयो ?’ भनेर सोधे ।

उताबाट मेसेज गलत नम्बरमा आइपुगेको जवाफ आयो । अमात्यलाई उक्त मेसेजको त्यति वास्ता लागेन र उनले मेसेज यत्तिकै छोडे । त्यसको केही समयपछि उक्त आईडीबाट आफू अमेजन प्लेटफर्ममा काम गर्ने कर्मचारी भएको जवाफ आयो । उक्त ह्वाट्सएप नम्बर प्रयोगकर्ताले आफ्नो नाम ‘लिना अर्बान कोको’ भएको बताइन् ।

‘तपाईं राम्रो मान्छे हुनुहुँदो रहेछ । तपाईंलाई म मेरो अर्को व्यक्तिगत ह्वाट्सएप नम्बर पठाउँछु,” केही समय च्याट गरे‍पछि युवतीले अमात्यलाई भनिन् । उनले पनि ‘हुन्छ’ भन्ने जवाफ दिए ।

कुरा गर्दै गएपछि ती युवतीले अमात्यलाई नजिकको साथी जस्तो व्यवहार देखाइन् । त्यति मात्र नभई राम्रो आम्दानीको प्रलोभन देखाउन थालिन् । “तपाईं राम्रो मान्छे भएकाले म मेरो पार्टटाइम जबमा तपाईंलाई पनि सामेल गराउन चाहन्छु,” ती युवतीले मेसेजमा भनिन्, “यदि तपाईंसँग समय छ भने मलाई सहयोग गर्न सक्नुहुन्छ । मलाई अमेजनको काममा मद्दत गर्नुहोस् तपाईं दिनको ३० देखि ३०० (चार हजारदेखि २६ हजार ६०० रुपैयाँ) भन्दा बढी कमाउन सक्नुहुन्छ ।”

अमात्यलाई अफर राम्रो लाग्यो । त्यसमा पनि केही हप्तादेखि चिनजान भएकी युवतीले राखेको प्रस्ताव थियो त्यो । यता रेस्टुरेन्टमा गर्नुपर्ने काम सम्झिए, अनि उता घण्टाको चार हजारदेखि २६ हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने प्रलोभनमा लोभए । 

त्यसमा पनि उनले पैसा जम्मा गर्न सके युरोप छिर्ने सपना देखेका थिए । घरमा आमा बुवासँग कुरा गर्दा पनि उनी आफ्नो युरोप जाने सपना सुनाउँथे । युवतीले भने अनुसार गर्‍यो भने छिट्टै राम्रो रकम कमाएर जम्मा गर्न सके युरोप जान धेरै दिन कुर्न पर्दैन भन्ने उनले सम्झे । 

रकम अमात्यले कल्पना गरेको भन्दा धेरै थियो । त्यही पनि उनलाई विश्वास लागेन । जवाफमा उनले भने, “म तपाईंलाई दिनको एक घण्टा सहयोग गर्न सक्छु ।”

रिप्लाई गर्दै युवतीले भनिन्, “ओके डियर !” अमात्यलाई यसमा कसरी युवतीलाई सघाउनु पर्ने हो भन्ने केही थाहा थिएन । त्यसैले उनले आफूलाई सिकाइदिन अनुरोध गरे । युवतीले भनिन्, “तिम्रो लागि त म सानो टिचर पनि बनिदिउँला नि ।”

यता अमात्यले जवाफ फर्काए, “पर्फेक्ट, नो प्रोब्लम ।” यति भनेपछि युवती अमात्यलाई कामको बारेमा सिकाउन थालिन् । उनले सबैभन्दा पहिले अमेजन कस्तो प्लेटफर्म हो, कसरी खरिद बिक्री गर्नुपर्छ लगायतका जानकारी दिइन् । “हामीलाई कम्पनीले सेल्स बढाउन नियुक्ति गरेको हुन्छ,” युवतीले अमेजनको चर्चा गर्दै भनिन्, “हामीले सहयोग गरेपछि बढी मान्छे त्यहाँको प्रडक्ट खरिद गर्छन् । जति बढी प्रडक्ट बिक्री भयो त्यति नै हाम्रो आम्दानी हुन्छ ।”

