close

वृद्धको गोजीमै फोन पड्किएपछि... (भिडिओ सहित)

टेकपाना टेकपाना

जेठ १६, २०८० १४:१

वृद्धको गोजीमै फोन पड्किएपछि... (भिडिओ सहित)

काठमाडौं । भारतका ७६ वर्षीय वृद्धको फोन सर्टको गोजीमा राखेको अवस्थामा पड्किएको छ । केरला राज्यको थ्रिसर जिल्लामा बस्ने ती वृद्धको फोनको ब्याट्री तात्तिएपछि पड्किएको हो । फोन पड्किए पनि वृद्धलाई भने चोट लागेको छैन ।

स्थानीय सञ्चारमाध्यम इन्डिया टाइम्सका अनुसार एलियास नाम भएका ती वृद्ध चिया पसलमा बसिरहेको अवस्थामा गोजीमा फोन पड्किएको हो । गोजीमै राखेको फोन पड्किएको भिडिओ अहिले सामाजिक सञ्जाल तथा भारतीय टिभी च्यानलमा भाइरल छ ।

उक्त भिडिओमा सेतो टिसर्ट र धोती लगाएका वृद्ध कुर्सीमा बसेर चिया पिइरहेको देखिन्छन् । त्यसपछि एक्कासि उनको सर्टको पकेटमा फोन पड्किएर आगोको झिल्ला बाहिर निस्किएको देखिन्छ । अनि हतार हतार ती वृद्ध फोनलाई पकेटबाट बाहिर निकाल्न खोज्छन् । त्यसपछि आगो लागेको फोन उनको पकेटबाट भुईँमा झर्छ ।

उनलाई सहयोग गर्न आएका अर्का युवक भुईँमा झरेको फोनमा पानी हालेर आगो निभाउँछन् । यो दुर्घटना जेठको पहिलो सातामा भएको थियो ।

इन्डिया टाइम्सका अनुसार एक महिनाभन्दा कम अवधिमा मोबाइलको ब्याट्री पड्केर आगो लागेको यो तेस्रो घटना हो । 

प्रहरीका अनुसार ती वृद्धले एक वर्षअघि उक्त फोन एक हजार रुपैयाँ भारूमा खरिद गरेका थिए । जुन एउटा बार फोन थियो । एक वर्षसम्म पनि उनको उक्त फोनमा कुनै किसिमको समस्या आएको थिएन । 

उक्त दुर्घटना भएको एक हप्ताअघि पनि त्यस्तै अर्को मोबाइल फोन पड्केको घटना बाहिरिएको थियो । ट्राउजरमा फोन पड्केपछि ती व्यक्तिको शरीरको केही भाग जलेको थियो ।

त्यस्तै गत अप्रिल २४ मा एक आठ वर्षीया बालिकाले फोन प्रयोग गरिरहँदा पड्किएपछि उनको घटनास्थलमै ज्यान गएको थियो ।

यस्ता छन् फोनको ब्याट्री पड्किने सम्भावित कारणहरू 

१. फोन निर्माताको त्रुटि

फोन विस्फोट हुनुको एउटा मुख्य कारण निर्माताकै गल्ती र त्रुटि हाे । फाेनलाई शक्ति प्रदान गर्न लिथियम आयन ब्याट्रीकाे प्रयाेग गरिन्छ । तर निर्माताले उचित परीक्षणबिना फाेन बजारमा ल्याउँदा जाेखिम निम्तिन सक्छ ।

यसअघि एप्पल, सामसङ, साओमीलगायतका फोन पड्किनुमा कम्पनीकै दोष रहेको पाइएको थियो । उत्पादनका बेला हुने त्रुटिका कारण धेरै प्रयाेगकर्ताकाे ज्यान समेत गएकाे छ ।

वास्तवमा फाेन निर्माण र एसेम्बलका क्रममा हुने गल्तीले ब्याट्रीलाई खराबी गर्न सक्छ र फलस्वरूप विस्फोट हुन सक्छ । जब ब्याट्रीभित्र रहेको सेलमा बढी तातो हुन्छ, जोखिम निम्तिन सक्छ ।

