close

नेपाल टेलिकममा ‘जब भ्याकेन्सी’ भन्दै सामाजिक सञ्जालमा ठगी धन्दा, कतै तपाईँ फस्नुभएन ?

टेकपाना टेकपाना

जेठ १०, २०८० १७:४३

नेपाल टेलिकममा ‘जब भ्याकेन्सी’ भन्दै सामाजिक सञ्जालमा ठगी धन्दा, कतै तपाईँ फस्नुभएन ?

काठमाडौं । केही दिनयता नेपाल टेलिकममा कर्मचारी आवश्यक भन्दै सामाजिक सञ्जालमा झुटो विज्ञापन भइरहेको पाइएको छ । रकम ठगी गर्ने नियतले गिरोहले फेसबुक ग्रुप, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत झुटो विज्ञापन गरेको पाइएको हो ।

यसअन्तर्गत आफू नजिक रहेको टेलिकमको शाखामा काम गर्न पाइने, काम फोन उठाउने, तलब ३० हजार रुपैयाँमाथि लगायतका प्रलोभन देखाउँदै बेरोजगार युवाहरूसँग रकम ठगी गर्ने घटना भएका छन् । यसका लागि आवेदन शुल्क एक हजार रुपैयाँसम्म् लाग्ने भन्दै सामाजिक सञ्जालमा प्रशस्त विज्ञापन देख्न सकिन्छ ।

यसैबीच नेपाल टेलिकमले त्यस्तो विज्ञापन आधिकारिक नभएको र गलत सूचनाको भ्रममा नपर्न सबैलाई सतर्क गराएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले विभिन्न शाखाहरूमा काम गर्न भ्याकेन्सी खोलिएको भनेर कम्पनीका पदाधिकारीहरूको नामसमेत जोडी गलत सूचना प्रवाह भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

''कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रूपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ,'' कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८० १९:७