युवतीले कामको व्यख्या गर्दै आफूहरूले प्रडक्ट खरिद गर्न सघाउनुपर्ने र त्यसैका आधारमा कमिसन आउने बताइन् । उनले अगाडि भनिन्, “हामीले एउटा टास्क पूरा गर्न १० देखि २० मिनेट मात्र दिनुपर्छ । त्यसपछि कमिसन आउँछ । यो हरेक दिन गर्न सकिने आम्दानी हो । तिमी धेरै राम्रो मान्छे रहेछौं । आशा छ हामी सँगै डलर कमाउनेछौं ।” (यहाँ टास्क भनेको वेबसाइटमा विभिन्न प्रडक्टको अर्डर देखिन्छ । त्यसैलाई कन्फर्म गर्नुपर्ने हुन्छ । अर्डर कन्फर्म गर्दा जति रकमको अर्डर छ त्यति नै रकम उक्त वेबसाइटमा भएको खाताबाट कट्छ ।)

यति भन्नासाथ अमात्य मख्ख भए । उनले उत्साहित हुँदै आफू उक्त काम सिक्न आतुर भएको प्रतिक्रिया दिए । उताबाट युवतीले उनलाई आरभ्युरोबोट डटकमको एउटा रजिस्ट्रेसन लिङ्क पठाइन् । र, त्यसमा रेफ्रल कोड ‘PPPPPP’ राखेर रजिस्टर गरी स्क्रिनशट पठाउन अनुरोध गरिन् । 

अमात्यले त्यसरी नै अकाउन्ट बनाएर स्क्रिनशट पठाए । त्यसपछि युवतीले त्यहाँ रहेको इन्भाइटको अप्सनबाट कोड कपि गरी आफूलाई पठाउन अनुरोध गरिन् । यो सबै युवतीले केका लागि गरेकी थिइन्, अमात्यलाई केही पनि थाहा थिएन । युवतीले जे जे भनिन् उनी त्यही मान्दै गए । 

त्यसपछि ती युवतीले युजरनेम र पासवर्ड पठाइन् । त्यही क्रेडेन्सियल राखी अकाउन्ट लगइन गर्न अनुरोध गरिन् । अमात्यले त्यस्तै गरे । 

यति गरेपछि युवतीले सो एपमा २० देखि ३० हजार डलरसम्म रिचार्ज गर्न सकिने बताइन् । र, सबैभन्दा पहिले २०० डलर (करिब २६ हजार ६०० रुपैयाँ) जम्मा गर्नुपर्ने सुनाइन् । अमात्यलाई रकम जम्मा गर्ने तरिका थाहा थिएन । उनले तेथर (क्रिप्टोकरेन्सी) को स्क्रिनशट पठाउँदै रकम कसरी पठाउने भनेर युवतीलाई सोधे । युवतीले क्रिनशटको तल भएको कोड पठाउन लगाइन् । अमात्यले कोड पठाए । “एकछिन पर्ख है । म रिचार्ज गर्दैछु,” युवतीले रिप्लाई दिइन् । मख्ख हुँदै अमात्यले भने, “पर्खेक्ट अमेजिङ लेडी । थ्याङ्क यू फर टिचिङ मि । आई एम भेरि ग्ल्याड टु मिट यु ।”

यति गरेपछि युवतीले अमात्यलाई वेबसाइटमा पैसा जम्मा भए नभएको हेर्न लगाइन् । अमात्यले हतार हतार वेबसाइट खोले । तर, त्यहाँ रकम जम्मा भएको थिएन । उनले रकम जम्मा नभएको ड्याशबोर्डको स्क्रिनशट पठाए । युवतीले अमात्यलाई रकम आउन केही समय लाग्ने सुनाइन् । त्यसको केही समयमै उनको ड्याशबोर्डमा २०० ब्यालेन्स जम्मा भएको देखियो । यो क्रिप्टोकरेन्सी थियो, डलर थियो वा अन्य करेन्सी थियो त्यो अमात्यलाई थाहा थिएन ।  

