close

च्याटजीपीटीका कारण एनभिदिया मालामाल, बन्यो छैटौं मूल्यवान् कम्पनी

टेकपाना टेकपाना

जेठ १८, २०८० १६:३

च्याटजीपीटीका कारण एनभिदिया मालामाल, बन्यो छैटौं मूल्यवान् कम्पनी

काठमाडौं । प्रविधि क्षेत्रमा रुचि राख्नेहरूका लागि ‘एनभिदिया’ परिचित नाम हाे । अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले यस कम्पनीलाई चर्चाको शिखरमा पुर्‍याएको छ ।

कम्प्युटर चिप निर्माण तथा वितरणमा चर्चित एनभिदियाकाे चर्चा हुनुकाे पछाडि च्याटजीपीटी रहेकाे छ । गत हप्ता एनभिदियाको शेयरमूल्य एक्कासि २४ प्रतिशतले बढ्दै कूल ९४० अर्ब अमेरिकी डलर पुग्यो । जो टेस्ला र फेसबुकको तुलनामा निकै बढी हो । जब कि त्यसबेला टेस्लाको शेयरमूल्य ५८४ अर्ब डलर र फेसबुकको शेयरमूल्य ६४७ अर्ब डलर रहेको थियो ।

हाल एनभिदियाले दिग्गज प्रविधि कम्पनीहरू एप्पल, गुगल, माइक्रोसफ्ट, अमेजन र साउदी अराम्कोलाई पछ्याइरहेको छ । अर्थात् एनभिदिया मूल्यवान् कम्पनीको शीर्ष छैटौं सूचीमा छ ।

मंगलबार एनभिदियाको कूल शेयरमूल्यले १० खर्ब छोएको थियो । आज (बिहीबार) एनभिदियाको शेयरमूल्य ५.६८ प्रतिशतले घट्दा ९३४ अर्ब ५० करोड डलर पुगेको छ ।

तीन कम्पुटर चिप इन्जिनियरले सन् १९९३ मा एनभिदिया स्थापना गरेका हुन् । उनीहरूले त्यतिबेला नै कम्प्युटरका लागि शक्तिशाली चिप आवश्यक पर्ने कुराको भविष्यवाणी गरेका थिए ।

पछि सन् २००० मा कम्पनीले माइक्रोसफ्टको एक्सबक्स गेमिङ कन्सोलका लागि चिप निर्माण गर्ने सम्झौता गर्‍यो । त्यही समयदेखि एनभिदिया भिडिओ गेमको बजारमा विस्तार हुँदै गइरहेको छ । भिडिओ गेममा मात्र नभए फिल्म, टेलिभिजन, म्युजिक उद्योगमा पनि एनभिदियाले बजार कब्जा गरेको छ । 

तर, पछिल्लो समय च्याटजीपीटी तथा अन्य एआई च्याटबटको चर्चाले एनभिदियाको शेयरमूल्य आकाशिएको हो । ओपनएआईले च्याटजीपीटी, गुगलले 'पाल्म टु' (PaLM 2) लाई ठूलो सङ्ख्याका डेटाद्वारा तालिम दिनका लागि शक्तिशाली चिपसेट आवश्यक परेको थियो ।

ती कम्पनीले आवश्यक जीपीयू चिप एनभिदियाबाट खरिद गरेका थिए । केही वर्षदेखि एनभिदियाको व्यापार मोडेल एआईमा केन्द्रित छ । तर, विगत छ महिनादेखि एआई टुलले सर्वाधिक चर्चा पाउँदा एनभिदियाको शेयर बढेको हो । 

एआई प्रविधि 

एआई मोडेललाई तालिम दिनका लागि ठूलो मात्राको मेमोरी स्टोरेज आवश्यक छ । जसले गर्दा कम्प्युटर चिपको माग बढ्दो छ । झन् पछिल्लो समय माइक्रोसफ्टको बिङ, गुगलको बार्ड र ओपनएआईको च्याटजीपीटीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

जसले गर्दा उनीहरू आफ्ना एआई टुललाई शक्तिशाली बनाउनतर्फ केन्द्रित छन् । यसका लागि उनीहरूलाई आवश्यक चिप एनभिदियाले उपलब्ध गराउँछ । यही कारणले चिपको माग बढ्दा कम्पनी मूल्य पनि बढिरहेको छ ।

एनभिदियाले तयार पार्ने आठ ओटा सबैभन्दा अत्याधुनिक चिपको सेटलाई तीन लाख डलर पर्ने बताइएको छ । यस्ता कम्पनीले आफ्नो च्याटबटलाई तालिम दिन हजारौं चिप खरिद गर्नुपर्ने हुन्छ । 

ट्वीटरका मालिक एलन मस्कले पनि हालसालै १० हजार जीपीयू खरिद गरेका थिए । 

यसरी चिपका लागि एनभिदियामा निर्भर हुनुपर्दा ठूला कम्पनीहरूले ठूलो रकम गुमाइरहेका छन् । त्यसैले पनि खर्च कटौती गर्न ठूला कम्पनीहरू आफैं चिप निर्माण गर्नमा केन्द्रित हुने देखिन्छ ।

जसरी एप्पलले चिपका लागि अन्य कम्पनीमा निर्भर हुने अवस्था हटायो, त्यसरी नै अन्य कम्पनीले पनि त्यही लय सम्हाल्ने अपेक्षा गरिएको छ ।

वर्षौंदेखि गुगलले आफ्नै ‘टेन्सर प्रोसेसिङ युनिट’ विकासमा काम गरिरहेको छ भने माइक्रोसफ्ट र अमेजनजस्ता कम्पनी पनि आफ्नै चिप निर्माण गर्ने कार्यमा केन्द्रित छन् ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८० १६:३