close

एमडीएमएसमा दर्ता नभए ५५ लाख फोन असारपछि नेपालमा नचल्ने, दर्ता छ/छैन कसरी चेक गर्ने ?

टेकपाना टेकपाना

जेठ १६, २०८० १४:२१

एमडीएमएसमा दर्ता नभए ५५ लाख फोन असारपछि नेपालमा नचल्ने, दर्ता छ/छैन कसरी चेक गर्ने ?

काठमाडौं । सोमबार (१५ जेठ, २०८०) सम्म प्रयोगमा रहेका मोबाइल फोन आउँदो असारसम्म दर्ता नभए नेपालमा नचल्ने भएका छन् । सरकारले आइतबार संघीय संसद्‌मा पेश गरेको आर्थिक विधेयक २०८० मा प्रयोगमा रहेका फोन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता गर्ने अन्तिम म्याद तोकिएको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल करिब ५५ लाख (८३ लाख २७ हजार ६०६ आईएमईआई-प्रायः जसो फोनमा दुई ओटा आईएमईआई हुने) मोबाइल फोन एमडीएमएसमा दर्ता नभई प्रयोगमा रहेका छन् । यो गत भदौदेखि यही १५ जेठसम्मको तथ्याङ्क हो ।

प्रयोगकर्ताले त्यस्ता मोबाइल फोनहरू आउँदो असार मसान्तसम्ममा एकमुस्ट महसुल भुक्तानी गरी त्यस्ता फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता गराउन सक्नेछन् ।

विधेयकमा आईफोन र एक लाख रुपैयाँभन्दा बढी मूल्यका फोनहरूका लागि प्रति सेट १० हजार रुपैयाँ, अन्य स्मार्टफोनका लागि प्रति फोन सेट तीन हजार रुपैयाँ र स्मार्टफाेन बाहेकका मोबाइलका लागि प्रति सेट २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यस्तो फोनको शुल्क बुझाउन अर्थ मन्त्रालयले एक राजस्व खाता तोकिदिने बताइएको छ । आर्थिक विधेयक अनुसार एमडीएमएसमा दर्ता नभएका मोबाइलमा असारपछि नेपालमा नचल्ने गरी ‘कन्ट्री लक’ लाग्ने बताइएको छ । यद्यपि त्यसअघि प्रयोगकर्तालाई मोबाइल दर्ता गर्न सार्वजनिक सूचनाका साथै एसएमएसबाट समेत जानकारी दिइने प्राधिकरणले जनाएको छ ।

मोबाइल लक हुने सम्बन्धी सूचना, एमडीएमएसमा मोबाइल दर्ता गर्न निर्धारित रकम जम्मा गर्ने खाता, त्यसरी रकम बुझाइएका आईएमईआई स्वतः प्राधिकरणको सिस्टममा आइपुग्ने डिजिटल सिस्टम बनाउने अथवा रकम जम्मा गरेको निस्सा बुझाउने लगायतका विषयमा प्राधिकरण, अर्थमन्त्रालय र भन्सार विभागको संयुक्त बैठकले टुङ्याउने बताइएको छ ।

उक्त खातामा रकम बुझाई सोको प्रमाणसहित एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । तर श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गई छ महिनाभन्दा बढी अवधि विदेशमा बसी फर्केका नेपाली नागरिकले सोको प्रमाण पेश गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेको एक थान सेलुलर मोबाइल फोन नेपाल दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता गर्ने व्यवस्था मिलाउनेछ ।

गत भदौअघि नेपालमा प्रयोग रहेका फोनहरूलाई भने प्राधिकरणले स्वतः दर्ता हुने गरी ‘ह्वाइट लिस्ट’ मा समावेश गरिसकेको छ । जसमा छ करोड ९५ लाख ६६ हजार २७ ओटा आईएमईआई रहेका छन् ।

त्यसबाहेक भदौ यता व्यक्तिगत रुपमा भित्रिएका करिब २५ हजार फोनको ४० हजार आईएमईआई र आयातकर्ताले ल्याएका २५ लाख आईएमईआई पनि उक्त सिस्टममा दर्ता भइसकेका छन् । 

मोबाइल एमडीएमएसमा दर्ता छ कि छैन, कसरी थाहा पाउने ? 

-यसका लागि सबैभन्दा पहिला एमडीएमएस डट एनटीए डट जीओभी डट एनपीमा खोल्नुहोस् अथवा यहाँ क्लिक गरी नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस पोर्टलमा जानुहोस् । 

-त्यहाँ थोरै तलतर्फ जानुहोस् र बायाँतर्फ दिइएको बक्समा आफ्नो मोबाइलको आईएमईआई नम्बर राखेर 'खोज्नुहोस्' लेखिएको निलो बटनमा दबाउनुहोस् । यदि तपाईंलाई आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा छैन भने *#06# डायल गरी चेक गर्न सक्नुहुन्छ । 

-यदि तपाईंको मोबाइल एमडीएमएसमा दर्ता रहेछ भने त्यसको जानकारी पपअप विन्डोमा देखिन्छ । अन्यथा दर्ता नभएको जानकारी सहित दर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनले लिङ्क सहितको विन्डो खुल्छ ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८० १७:२३