त्यसपछि युवतीले अमात्यलाई उक्त एपबाट अर्डर कन्फर्म गरी टास्क पूरा गर्न सिकाइन् । अमात्यले त्यसरी नै टास्क पूरा गरे । उनी हरेक टास्क पूरा गरेपछि युवतीलाई मेसेज पठाउँथे । युवती ‘तिमी त मेरो लागि भाग्य बनेर आयौ’ भन्थिन् ।

यति हुँदाहुँदै युवतीले रिचार्ज गरेको २०० ब्यालेन्स सकियो । त्यसपछि उक्त वेबसाइटमा भएको अमात्यको खातामा २३ डलर आइपुग्यो । उनले युवतीलाई उक्त रकम कसरी आफ्नो साउदीको वालेटमा सार्ने भन्ने तरिका सोधे । युवतीले ओकेएक्स नामको क्रिप्टो एक्सचेन्ज प्लेटफर्मबाट रकम आफ्नो वालेटमा ट्रान्सफर गर्ने तरिका सिकाइन् । अमात्यले त्यस्तै गरे । लगभग २० मिनेटको समयमा उनले ३३ डलर (करिब ४४२२ रुपैयाँ) पाए । यसका लागि उनले केही लगानी गर्नु परेको थिएन । 

अब थप रकम कमाउनका लागि युवक आफैले रकम जम्मा गर्नुपर्ने थियो । युवतीले क्रिप्टो एक्सचेन्ज एपबाट रकम जम्मा गर्न र जम्मा भएको रकम निकाल्न सिकाइसकेकी थिइन् । 

दोस्रो चरणमा उनले आफू कुन टास्कमा गर्ने भन्ने छान्नुपर्ने थियो । त्यसमा कति रकम खर्च गर्दा कति आम्दानी हुन्छ भन्ने उल्लेख थियो । उनले छ हजार डलर (करिब आठ लाख रुपैयाँ) खर्च गरेर १५-२० लाख रुपैयाँ कमाउन सकिने बाटो रोजे । 

उनले ६० ओटा टास्क पूरा गर्नुपर्ने थियो । हरेक दिन कम्तिमा एउटा टास्क पूरा गर्नुपर्ने थियो । अमात्यसँग तीन लाख रुपैयाँ जति जम्मा थियो । उनले सुरु सुरुमा आफूसँग भएको सबै रकम क्रिप्टोमा परिणत गरेर उक्त वेबसाइटमा जम्मा गरे । 

त्यसपछि उनी उक्त एपमा आउने टास्क पूरा गर्दै गर्दै गए । एउटा टास्कका लागि कम्तीमा १० मिनेट पर्खिनु पर्ने हुन्थ्यो भने बढीमा २४ घण्टा पर्खिनु पर्थ्यो । बीचमा उनीसँग भएको तीन लाख रुपैया सकियो । आफूभन्दा सिनियर सेफसँग पैसा सापटी मागेको पल सम्झिंदै उनले भने, “धेरै टाइम लगायो भने अकाउन्ट ब्लक हुन्छ भनेको थियो । त्यसैले सेफलाई घरमा आपत पर्‍यो भनेर पैसा मागें ।”

उनले एक लाख, दुई लाख रुपैयाँ गर्दै तीन महिनाको अवधिमा पाँच लाख रुपैयाँ सिनियर सेफबाट सापटी मागिसकेका थिए । सबै पेसा जम्मा गरेर उनले तीन महिनामा ६० ओटा टास्क पूरा गरे । वेबसाइटको ड्याशबोर्डको बायाँपट्टि उनको खातामा भएको रकम देखिएको थियो भने दायाँपट्टि त्यसबाट आएको कमिसन र आफूले लगानी गरेको रकम जम्मा भएर देखिएको थियो ।

