close

एप्पलको वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स, के-के छन् आकर्षण?

टेकपाना टेकपाना

जेठ १४, २०८० ९:५३

एप्पलको वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स, के-के छन् आकर्षण?

काठमाडौं । एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) आउँदो जुन ५ मा हुँदैछ । हरेक वर्ष कम्पनीले यो कार्यक्रम मार्फत आफ्ना नयाँ उत्पादनहरू सार्वजनिक गर्ने गर्छ ।  

यस वर्ष कम्पनी नयाँ प्रडक्ट क्याटगरीमा प्रवेश गरेको र आफूले भर्चुअल रियालिटीमा गरेको लगानीबारे पनि जानकारी दिने भएको छ । 

एप्पलले पहिलो पटक सन् १९८३ मा डब्लूडब्लूडीसी आयोजना गरेको थियो । यद्यपि कम्पनीले आफ्नो प्रमुख उत्पादनहरू सार्वजनिक गर्ने गरी भने सन् २००२ बाट यो कार्यक्रम गर्दै आएको छ । 

डब्लूडब्लूडीसीमार्फत एप्पलले आगामी आईओएस, आईप्याड, म्याकओएस, टिभीओएस र वाचओएसमा परिवर्तनको विषयमा जानकारी दिने गर्दछ । यस पटकको डब्लूडब्लूडीसी एप्पल पार्क, क्यालिफोर्नियाको स्टिभ जब्स थिएटरमा हुँदैछ । 

त्यस्तै उक्त कार्यक्रम एप्पलको आधिकारिक वेबसाइट, युट्युब, ट्वीटरलगायत अन्य माध्यमबाट प्रत्यक्ष हेर्न सकिनेछ । यस पटकको डब्लूडब्लूडीसीको मुख्य आकर्षणहरू यस्ता छन्:

रियालिटी प्रो हेटसेट

यो प्रडक्ट एप्पलको नयाँ प्रडक्ट हो । एप्पलको मिक्स्ड रियालिटी हेडसेट यो वर्षको डब्लूडब्लूडीसीमा मुख्य आकर्षणका रूपमा रहने छ । यस हेडसेटले भर्चुअल रियालिटी (भीआर) र अगमेन्ट रियालिटी (एआर) दुवैको अनुभव दिने बताइएको छ । यसमा एक्सआर ओएस प्रयोग गरिने बताइएको छ । 

१५ इन्चको म्याकबुक एयर

यस वर्ष एप्पलले नयाँ आकारमा म्याकबुक एयर ल्याउने भएको छ । कम्पनीले यो वर्ष १५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । तर यसमा १४ इन्चको म्याकबुक प्रोको जस्तै रिजोलुसन हुने बताइएको छ । त्यस्तै यसमा एप्पल एमटू प्रोसेसर प्रयोग गरिनेछ । 

आईओएस, आईप्याड ओएस र म्याकओएसमा नयाँ फिचर

एप्पलले यो पटकको डब्लूडब्लूडीसीमा आईओएस, आईप्याड, म्याकओएसमा विभिन्न नयाँ फिचर ल्याउने भएको छ । 

जसमध्ये आईओएस १७ पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसमा मानिसको आवाज हुबहु कपि गर्न सक्ने पर्सनल भ्वाइस टुल, लक स्क्रिनलाई स्मार्टहोम स्टाइल डिस्प्ले बनाउन सकिने जस्ता फिचर हुने बताइएको छ ।  

एप्पलले आईप्याडओएस १७, म्याकओएस १४ र टीभी ओएस १७ मा पनि अपडेट ल्याउने अपेक्षा गरिएको छ । साथै वाच ओएस १० मा पनि ठूलो अपडेट ल्याउन लागेको जनाइएको छ ।

मानसिक स्वास्थ्यलाई केन्द्रित गरिएको जर्नलिङ एप

आईओएस १७ मा एप्पलले मानसिक स्वास्थ्यलाई केन्द्रमा राख्दै जर्नलिङ एप ल्याउने भएको छ । यसमा प्रयोगकर्ताले आफ्नो विचार र दैनिकी लेख्न सक्ने छन् । त्यस्तै एपले लेख्ने विषय बारे पनि सुझाव दिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० ९:५३