close

यात्री मोटरसाइकलको च्यासिस भाँचिएका तस्वीर भाइरल, यस्तो छ कम्पनीको स्पष्टोक्ति

टेकपाना टेकपाना

जेठ ८, २०८० १६:३९

यात्री मोटरसाइकलको च्यासिस भाँचिएका तस्वीर भाइरल, यस्तो छ कम्पनीको स्पष्टोक्ति

काठमाडौं । अहिले सामाजिक सञ्जालमा नेपालमै बनेको यात्री मोटरसाइकल्सको एउटा बाइक सडकमा लमतन्न परेको र केही भाग भाँचिएको अवस्थाका तस्वीर भाइरल बनिरहेका छन् । उक्त फोटो शेयर गर्दै कतिपयले कम्पनीको गुणस्तरमाथि प्रश्न उठाइरहँदा यात्री मोटरसाइकल्सले एउटा सूचना जारी गर्दै स्पष्टीकरण दिएको छ ।

कम्पनीले फोटोको वास्तविकता नबुझेरै इन्टरनेटमा भाँचिएको च्यासिसका तस्वीरहरू फैलिएको जनाएको छ ।

"नयाँ डिजाइन तथा निरन्तर रूपमा दोहोर्‍याइरहने परीक्षणका क्रममा हामी यात्रीमा नियमित रुपमा नयाँ पार्ट र सिस्टम परीक्षण गरिरहेका हुन्छौं," कम्पनीको सूचनामा भनिएको छ, "त्यसै अन्तर्गत आन्तरिक परीक्षण कार्यक्रमको रूपमा हाम्रा इन्जिनियरहरूले नयाँ च्यासिसको प्रमाणीकरण प्रयोजनका लागि एउटा च्यासिस परीक्षणको पुनरावृत्तिका क्रममा थिए, जुन राम्रोसँग पूरा भइसकेको  थिएन ।"

यसबाट सिर्जित दुबिधा तथा अन्यौल स्पष्ट पार्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।  कम्पनीका प्राविधिक ठाकुर पौडेलले उक्त तस्वीर कम्पनीको दोस्रो प्रोटोटाइप भएको बताए । "सुरुवाती चरणमा तयार पारिएको प्रोटोटाइप मोडल हाम्रै टेस्टरले परीक्षण गरिरहेका थिए," उनले भने, "कम्पनीले बजारमा बिक्री गरेको व्यावसायिक मोडलको बाइक भने त्यो होइन ।"

पछिल्लो अध्यावधिक: जेठ ८, २०८० १६:५०