यस्ताे क्रिटिकल टेम्प्रेचर विभिन्न कारणले हुन सक्छ । निर्माताले त्रुटिसहित पठाएका फाेनमा ओभरहिट हुने सम्भावना हुन सक्छ । सस्ताे ब्याट्री छ भने शर्ट सर्किट हुने सम्भावना बढी हुन्छ ।

२. ब्याट्रीमा भाैतिक क्षति

फोन विस्फोट हुनुको दोस्रो कारण ब्याट्रीको भौतिक अवस्था हो । यदि ब्याट्रीकाे अवस्था ठीक छैन भने यसले नोक्सान निम्त्याउन सक्छ । ब्याट्री खोलेर जथाभावी राख्ने, अन्य वस्तुसँगको सम्पर्कमा राख्ने, तातो ठाउँमा राख्ने लगायतका कारण ब्याट्रीको भौतिक अवस्था बिग्रन सक्छ ।

यसले ब्याट्रीको इन्टर्नल मेकानिकल वा रासायनिक संरचना परिवर्तन गर्न सक्दछ, जसले शर्ट सर्किट, ओभर हिटिङ र अन्य जोखिम ल्याउन सक्छ ।

एकपटक ब्याट्री बिग्रिएपछि प्रायः फुल्छ । यसपछि यस्ताे फोन प्रयोग नगर्न वा नयाँ खरिद गर्नु नै बुद्धिमानी कार्य हुनसक्छ ।

३. थर्ड पार्टी चार्जरकाे प्रयाेग

यो गल्ती हामीमध्ये धेरैजसोले गरिरहेका हुन्छाैं । फोन कम्पनीकाे चार्जर वा ब्राण्डेड चार्जरबाहेक थर्ड पार्टीकाे चार्जर प्रयाेग गर्नु खतरनाक हुन सक्छ । थर्ड पार्टी चार्जरहरूमा फाेनले माग गर्ने विशेष सुविधाहरूको अभाव हुन्छ ।

उस्तै उस्तै देखिने चार्जरले फोनलाई तताउन पनि सक्छ । त्यस्तै फोनको इन्टर्नल कम्पोनेन्ट्सलाई पनि नोक्सान पुर्‍याउन सक्छ । र, तपाईंको फोनको ब्याट्रीमा ‘बबल्स’ वा ‘शर्ट’ निम्तिन सक्छ ।

यसकारण यदि तपाईं बजारमा सस्ताेमा पाइने लोकल ब्राण्डका चार्जर प्रयोग गर्नुहुन्छ भने तपाईंको मोबाइलको लागि हानिकारक छ भनेर बुझ्नुहाेस् । चार्जर प्रयोग गर्दा ब्राण्डेड प्रयोग गर्नु नै उपयुक्त हुनेछ ।

४. रातभरकाे चार्ज

ब्याट्री ओभरहिट हुने अरू पनि कारण छ । यसमध्ये एउटा कारण हो रातभर चार्ज गर्नु । हामीमध्ये धेरैलाई सुत्ने क्रममा फोन चार्जिंङमा राख्ने बानी हुन्छ । यदि तपाईंकाे फाेनकाे ब्याट्रीमा ओभरहिट हुने समस्या छ भने रातभर चार्ज नगर्नुहाेस् । ओभरचार्जिंङले शर्ट सर्किट र कहिलेकाहिँ विस्फोट समेत हुन समेत सक्छ ।

धेरै स्मार्टफोनहरू अहिले विशेष चिपको साथ आउँछन्, जसमा १०० प्रतिशत चार्ज पुरा भएपछि करेन्ट राेकिन्छ । तर अझै पनि सस्ता र पुराना ह्यान्डसेटहरूमा यस्ताे फिचर नभएका कारण प्रयाेगकर्ताले सतर्कता अपनाउनु नै उचित हुन्छ ।

