close

सञ्चारमन्त्रीलाई फुर्सद नहुँदा नेपालीले चलाउन पाएनन् आईफोनको नयाँ प्रविधि

टेकपाना टेकपाना

असार ६, २०८० १९:१३

सञ्चारमन्त्रीलाई फुर्सद नहुँदा नेपालीले चलाउन पाएनन् आईफोनको नयाँ प्रविधि

काठमाडौं । आईफोन लगायतका फ्ल्यागशिप स्मार्टफोनमा भएको एउटा महत्त्वपूर्ण प्रविधि प्रयोग गर्नबाट नेपाली प्रयोगकर्ता बञ्चित भएका छन् । लामो समयदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रीको अध्यक्षतामा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठक नबस्दा नेपालमा अल्ट्रा  वाइडब्यान्ड प्रविधि रोकिएको हो । 

आईफोन निर्माता कम्पनी एप्पलले अन्तर्राष्ट्रिय नियामकीय प्रावधानका कारण नेपालमा अल्ट्रा वाइडब्यान्ड प्रविधि उपलब्ध नभएको उल्लेख गरेको छ । यसका लागि नेपालले उक्त ब्यान्डको फ्रिक्वेन्सी प्रयोगका लागि खुला गर्ने निर्णय लिनुपर्ने हुन्छ । विश्वभर यो प्रविधि उपलब्ध नभएका देशको सङ्ख्या १२ ओटा मात्रै छ, जसमा नेपाल समेत पर्छ । 

समितिको बैठक नै बस्न नसक्दा उक्त विषय अनिर्णित रहेको हो । दूरसञ्चार ऐन २०५३ ले नेपालमा रेडियो फ्रिक्वेन्सी सम्बन्धी नीति निर्धारण तथा बाँडफाँड गर्ने जिम्मेवारी सञ्चार मन्त्री अध्यक्ष रहेको समितिलाई सुम्पिएको छ ।

जसमा गृह, रक्षा, पर्यटन तथा नागरिक उड्डयन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष सदस्यको रूपमा रहन्छन् । 

तर विगत २६ महिनापछि उक्त समितिले कुनै निर्णय दिन सकेको छैन । १४ चैत २०७८ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीको पालामा समितिको पछिल्लो बैठक बसेको भए पनि त्यसबाट कुनै पनि निर्णय भएन । निर्णयका हिसाबले चैत २०७७ मा मन्त्री पार्वत गुरुङको नेतृत्वको बसेको बैठक नै अन्तिम हो । 

उक्त बैठकले नेपाल टेलिकमलाई फाइभजी परीक्षणका लागि फ्रिक्वेन्सी उपलब्ध  गराउने निर्णय लिएको थियो । वर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कार्यभार सम्हालेको पनि पाँच महिना बितिसकेको छ ।

तर अहिलेसम्म फ्रिक्वेन्सी समितिको बैठक डाक्ने फुर्सद उनले पाएकी छैनन् । जब कि नियामक प्राधिकरणले नेपालमा अल्ट्रा वाइडब्यान्ड खुलाउन उनी आउनु अगावै सिफारिस गरिसकेको थियो ।

समिति अन्तर्गत रहेको प्राविधिक उपसमितिले बैठकका लागि गृहकार्य भइरहेको जानकारी दिएको छ । तर बैठकको मिति समेत अहिलेसम्म तय हुन सकेको छैन ।

समितिको बैठक नबस्दा अल्ट्रा वाइड ब्यान्ड खुलाउने विषय मात्र नभएर मोबाइल सेवा प्रदायकको फ्रिक्वेन्सी थप, एनसेललाई फाइजी ट्रायलका लागि फ्रिक्वेन्सी उपलब्ध गराउने, आईओटी, एमटुएम, स्मार्ट मिटर आदिका लागि स्पेक्ट्रम छुट्याउने आदि विषय समेत रोकिएका छन् । यसबाट राज्यले वार्षिक अर्बौं रुपैयाँ राजस्व गुमाउनुका साथै मोबाइल प्रयोगकर्ताले गुणस्तरीय सेवा पाउन समेत सकेका छैनन् ।

    

के हो अल्ट्रा वाइडब्यान्ड प्रविधि ?  

