close

पत्रकारमाथिको दुर्व्यवहारको घटनामा सुन्दर यातायातका सञ्चालक थापाले भनेः अब मर्यादित बन्छु

टेकपाना टेकपाना

जेठ २९, २०८० १६:४७

पत्रकारमाथिको दुर्व्यवहारको घटनामा सुन्दर यातायातका सञ्चालक थापाले भनेः अब मर्यादित बन्छु

काठमाडौं ।  सुन्दर यातायातका सञ्चालक  भेषबहादुर थापाले टेकपानाका पत्रकारमाथि गरेको दुर्व्यवहारको विषयलाई लिएर आगामी दिनमा मर्यादित बन्ने प्रतिवद्धता जनाएका छन् । आइतबार प्रेस काउन्सिलमा भएको छलफलका क्रममा थापाले यस्तो बताएका हुन् ।

सुन्दर यातायात अन्तर्गतको सुन्दर अटो इन्जिनियरिङले नेपालमा तयार पारिरहेको विद्युतीय बाइकको रिपोर्टिङको लागि टेकपानाका सञ्चारकर्मी गएको २० जेठमा कम्पनीको वर्कशप पुगेका थिए । तर रिपोर्टिङका क्रममा खटिएका टेकपानाका पत्रकार तथा सञ्चारकर्मीले खिचेका भिडिओ सामग्री जबरजस्ती डिलिट गर्न लगाउँदै थापाले अमर्यादित व्यवहार गरेका थिए ।

त्यसै क्रममा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए । घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै टेकपाना मिडिया प्रालिले आफ्नो पेशागत जिम्मेवारी र दायित्वअन्तर्गत रिपोर्टिङका लागि खटिएका आफ्ना सञ्चारकर्मी माथि भएको घटनाको जानकारी गराएको थियो ।

कम्पनीका अध्यक्ष थापाले नै टेकपानाका पत्रकार तथा सञ्चारकर्मीलाई आफ्नो कम्पनीले विकास गरिरहेको विद्युतीय मोटरसाइकलको विषयमा जानकारी दिएर रिपोर्टिङका लागि अनुरोध गरेका थिए । सुन्दर यातायातका कर्मचारीसँगको समन्वयमै टेकपानाका सञ्चारकर्मीले कम्पनीले विकास गरिरहेको विद्युतीय बाइकको विषयमा रिपोर्टिङ गरेका थिए ।

रिपोर्टिङ सकिएपछि आइपुगेका कम्पनीका अध्यक्ष थापाले ब्याट्रीको भिडिओ किन खिचेको भन्दै अमर्यादित शब्दको प्रयोग गर्दै भिडिओ डिलिट गर्न लगाएका थिए । टेकपानाका प्रतिनिधिले कम्पनीको गोपनीयतामा आघात पुर्‍याउने उद्देश्य नभएको र गोपनीयता भङ्ग हुने कुनै पनि भिडिओ प्रसारण तथा प्रकाशन नगर्ने आश्वस्त तुल्याउँदा पनि थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए ।

उक्त घटनाप्रति खेद व्यक्त गर्दै टेकपानाले आगामी दिनमा यस्ता अमर्यादित गतिविधि नगर्न सम्बन्धित सबैलाई सचेत गराएको थियो । सुन्दर यातायात प्रालिले भने टेकपानाले प्रकाशित गरेको विज्ञप्ति प्रति ध्यानाकर्षण जनाउँदै रिपोर्टिङका क्रममा कुनै विवाद र भनाभन समेत नभएको अवस्थामा दुर्व्यवहार हुने कुरा सम्भव नै नभएको दाबी गरेको थियो ।

तर उसले "हाम्रो कार्यालयमा आएका टेकपानाका सञ्चारकर्मीले खिचेका केही मिडिया क्लिप व्यावसायिक मर्यादाका हिसाबले गोपनीयता कायम राख्न जरुरी देखेर अध्यक्षको उपस्थितिमा डिलिट गर्न अनुरोध गरेपछि सोही अनुसार समझदारीपूर्ण ढङ्गले कार्य सम्पादन गरिएको" भन्दै दुर्व्यवहारको घटनालाई अप्रत्यक्ष ढङ्गले स्वीकार गरेको थियो ।

"यति सामान्य विषयलाई अचानक दुर्व्यवहारको आरोप लगाई टेकपानामा समाचार प्रकाशित गरिएकोमा हामी आश्चर्यचकित भएका छौं," कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । आइतबारको छलफलका क्रममा सञ्चालक थापाले आफ्नो चर्को बोल्ने स्वभाव भएको स्पष्टीकरण दिंदै घटनाको दिन खिचेका भिडिओ डिलिट नगरेसम्म परिसरबाट बाहिर जान नदिने भनेको स्वीकार गरेका थिए ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८० १६:४७