close

टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन मन्त्री शर्माको आग्रह

टेकपाना टेकपाना

जेठ २०, २०८० २२:१३

टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन मन्त्री शर्माको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई सेवा र राजस्व वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरेकी छन् । मन्त्रालय, नेपाल टेलिकम सञ्चालक समिति र टेलिकमका उच्च अधिकारीहरु सम्मिलित अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

नेपालका धेरै क्षेत्रमा नकारात्मक सूचक रहेको बेला टेलिकमले सकारात्मक नतिजा दिइरहेको भएपनि अब यतिमा मात्रै सन्तुष्टि लिने अवस्था नरहेकाले गुणस्तर र सेवा वृद्धिका योजना बनाउन उनले आग्रह गरिन् ।

''१८ घण्टा लोडसेडिङ हुने देश विद्युत निर्यात गर्ने अवस्थामा कसरी पुग्यो ?,'' मन्त्री शर्माले भनिन् ''तत्कालीन राजनीतिक नेतृत्व र विद्युत प्राधिकरणको नेतृत्वको उचित योजनाका कारण ऊर्जा क्रान्ति सम्भव भयो, हामीले हरेक निकायलाई यसरी नै नयाँ सोचसहित अघि बढाउन आवश्यक छ ।''

नेपाल टेलिकममा कार्यरत हरेक जनशक्तिले सेवा सुधारमा नै सन्तुष्टि देख्ने वातावरण बनाउन उनले जाेड दिइन् । उनले भनिन्, ''हामी यस्तो वातावरण बनाऔं कि नेपाल टेलिकममा महत्त्वपूर्ण जीवन बिताएर अन्तिममा बिदाइ हुँदै गर्दा हरेक कर्मचारीले मेरो योगदानका कारण नेपालमा सञ्चार क्रान्ति भयो भनेर गर्व गर्न सकून् । तपाईँहरूको सकारात्मक काममा सरकारको सधैं साथ रहन्छ, गलत कामका लागि कुनै दबाब दिइने छैन ।''

नेपाल टेलिकम कम्पनी भएकाले आफ्नो आम्दानी बढाउनुपर्ने र सरकारी लगानीको संस्था भएकाले राष्ट्रको सञ्चारको रुपमा योगदान गर्ने दुवै भूमिका रहेको औल्याउँदै मन्त्री शर्माले परम्परागत सोच त्यागेर थोरै लगानीमा धेरै प्रतिफल दिने कार्यक्रम बनाउन आग्रह गरिन् ।

ग्राहक सेवा केन्द्रको पुनर्संरचना गर्न आग्रह गर्दै उनले ग्राहकसँग मिठो व्यवहार गर्ने र ग्राहकको गुनासो तत्काल सुनेर सम्बाेधन गर्ने कामलाई प्राथमिकता दिन पनि निर्देशन दिइन् । 

आफू मन्त्री भएपछि पहिलो निर्णयको रुपमा ‘हाइवे कनेक्टिभिटी’को योजना अघि सारेको स्मरण गराउँदै उनले अबको केही समयभित्रै राजमार्गको सबै क्षेत्रमा फोन र इन्टरनेटको पहुँच स्थापित गर्न आग्रह गरिन् ।

''सामान्य अवस्थामा पनि यात्राका बेलामा सबैभन्दा बढी सञ्चार सम्पर्क गर्न आवश्यक हुन्छ, त्यसमा पनि दुर्घटना, बिरामी आदिका लागि राजमार्गको सबै क्षेत्रमा सञ्चार सम्पर्क आवश्यक हुन्छ,'' मन्त्री शर्माले भनिन्, ''दैनिक हजारौं गाडी चल्ने राजमार्गमा लाखौं यात्रुले सेवा पाउने र उनीहरुले व्यापार पनि बढाउने भएकाले हाइवे कनेक्टिभिटी टेलिकमको महत्त्वपूर्ण परियोजनाको रुपमा अघि बढ्नुपर्छ, यसको शीघ्र नतिजाको अपेक्षा गरेको छु ।'' 

आफूहरु सामान्य दिन कटाउने हिसाबले नभई देशलाई नयाँ अभियानमा अघि बढाउने उद्देश्यका साथ सरकारमा आएकाले सरकारले नियमित प्रगतिको रिपोर्ट कार्ड सार्वजनिक गर्ने तयारी गरिएको उल्लेख गर्दै उनले टेलिकमलगायत आफ्नो मन्त्रालय मातहतका सबै निकायले मन्त्रालयमा नियमित प्रगतिको रिपोर्ट कार्ड देखाउनुपर्ने बताइन् ।

टेलिकमलाई पूर्ण डिजिटलाइजेसन गर्दै हरेक शाखामा कार्यदलहरू बनाएर निश्चित समय तोकेर सुधारलाई अभियानकै रुपमा अघि बढाउन पनि मन्त्री शर्माले निर्देशन दिइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर राउतले सेवा र गुणस्तरलाई नयाँ ढंगले अघि बढाउन आग्रह गरे । टेलिकमले अघि सार्न खोजेको ‘भिजन २०३०’ लाई निर्णय प्रक्रियामा लगिने उल्लेख गर्दै उनले दूरसञ्चार विधेयकलगायतका आवश्यक कानून परिमार्जन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको पनि बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले राष्ट्रको सञ्चारको रुपमा रहेको टेलिकमको गुणस्तर र सेवा वृद्धि गर्दै लैजाने बताए । अबको सेवा डेटामा केन्द्रित भएकाले ग्राहकको चाहनाअनुसार सेवा थप्दै लैजाने र ग्राहक सेवा केन्द्रलाई आगामी असारभित्र पूर्णरुपमा सुधार गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । 

दुई दिनसम्म चलेको अन्तर्क्रियामा दूरसञ्चार क्षेत्रका विश्वब्यापी प्रवृत्ति र टेलिकममा गर्नुपर्ने सुधारका बारेमा विज्ञ भुपेन्द्र भण्डारी, भिजन २०३० बारे प्रबन्धक वृजेश शर्मा, नीति कार्यक्रम र बजेटबारे प्रबन्धक शोभन अधिकारी, सेवा र मर्मत सुधारबारे प्रबन्धक शालिग्राम पराजुली, बजार र व्यापार विस्तारबारे प्रबन्धक रिना डंगोललगायतले आधारपत्र प्रस्तुत गरेका थिए ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८० २२:१३