close

चन्द्रमाबाट चट्टान र माटो ल्याउन चीनले उडायो अहिलसम्मकै ठूलो रकेट

टेकपाना टेकपाना

बैशाख २२, २०८१ १५:२१

चन्द्रमाबाट चट्टान र माटो ल्याउन चीनले उडायो अहिलसम्मकै ठूलो रकेट

 

काठमाडौं । चीनले चन्द्रमाबाट चट्टान र माटोको नमूना पृथ्वीमा ल्याउन शुक्रबार आफ्नो अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट आठ मेट्रिक टनभन्दा बढी तौल भएको चाङ्गइ-६ (Chang'e 6) प्रोब सहित चीनले आफ्नो सबैभन्दा ठूलो रकेट लङ मार्च-५ शुक्रबार प्रक्षेपण गरेको हो । 

यो चन्द्र यान एटकेन बेसिन नामक चन्द्रमाको दक्षिणी भागमा अवतरण गर्नेछ । यदि योजना अनुसार यान सकुशल अवतरण भए त्यस भागमा पुग्ने कुनै पनि मानव निर्मित वस्तु सबैभन्दा टाढाको हुनेछ । त्यस्तै सो भागबाट चट्टान र माटो ल्याउने पहिलो देश पनि चीन बन्नेछ ।

यद्यपि यो परियोजना २००४ बाट सुरु भएको चिनियाँ चन्द्र अन्वेषण कार्यक्रम अन्तर्गत पर्छ । यसलाई ‘चाङ्गइ’ नामले समेत चिन्ने गरिन्छ । हालसम्म यस परियोजना अन्तर्गत चीनले पाँच ओटा यान चन्द्रयान प्रक्षेपण गरिसकेको छ । पहिलो पटक सन् २००७ मा चाङ्गइ-१ प्रक्षेपण गरिएको थियो ।

यही परियोजनाको चाङ्गइ-४ बाट चीनले सन् २०१८ मा पहिलो पटक पाइला टेकेको थियो । त्यस्तै २०२० को चाङ्गइ-५ बाट चीनले मानव इतिहासमा ४४ वर्षपछि पुन: चन्द्रमाको चट्टान पृथ्वीमा ल्याउन सफल भएको थियो । अब भने अहिलेसम्म मानव वस्तु नपुगेको चन्द्रमाको भाग अन्वेषण गर्न चीन लागेको छ । 

यस पटकको चन्द्र मिसनमा चीनका वैज्ञानिक मात्र सामेल छैनन् । चाङ्गइ -६ को प्रोब तयार पार्न चीन सहित फ्रान्स, इटाली, पाकिस्तान, युरोपियन एजेन्सीका वैज्ञानिकहरू संलग्न थिए ।

वैज्ञानिकका अनुसार यो प्रोब जुन महिनाको पहिलो सातातिर आफ्नो चन्द्र सतहमा पाइला टेक्नेछ । त्यसपछि करिब दुई किलोग्राम बराबरको चन्द्रमाको चट्टान र माटो सङ्कलन गर्न बिताउने छ । त्यसपछि उक्त नमूना बोकेर यो प्रोब पुन: पृथ्वीमा फिर्ता हुनेछ । यो प्रोब पुग्ने ठाउँलाई चन्द्रमाको दुर्गम मान्न सकिन्छ । किनकी पृथ्वीबाट यो भाग कहिल्यै देखिँदैन ।

तथापि त्यसबाट सङ्कलन हुने नमूनाले चन्द्रमाबारे थप नयाँ जानकारी प्राप्त हुने वैज्ञानिकले आशा गरेका छन् । किनकी  वैज्ञानिकहरू चन्द्रमाको दक्षिण ध्रुवमा करिब चार अर्ब वर्ष पुराना चट्टान हुने बताउँछन् । यसअघि सङ्कलन गरिएका नमूनाको परीक्षण गर्दा ती २/३ अर्ब वर्ष पुरानो भएको पत्ता लागेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८१ १५:२१