“त्यहाँ (वेबसाइटमा) एउटामा हामीले जम्मा गरेको रकम देखिन्छ,” उनले भने, “अर्कोमा कमिसन सहितको रकम देखिन्छ । त्यसैले रकम आइरहेको छ भन्ने लागेको थियो ।”

सबै टास्क पूरा गरिसक्दा उनले २१ हजार ४०४ डलर (करिब २८ लाख ६८ हजार रुपैयाँ) पाउनुपर्ने देखियो । खासमा बीच बीचमा युवतीले पनि अमात्यको उक्त वेबसाइटको अकाउन्टमा रकम जम्मा गर्ने गर्थिन् । उनले पाउनु पर्ने भनिएको रकममा ३० प्रतिशतभन्दा बढी युवतीले सहयोग गरेको अमात्य सुनाउँछन् । “त्यो केटीले मलाई बेला बेलामा वेबसाइटमा पैसा हालिदिएको छु भन्थी,” उनी भन्छन्, “त्यसमा छ हजार डलर जति उसले जम्मा गरेको भनेर देखाएको थियो ।”

युवतीले कुरा गर्दा उक्त रकम तिमीलाई नै उपहार भयो भनेकी थिइन् । 

सबै टास्क पूरा गर्दा १० लाख बढी पाउने देखिएपछि अमात्य खुसी भएर युवतीलाई यसबारे सोधे । युवतीले तिमी त धेरै भाग्यमानी रहेछौ भनेर फुर्क्याइदिइन् । उनी दङ्ग भएर रकम  निकाल्न तम्सिए । तर, पेज इरोर देखायो । 

उनले युवतीलाई यसबारे सोधे । युवतीले ग्राहक प्रतिनिधिलाई सम्पर्क गर्न सुझाव दिइन् । अमात्यले उक्त एपमा उपलब्ध भएको ग्राहक प्रतिनिधिको नम्बरमा मेसेज पठाएर आफ्नो समस्या राखे । उक्त नम्बरबाट उनलाई ‘बीचमा टास्क ढिलो पूरा भएकाले’ १००० डलर फाइन तिर्नुपर्ने भनेर मेसेज आयो । उनले सम्झे, “पैसा नहुँदा मैले दुई तीन पटक टास्क ढिलो पूरा गरेको थिएँ । सायद त्यही छुटेको होला ।”

आफूसँग त्यति रकम नभएपछि उनले सिनियर सेफसँग पुनः १००० डलर बराबरको रकम आफ्नो वालेटमा पठाउन अनुरोध गरे । सिनियर​ सेफले तत्कालै रकम पठाइदिए । अमात्यले उक्त रकम पहिले जस्तै क्रिप्टोमा परिणत गरी एपमा जम्मा गरे । त्यसपछि उक्त रकम पनि उनले पाउनुपर्ने रकममा जोडियो । यतिबेलासम्म उनको सात हजार डलर (करिब नौ लाख रुपैयाँ) गइसकेको थियो भने उनले पाउनु पर्ने रकम २२ हजार ४०४ डलर (करिब ३० लाख रुपैयाँ) देखिएको थियो ।

अब त भयो भन्ने ठानेर अमात्यले पुनः रकम निकाल्न खोजे । तर, फेरि सात प्रतिशत रकम तिर्नुपर्ने बतायो । अर्थात् उनले ५०० डलर कर बापत तिर्नुपर्ने भयो । अमात्यले अर्का साथीसँग रकम मागेर जम्मा गरे । उनको खातामा पाउनु पर्ने रकम २३ हजार ४०४ डलर पुग्यो । यो भनेको नेपाली करिब ३१ लाख रुपैयाँ हो ।

 

अब त ढुक्क‍ भयो भन्ने सोचेर अमात्यले रकम निकाल्ने प्रयास गरे । तर, यस पटक पनि पेज इरोर देखियो । उनलाई सर्टिफिकेटका लागि थप दुई हजार डलर तिर्न भनियो ।

