काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ आयातमा भारतीय एकाधिकार कायम राख्ने गरी चिनियाँ दूरसञ्चार सेवाप्रदायकलाई विभेद गरेको आरोप लागेको छ । कम्पनीले केही समय अघि आह्वान गरेको अन्तर्राष्ट्रिय स्तरको बोलपत्रमा चिनियाँ सेवा प्रदायकले आफूहरू सहभागी हुन नसक्ने किसिमको प्रावधान राखेको गुनासो गरेका हुन् ।
टेन्डरका लागि तयार पारिएको प्रतिवेदनको खण्ड २.४.३(i) मा टेन्डरका लागि योग्यता तोकिएको छ । जसअनुसार यो बोलपत्रमा योग्य हुन नेपाल टेलिकमसँग कम्तिमा दुई ओटा अन्तरदेशीय इन्टरकनेक्सन कायम गरेको हुनुपर्छ ।
उक्त टेन्डरले स्पष्ट रूपमा त्यसका लागि केवल चार ओटा इन्टरकनेक्सन विन्दु रहेको उल्लेख छ । जसमध्ये वीरगञ्ज, भैरहवा र विराटनगर गरी तीन ओटा भारत तर्फको सीमामा रहेका छन् भने चीन तर्फ एकमात्र रसुवागढी रहेको छ ।
अन्तर्राष्ट्रिय ब्यान्डविथको लिज सेवा प्रदान गर्ने विषयमा आह्वान गरिएको बोलपत्रमा सरकारी कम्पनीले पक्षपाती व्यवहार गरेको चिनियाँ सेवाप्रदायकको गुनासो छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण गराउँदै उनीहरूले यस किसिमको व्यवस्था प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
उनीहरूले नियामकलाई पठाएको पत्रमा भनिएको छ, “यस किसिमको प्रबन्धले चिनियाँ दूरसञ्चार सेवा प्रदायक माथि प्राविधिक रूपमा पक्षपात गरेको र भारतीय दूरसञ्चार कम्पनीहरूको पक्ष लिएको छ ।”
खासगरी भारतीय सीमातर्फ इन्टरकनेक्सन विन्दु सीमित गर्दा नेपाल टेलिकमको टेन्डरले चिनियाँ दूरसञ्चार सेवाप्रदायकलाई निषेध गर्ने भन्दै चिनियाँ पक्षले त्यसप्रति नियामकको ध्यानाकर्षण गराएको हो । तर नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यो विषय नितान्त रूपमा सम्बन्धित कम्पनीको आन्तरिक विषय भएको बताए ।
“सेवाप्रदायकले गर्ने खरिद र त्यसमा राख्ने प्रावधानको कुरा उनीहरूले आफ्नो नियमअनुसार अगाडि बढाउन सक्छन्,” उनले भने, “यो विषयमा नियामकको कुनै भूमिका हुँदैन ।” हाल चीनतर्फ तातोपानी र रसुवागढी दुई ओटा विन्दुमा चिनियाँ सेवाप्रदायकको इन्टरकनेक्सन नेपाल टेलिकमसँग कायम छ ।
तर तातोपानी तर्फको इन्टरकनेक्सन लामो समय बन्द रहेको र पछिल्लो समय हलुका किसिमले सञ्चालनमा आएको टेलिकम स्रोतले बतायो । यस्तोमा चीन तर्फका दुवै इन्टरकनेक्सन विन्दुमा पूर्ण रूपमा ढुक्क रहन नसक्ने अवस्था रहेको कम्पनीको तर्क छ ।
“चिनियाँ सेवाप्रदायकले अर्को इन्टरकनेक्सन विन्दुका लागि भारतीय सेवाप्रदायकबाट लिज लिएर बोलपत्रमा सहभागी हुन सक्ने विकल्प छँदैछ,” टेलिकमका एक उच्च अधिकारीले भने । तातोपानी क्षेत्रमा भूकम्पका कारण नष्ट भएको अप्टिकल फाइबर पुनः जडान गरी परीक्षणको रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
अर्को पटकको बोलपत्रमा उक्त इन्टरकनेक्सन विन्दुलाई समेत समावेश गर्न सकिने टेलिकमले जनाएको छ । यद्यपि बोलपत्रमा कूल चार ओटा सेवाप्रदायकले भाग लिएकोमा एउटा चाइना मोबाइल समेत सहभागी रहेको बताइएको छ । तर उसले अर्को इन्टरकनेक्सनका लागि कस्तो प्रबन्ध गरेको छ भन्ने कुरा भने यकिन भइसकेको छैन ।