close

साथीकी प्रेमिकाको मोबाइल बैंकिङबाट धर्मेन्द्रले यसरी चोरे डेढ लाख

टेकपाना टेकपाना

जेठ १८, २०८० १९:५५

साथीकी प्रेमिकाको मोबाइल बैंकिङबाट धर्मेन्द्रले यसरी चोरे डेढ लाख

काठमाडौं । आफ्नै साथीकी प्रेमिकाको बैंक खाताबाट डेढ लाख रकम चोरी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले सप्तरी घर भई हाल काठमाडौं सुन्धारा बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार साहलाई पक्राउ गरेकाे हाे ।

करिब दुई महिनाअघि मोरङका एक युवाले वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउँछन् । युवतीले पनि एसेप्ट गर्छिन् ।

फेसबुकमा साथी बनेका युवक-युवतीबीच दैनिकजसो कुरा हुन थाल्छ । प्रेमी प्रेमिकाको जस्ताे सम्बन्ध हुन थालेपछि युवकले ती युवतीलाई नेपाल आएर भेट्न अनुरोध गरे । युवती पनि नेपाल आइन् ।

उनीहरूमा ठमेलकाे एक क्लबमा भेट्छन् । भेट्न जाँदा युवकले आफ्नो साथमा धर्मेन्द्र कुमार साहलाई लान्छन् । क्लबमा गइसकेपछि उनीहरू कुरा गर्दै ‘ड्रिङ्स’ लिन्छन् ।

पछि नाच्न जाँदा युवक (प्रेमी)ले युवतीलाई फोन र ब्याग एउटा ठाउँमा राख्न अनुरोध गर्छन् । त्यही मौका छोपी युवकका साथी धर्मेन्द्रले युवतीको फोन खोल्छन् ।

फोनमा कुनै लक प्रयोग गरिएको हुँदैन । फोन आफ्नै साथमा भएपछि माेबाइल बैंकिङ एपमा पहुँच बनाउने प्रयास गर्छन् । नभन्दै युवतीको बैंक खाताबाट आफ्नो बैंक खातामा रकम ट्रान्सफर गर्न उनी सफल हुन्छन् । अनि काम फत्ते भएपछि एसएमएस डिलिट गरिदिन्छन् ।

क्लबबाट फर्किसकेपछि आफ्नो बैंक खाता हेर्दा युवती छाँगाबाट खसेजस्तै हुन्छिन् । उनको अकाउन्टबाट डेढ लाख रुपैयाँ गायब पारिएको हुन्छ ।

बैंक खाताबाट रकम गायब भएपछि ती युवती काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुग्छिन् र उजुरी दिन्छिन् ।

उजुरीपछि अनुसन्धान थालेको प्रहरीले रकम डिपोजिट भएको बैंक खाताकाे प्रमाणका आधारमा साहलाई पक्राउ गरेको हो ।

आरोपित साहलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ । युवतीसँग कुरा गर्ने युवकमाथि प्रहरीले शंका गरेपनि यकिन प्रमाण नभेटेकाले मुद्दा नचलाएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका साइबर पिल्लर प्रमुख एवं प्रहरी नायब उपरीक्षक लिलाराज डाँगीले जानकारी दिए ।

"भेट्न बोलाउँदैमा पूर्ण विश्वास गर्नुपर्छ भन्ने हुँदैन," उनले टेकपानासँग भने, "त्यसमा पनि डिजिटल डिभाइसमा धेरै संवेदनशील डेटा हुने भएकाले त्यसको बढी ख्याल गर्नुपर्छ । डिभाइस सुरक्षित राख्न पिन, पासवर्ड तथा प्याटर्न राख्नुपर्छ ।" भेट्न जाने कुरामा मात्र नभई कसैलाई आफ्नो डिभाइस दिँदा पनि ख्याल गर्न उनले अनुराेध गरे ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८० २०:९