तपाईंले वाईफाई, ब्लुटुथ र फाइभजी जस्ता वायरलेस प्रविधिको बारेमा त अवश्य पनि सुन्नु भएकै छ । त्यस्तै किसिमको, तर नयाँ प्रविधि हो, अल्ट्रा वाइडब्यान्ड (यूडब्लूबी) ।

जुन प्रविधि ट्याग र केही कारलाई ट्रयाक गर्न मिल्ने गरी स्मार्टफोनमा आउन थालेको छ । यसले डिभाइसको लोकेसन (स्थान) पिनप्वाइन्ट (यकिन) गर्न रेडियो तरङ्ग प्रयोग गर्छ । 

यो लो-इनर्जी तथा शर्ट-रेञ्ज रेडियो प्रविधि विगत दुई दशकदेखि प्रचलनमा आएको हो । जसलाई एकताका 'पल्स रेडियो' समेत भन्ने गरिएको थियो । 

अल्ट्रा वाइडब्यान्डले ५०० मेगाहर्ज भन्दा बढी रेडियो फ्रिक्वेन्सीमार्फत सुपर फास्ट सिग्नल पल्स प्रसारण गर्छ । यसले वाईफाई र ब्लुटुथ जस्ता अन्य प्रविधिमा हुने अवरोधको समस्यालाई समेत टार्न सक्छ । 

त्यसो त केही समय अघिसम्म अल्ट्रा वाइडब्यान्ड अधिकतर रूपमा सैन्य र मेडिकल एप्लिकेसनमै सीमित थियो । तर त्यो अवस्था अब भने फेरिन थालेको छ ।

एकताका अल्ट्रा वाइडब्यान्डले वाईफाईलाई प्रतिस्थापन गर्ने ठानिएको थियो, तर त्यसो भएन । एप्पल डेटा ट्रान्सफरका लागि एयरड्रपमा ब्लुटुथको ठाउँमा यो प्रविधि प्रयोग गर्न थालेको छ । यद्यपि अल्ट्रा वाइडब्यान्ड फिचर चिजवस्तुलाई यकिनका साथ फेला पार्ने कार्यमा बढी केन्द्रित देखिन्छ । 

अल्ट्रा वाइडब्यान्ड प्रविधि नै एप्पलको एयरट्याग र सामसङको स्मार्टट्याग प्लस जस्ता ट्रयाकिङ ट्यागको आधार हो, जसले तपाईंलाई हराएको चाबी, पर्स, झोला अथवा कुकुरलाई फेला पार्ने कार्यमा सहयोग पुर्‍याउन सक्छ ।

अर्को उदाहरणको रूपमा अल्ट्रा वाइडब्यान्डले तपाईंलाई बीएमडब्लू आईएक्स जस्ता कार आफ्नो फोनबाटै अनलक गर्नसक्ने बनाएको छ । यसैगरी तपाईंको घरको मूल ढोका खोल्ने कार्यमा समेत फोन प्रयोग हुन सक्छ ।

अत्यधिक छोटा रेडियो तरङ्गका झोक्काहरू डिभाइसबीच ओहोरदोहोर गर्न कति समय लगाइरहेका छन् भन्ने कुराको मापन गरी अल्ट्रा वाइडब्यान्डले लोकेसनलाई एक इन्चभन्दा कम अन्तर हुनेगरी यकिन गर्न सक्छ । निश्चित रूपमा यसले डेटा ट्रान्सफर समेत गराउन सक्छ, दशकअघि यही प्रयोजनका लागि यो प्रविधिको डिजाइन गरिएको थियो ।