हिजोआजका मोबाइलमा प्रयोग हुने प्रोसेसर पहिलेको तुलनामा धेरै नै पावरफुल भएका छन् । मोबाइल प्रयोग हुने आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिले एकपटक मोबाइल चार्ज फुल भएसँगै आफैं चार्जलाई डिस्कनेक्ट गर्छ ।

यो भन्दैमा आफू सुत्ने सिरानीसँगै मोबाइल चार्जमा राख्नु भने त्यति उपयुक्त हुँदैन । यदि मोबाइलमै कुनै समस्या आए शर्ट सर्किट हुनसक्छ ।

५. प्राेसेसरका कारण

प्रोसेसरले तपाईंको फोनलाई प्राकृतिक रूपमा तताउन सक्छ । शक्तिशाली चिपसेट भएका मोबाइलमा पनि यदि तपाईंले मल्टी टास्किङ एपहरू र अझ पब्जी गेमजस्ता हेभी ग्राफिक्स भएका एप चलाउँदा थर्मल इस्युहरू आउने गरेका छन् ।

यसको प्रतिरोध गर्न फाेन निर्माता कम्पनीहरूले ह्यान्डसेटको तापमान जाँच्न थर्मल लक सुविधा वा थर्मल पेस्ट ल्याए । तर धेरैजसो घटनाहरूमा थर्मल लक असफल भएका छन् । फलस्वरूप फोन विस्फोट पनि हुनसक्छ ।

६. तातो ठाउँमा धेरै राख्दा

फोनको ब्याट्रीका लागि सबैभन्दा बढी खतरा भनेकै ताताे वा उच्च तापक्रम हाे । धेरै तातो हुँदा ब्याट्रीमा रहेका सेल अस्थिर हुन थाल्छ र अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यासहरु पैदा गर्न थाल्छ । यी ग्यासहरूले ब्याट्री फूल्ने, संरचना बिगार्ने र अन्तमा विस्फोट समेत गराउन सक्छ । तसर्थ, माेबाइललाई तातो ठाउँ र निरन्तर घाममा नछोड्नुहाेस् ।

तर हामी धेरैलाई उच्च तापक्रममा मोबाइल चलाउँदा केही हुन्न भन्ने हुनसक्छ । यही साेचकै कारण ब्याट्री ताताे भइरहेका बेलामा पनि मानिसहरू चार्ज गर्दै फाेन चलाउन पुग्छन् । यस्ताे अवस्थामा शर्ट सर्किट हुने सम्भावना बढ्छ ।

तपाईंले धेरै तापक्रम भएको ठाउँमा मोबाइल लामो समय प्रयोग गर्नुभएको खण्डमा तपाईंकाे ब्याट्री तात्तिने सम्भावना हुन्छ । ब्याट्री ओभर हिट भयो भने जे पनि हुन सक्छ । अर्काेतिर लगातार उच्च तापक्रममा चलाउनले ब्याट्री पनि सुख्खा हुन्छ, जसले गर्दा तपाईंको मोबाइलको ब्याट्रीको लाइफ घट्नेछ ।

७. पानीमा भिज्दा

अधिकांश माेबाइल वाटरप्रुफ छैनन् । यस्ताे अवस्थामा पानीमा माेबाइल भिज्याे भने खतरा ल्याउन सक्छ । यस्ताे अवस्थामा फोन अन छ भने अफ गरिदिनुहोस् । बन्द गरिसकेपछि कुनै पनि बटन दबाउने वा अन गर्ने कोशिश नगर्नुहोस् । यसो गर्दा फोनमा शर्ट सर्किटको खतरा टर्नेछ ।

अर्को महत्वपूर्ण कुरा पानी पसेको फोनलाई भुलेर पनि चार्जिङमा नजोड्नुहोस् । मोबाइलमा इलेक्ट्रिक फ्लो भएर शर्ट सर्किट हुनसक्छ । कुनै माेबाइलमा इलेक्ट्रिक फ्लाे भएर ब्याट्री जल्ने समस्या हुन्छ । जसका कारण माेबाइल नै पड्किने जाेखिम समेत हुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८० १४:१