close

यसरी चलाउनुहोस् शिक्षा मन्त्रालयको ‘शैक्षिक सूचना’ एप

टेकपाना टेकपाना

जेठ ८, २०८० १७:९

यसरी चलाउनुहोस् शिक्षा मन्त्रालयको ‘शैक्षिक सूचना’ एप

काठमाडौं । शिक्षा, विज्ञान तथा  प्रविधि मन्त्रालयले हरेक वर्ष मन्त्रालय र अन्तर्गतका निकायहरूबाट भएका गतिविधिको जानकारी दिन ‘शैक्षिक सूचना’ नामको पुस्तिका प्रकाशन गर्ने गर्छ । हालै मन्त्रालयले संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा ‘शैक्षिक सूचना’ एप विकास गरेको छ ।

भर्सन १.४ मा उपलब्ध एपमा सो पुस्तिकाभित्र भएका सबै शैक्षिक सूचना तथा तथ्याङ्कलाई टेबलको ढाँचामा उपलब्ध गराइएको छ । यसले गर्दा पुस्तिका लिनकै लागि मन्त्रालयसम्म धाउनुपर्दैन ।

ती तथ्याङ्क तथा जानकारीहरूलाई आफूअनुकूल हेर्न सकिने मन्त्रालयका सूचना अधिकृत शंकर अधिकारी बताउँछन् । उनका अनुसार यो एप लोकसेवा आयोगको परीक्षा तयारी गरिरहेका, शिक्षा सम्बन्धी तथ्याङ्क खोजिरहेकाका लागि  निकै उपयोगी हुन्छ । 

एप प्रयोग गर्न निम्न तरिका अपनाउनुहोस्:

 -सबैभन्दा सुरुमा गुगल प्ले स्टोरमा जानुहोस् । 

-अब माथि रहेको सर्च बक्समा ‘शैक्षिक सूचना’ टाइप गर्नुहोस् ।

 

-त्यसपछि तलको एप देखिन्छ । त्यसलाई इन्स्टल गर्नुहोस् । अथवा सिधै यो लिङ्कमा क्लिक गरी डाउनलोड गर्नुहोस् ।

-एप खोल्दा सबैभन्दा सुरुमा तलको जस्तो इन्टरफेस देखिन्छ । त्यसपछि ‘शैक्षिक सूचना २०७८’ मा क्लिक गर्नुहोस् ।

 

-अब विभिन्न विषयवस्तु देखिन्छन् । तिनलाई थप हेर्न स्क्रोल गर्दै तल जानुहोस् । तथ्याङ्क हेर्नलाई तीमध्ये कुनै एकमा क्लिक गर्नुहोस् । अब नयाँ पेजमा तथ्याङ्क देख्न सक्नुहुन्छ ।

-अर्को वर्षको तथ्याङ्क हेर्न माथि शैक्षिक वर्षमा क्लिक गर्नुहोस् । त्यहाँ अर्को शैक्षिक सत्र देखिन्छ । त्यस्तै शैक्षिक सूचना २०७८ डाउनलोड गर्न भने त्यसैको तल ठाउँ दिइएको छ । 

यस एपबाट देशमा विद्यालय तथा विद्यार्थीको संख्या, शिक्षकको संख्या, कक्षागत हिसाबले विद्यार्थी भर्ना दर, विश्वविद्यालयको तथ्याङ्क लगायत अन्य डेटा यसमा उपलब्ध छ ।

त्यस्तै यसमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, विश्वविद्यालय अनुदान आयोग लगायत अन्य स्रोत निकायको समेत तथ्याङ्क उपलब्ध गराइएको छ ।

यद्यपि एप नयाँ भएको, इन्टरफेस फितलो भएको, तथ्याङ्कको कमी आदिका कारण भने यो एप प्रयोग गर्दा अफ्ठ्यारो हुन सक्छ ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८० १८:३