close

पीएमपीएल साउथ एसिया च्याम्पनियशिपमा नेपाली टिम ‘डीआरएस गेमिङ’ तेस्रो

टेकपाना टेकपाना

जेठ १५, २०८० १४:१७

पीएमपीएल साउथ एसिया च्याम्पनियशिपमा नेपाली टिम ‘डीआरएस गेमिङ’ तेस्रो

काठमाडौं । पब्जीको दक्षिण एसियाली प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनशिप २०२३’ 'को उपाधि मङ्गोलियन पब्जी टिम ‘स्टलवार्ट ई-स्पोर्ट्स’ले जितेको छ ।

मे २५ देखि चार दिनसम्म चलेको अन्तिम चरणको स्पर्धामा सात चिकेन डिनर निकाल्दै यो टिमले प्रतियोगिता जितेको हो । टिमले १५५ एलिमिनेसन पोइन्ट र १०४ स्थान पोइन्ट सहित कुल २५९ पोइन्ट ल्याएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको अर्को मङ्गोलियन टिम ‘फो मिराकल भाइब्स’ले चार चिकेन डिनर र १२६ एलिमिनेसन पोइन्ट सहित २०९ पोइन्ट ल्याएको छ ।

नेपाली टिम ‘डीआरएस गेमिङ’ र ‘टीटुके ई-स्पोर्ट्स’ १७७ र १५५ पोइन्ट ल्याएर क्रमश अङ्क तालिकामा तेस्रो र चौंथो स्थानमा रहे । त्यस्तै ‘लियो ई-स्पोर्ट्स’ पाँचौँ, ‘हाइभोल्टेज डीसी’ १०औँ र ‘इलुमिनेट क्रु’ ११औँ स्थानमा रहे ।

यो प्रतियोगिताको लिग चरणमा सात नेपाली टिमले खेले पनि अन्तिम चरणमा पाँच टिमले मात्र स्थान बनाउन सकेका थिए । नेपाली टिम ‘रअ ई-स्पोर्ट्स’ र ‘स्काइलाइट गेमिङ’ लिग चरणमा क्रमशः १७औँ र १९औँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएका थिए ।

योसँगै प्रतियोगिताको विजेता ‘स्टलवार्ट ई-स्पोर्ट्स’ले  २६ हजार अमेरिकी डलर (करिब ३४ लाख ४० हजार रुपैयाँ) हात  पारेको छ । त्यस्तै दोस्रो हुने ‘फो मिराकल भाइब्स’ले पनि २० हजार अमेरिकी डलर (करिब २६ लाख ४६ हजार रुपैयाँ) पाएको छ ।

नेपाली टिम ‘डीआरएस गेमिङ’ र ‘टीटुके ई-स्पोर्ट्स’ले पनि क्रमशः १४ हजार अमेरिकी डलर (करिब १८ लाख ५२ हजार रुपैयाँ) र १३ हजार अमेरिकी डलर (करिब १७ लाख २० हजार रुपैयाँ) जितेका छन् ।

प्रतियोगिता जितेसँगै ‘स्टलवार्ट ई-स्पोर्ट्स’ले जुलाई १४ देखि साउदी अरेबियाको रियादमा हुने पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल २०२३ खेल्ने भएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १४:१७