close

सामाजिक सञ्जालमा ट्रोल बनेपछि ओलीले भने- ‘औंठी पनि नलगाउनेलाई बोक्न नसक्ने सुन लगाइदिएछन्’

टेकपाना टेकपाना

जेठ १७, २०८० १८:५५

सामाजिक सञ्जालमा ट्रोल बनेपछि ओलीले भने- ‘औंठी पनि नलगाउनेलाई बोक्न नसक्ने सुन लगाइदिएछन्’

काठमाडौं । १० जेठमा प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको गजुरमा राखिएको सुनको जलहरीमा भष्ट्राचार भएको आरोप लगाए । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई इङ्गित गर्दै उनले भ्रष्टाचारको आरोप लगाएपछि देशभर तरङ्ग आयो ।

भोलिपल्ट एमालेले संसद अवरुद्ध गर्‍याे । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्पष्टीकरण दिएर एमालेलाई थामथुम पारे । तर सामाजिक सञ्जालमा याे विषयले उग्र रूप लियाे । एमाले अध्यक्ष ओलीलाई लक्षित गरी विभिन्न ट्राेल बने ।

सामाजिक सञ्जालमा सुनैसुन लगाएकाे आफ्नाे फाेटाे देखेपछि ओलीले प्रतिक्रिया दिएका छन् । बुधबार एक कार्यक्रममा ओलीले भने, ''‘औंठी पनि नलगाउनेलाई बोक्न नसक्ने सुन लगाइदिएछन् ।''

"केपी ओलीको फोटोमा हातभरि सुनैसुन, यता पनि सुनैसुन, बोकी नसक्नु सुनैसुन," उनले भने, "त्यति सुन म बोक्न पनि सक्दिनँ होला ।"

उनले आफ्नो बाल्यकाल सम्झिँदै आमा बितिसकेपछि कसैले लगाउन दिएको भएर केही दिन सुनको औंठी लगाएको सुनाए । "आमाले कान्छी औंलातिर लगाएको औंठी मैले बीचको औंलातिर लगाउँदाखेरि मिल्थ्यो । त्यसैले दुई-चार दिन यो तिम्री आमाको हो तिमीले लगाऊ भनेर कसैले दिएको थियो," उनले विगत सम्झिए ।

उक्त सुनले बितेकी आमाको सम्झना गराएर आफूलाई हडबडी बनाएपछि सुनको औंठी खोलेको उनले सुनाए । सुनको औंठी लगाएको अर्को घटना सम्झिँदै उनले भने, "त्यसपछि फेरि एउटा साथीलाई के झोक चलेछ । एउटा सुनको औंठी ल्याएर मलाइ दिए । उनले मलाई बडो माया गरेर दिए ।"

"तपाईं कहिल्यै पैसा बोकेर पनि हिँड्नुहुन्न । खर्च पनि हुँदैन । केही परिहाल्यो भोक लाग्यो भने यो राखेर पछि लगेर तिर्न पनि पाइन्छ । नचिनेका ठाउँमा पनि यो चल्छ नि पैसा नभए पनि । यो एउटा लगाई राख्नुस् भन्यो । मैले सुनमा मेरो रुचि छैन भने, त्यही पनि लगाइराख्नुस् न एउटा भनेपछि त्यो दिनभरी लगाएँ । बेलुका गएर घरमा फुकालेर मैले राखेँ । त्यसपछि त्यो कसले लग्यो मलाई याद भएन ।"

र, सानोमा कानमा लगाएको सुन ठूलो भएपछि फुकालेको र त्यसपछि कहिल्यै सुन नलगाएको उनकाे प्रष्टीकरण थियाे ।

पशुपतिको सुनको जलहरी काण्डमा नाम मुछिएपछि सामाजिक सञ्जालमा ओलीको फोटो राखेर सुनैसुन लगाएको व्यङ्ग्यात्मक फोटो राख्दै ट्रोल बनाइएको थियो । त्यति मेहनत गरेर झुटा कुराहरू नराख्न ओलीले अनुरोध गरे ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८० १९:४०