अमात्यले सिनियर सेफसँग थप रकम पनि माग्ने आँट गर्न सकेनन् । विदेश गएको मान्छे घरबाट पैसा पठाऊ कसरी भन्ने, घरबाट पैसा माग्ने सोच पनि मष्तिष्कमै हरायो उनको । रकम आउने कुनै तरिका नदेखेपछि उनले यस प्लेटफर्मबारे अध्ययन गर्न थाले ।

युट्युबमा यो र योसँग मिल्दाजुल्दा प्लेटफर्मले कसरी सर्वसाधारणलाई झुक्याउँछन् भन्ने विषयमा तयार पारेका भिडिओ भेटाए । त्यसपछि बल्ल उनले आफू ठगिएको थाहा पाए । यतिबेलासम्म उनको साढे १० लाख रुपैयाँ गइसकेको थियो । उनीसँग तीन लाख रुपैयाँ थियो भने सिनियर सेफबाट साढे सात लाख रुपैयाँ जति ऋण लिएका थिए । 

उनले पहिले भेटिएकी युवती र उक्त कम्पनीको ग्राहक प्रतिनिधिलाई रकम फिर्ता गरिदिन अनुनय विनय गरे । तर, उनीहरूको ह्वाट्सएपमा मेसेज डेलिभर हुनै छोड्यो । सधैं मेसेजमा मात्र बोलेकी युवती खासमा युवक हुन् वा युवती त्यो पनि अमात्यलाई थाहा छैन ।

“मलाई आफैले पैसा हालेर सहयोग गरे जस्तो गरेकी थिई,” उनी भन्छन्, “ऊ पनि त्यस प्लेटफर्मकी एजेन्ट हो जस्तो लाग्छ । केटी हो भन्नेमा पनि शंका लागेको छ मलाई ।”

उनले लिङ्क मार्फत अकाउन्ट खोल्न खोजे । तर, अकाउन्ट पनि हटाइसकिएको थियो । यति भएपछि अमात्यले आफू नराम्ररी ठगिएको थाहा पाए । 

“मैले गरेको जस्तो कारोबार यता कानूनी होइन । प्रहरीकहाँ गएँ भने उल्टै म फस्छु,” निराश हुँदै अमात्यले प्रश्न गरे, “कमाउन आएको मान्छे उल्टै ऋण लाग्यो । कसरी रकम फिर्ता ल्याउन सकिएला अब ?”

यता सिनियर सेफ आफ्नो घर जाने भएकाले सापटी दिएको रकम माग्न थाले । तर अमात्यसँग सुक्को पैसा बाँकी छैन । ‘म तपाईंलाई चाहिंदा जसरी पनि फिर्ता गर्छु’ भनेर सापटी लिएका थिए उनले । तिर्न नसके उनलाई झनै समस्या पर्ने देखियो । उनले त्यही बेला घरबाट रकम माग्नेबारे सोचे ।

“अब यता गरेर हुँदैन युरोपतिर जान ट्राइ गर्दैछु भनेर घरबाट सात लाख रुपैयाँ मगाएको थिएँ,” उनी निराश मुद्रामा भन्छन्, “बुवा आमाले गाउँमा जग्गा धितो राखेर ऋण लिनु भएको छ । अब कहिले तिरिसक्नु यत्रो ऋण ? कसरी जानु युरोप ? कसरी फर्किनु घर ?”

सुरुमा लाखौं रकम कमाएर युरोप जान सपना देख्ने अमात्यको अहिले एउटै सपना छ, त्यो हो डुबेको रकम फिर्ता ल्याउने । तर कसरी उक्त रकम ल्याउन सकिन्छ भन्नेबारे उनलाई केही थाहा छैन । अब त्यही काम गरेर सबै ऋण तिरी घर फर्किने एक मात्र विकल्प छ उनको ।

पछिल्लो अध्यावधिक: भदौ १५, २०८१ ९:४७