close

देशका ७४३ स्थानीय तहमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

टेकपाना टेकपाना

पुस २९, २०८१ १०:२६

देशका ७४३ स्थानीय तहमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्नो फोरजी सेवा देशका ७४३ स्थानीय तहमा विस्तार गरेको छ । आइतबार कम्पनीको १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले यस्तो जानकारी दिएकी हुन् । 

सातै प्रदेशका ७७ ओटै जिल्लाका कूल ७४३ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार फोरजी एलटीई सेवाको पहुँच विस्तार भई सबै जिल्लामा उच्च गतिको एफटीटीएच सेवासमेत विस्तार भएको उनको भनाई थियो । अति विकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा बिस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको बताउँदै उनले देशैभर हाई ब्यान्डविथ कनेक्टिभिटी विस्तार गर्ने र कन्टेन्टमा आधारित भ्यालु एडेड सर्भिसको विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको जनाइन् ।

“विश्व बजारमा उपलब्ध फाइभजी सेवालाई व्यावसायिक रूपमा सञ्चालन गर्न र सेवा विस्तारका लागि अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्न आवश्यक व्यवस्था गरिएको छ,” अध्यक्ष अर्यालले भनेकी छिन् । “नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी प्रविधिको परीक्षण अनुमति प्राप्त भए अनुसार आवश्यक पूर्वाधार सहित परीक्षण सफल भएपश्चात् फाइभजी सेवाको व्यावसायिक सञ्चालनको लागि अध्ययन भइरहेको छ ।”

उनका अनुसार देशभर फोरजी एलटीई तथा एफटीटीएच सेवा बिस्तारका लागि ब्याकबोन नेटवर्कको स्तरोन्नति गरिएको छ । सम्भाव्यताका आधारमा भूमिगत वा एडीएसएस  माध्यमबाट सूचना महामार्गको निर्माणलाई तीव्रता दिइएको छ । अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न नसकिने स्थानहरूमा उच्च क्षमताको माइक्रोवेभ रेडियो लिंक स्थापना गरिएको छ भने माइक्रोवेभ रेडियो लिंकमार्फत स्याटलाइट लिंकलाई प्रतिस्थापन गर्दै लगिएको र सेवा अवच्छिन्न राख्न नियमित रूपमा विद्युत् उपलब्ध गराउन सोलार पावर जडानलाई विशेष जोड दिइएको छ ।

ग्रामीण दूरसञ्चार विकास कोषबाट प्राप्त सहयोगमार्फत कोशी, मधेस र बागमती प्रदेश अन्तर्गतका मध्य पहाडी लोकमार्ग, जिल्ला सदरमुकाम जोड्ने विभिन्न मार्गमा कूल १३९५ किमि अप्टिकल फाइबर विस्तार सम्पन्न गरेको जनाइएको छ । 

परम्परागत प्रविधिमा आधारित टेलिफोन सेवालाई आधुनिक एफटीटीएच प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यमा प्राथमिकता केन्द्रित गरिएको र देशैभर यसका लागि आवश्यक कार्य भइरहेको अर्यालले बताइन् । कम्पनीले सत्रौँ साधारण सभाले प्रति शेयर ३० रुपैयाँ लाभांश सर्वसाधारण सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष ०८१/८२ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट द्वय नरेन्द्र भट्टराई र प्रकाशजंग थापालाई लेखा परीक्षक नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

 

पछिल्लो अध्यावधिक: पुस २९, २०८१ १०:२६