तर अब भने स्थान यकिन गर्ने मामिलाको तुलनामा त्यो कुरा दोस्रो प्राथमिकताको विषय बनेको छ । त्यसो त अल्ट्रावाइड ब्यान्ड प्रविधिको प्रयोग अहिलेका लागि सीमित मात्रामा नै छ ।

तर जसरी यसले मापन गरिरहेको हुन्छ र थप डिभाइसमा विस्तार भइरहेको छ, केवल तपाईंले फोन बोकेको वा घडी लगाएको भरमा तपाईंको  ल्यापटप लगईन गर्न अथवा घरबाट बाहिरिने बित्तिकै आफैं ढोका बन्द हुने अवस्थातर्फ अल्ट्रा वाइडब्यान्डले विश्वलाई डोर्‍याउँदैछ । 

अल्ट्रा वाइडब्यान्ड प्रविधिको सबैभन्दा ठूलो फ्यान मध्येको एउटा हो, एप्पल । कम्पनीले आईफोन, एयरट्याग र एप्पल वाचका लाग आफ्नै अल्ट्रा वाइडब्यान्ड चिप 'यू वन' (U1) डिजाइन गरेको छ ।

जसको सहयोगमा पछिल्ला आईफोनहरूले निश्चित रेञ्जभित्र एयरट्याग राखिएका चाबी वा एप्पल वाच भेट्टाउन सक्छ । बीएमडब्लू, हुन्डाई जस्ता कार निर्माता कम्पनीहरू पनि अल्ट्रा वाइडब्यान्ड प्रविधि पच्छ्याउन थालेका छन् ।

यकिन साथ चिजवस्तु पत्ता लगाउन सक्नु बढ्दो महत्त्वको विषय हो । सन् २०२५ सम्म अल्ट्रा वाइडब्यान्ड प्रविधि युक्त डिभाइसहरूको सङ्ख्या एक अर्ब नाघ्ने अपेक्षा गरिएको छ ।

एक पटक स्मार्टफोनमा यो प्रविधि इम्बेड भइसकेपछि, त्यसले वायरलेस प्रविधिका लागि उल्लेखनीय अवसरका ढोका खोल्न सक्छ । 

एप्पलले पछिल्ला केही वर्षयताका आफ्ना थुप्रै डिभाइसमा अल्ट्रा वाइडब्यान्डको सपोर्ट समावेश गरेको छ । यसका लागि ११ पछिका आईफोन, सिक्स सिरिजयताका एप्पल वाच, होमपड मिनी, सेकेन्ड जेनेरेसन एयरपड्स प्रो र एयरट्यागमा यूवन चिप राखिएको छ ।

यदि तपाईंसँग एयरट्याग छ  र आईफोन चलाउनु हुन्छ भने यो फिचर प्रयोग गरिरहनु भएकै होला । अल्ट्रा वाइडब्यान्डको लो-इनर्जी (न्यून ऊर्जा) को अर्थ एउटा ट्यागमा रहेको  सानो बटन-सेल ब्याट्री वर्ष दिनसम्म टिक्न सक्छ ।

त्यस्तै प्रिसिजन फाइन्डिङ (यकिन साथ पत्ता लगाउने) फिचरले तपाईंलाई हराएको सामान खोजी गर्नुपर्ने क्षेत्रको दायरालाई सय फिटबाट घटाएर केही इन्चमा सीमित गरिदिन सक्छ । यो जीपीएसको तुलनामा थप यथार्थपरक मात्र छैन, घरबाहिरका साथै यसले भित्र समेत काम गर्न सक्छ ।

एप्पल  डिभाइसमा मात्र नभएर केही एन्ड्रोइड फोनमा समेत अल्ट्रा वाइडब्यान्ड प्रविधि समावेश हुन थालेको छ । जसमा सामसङ ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २२, ग्यालेक्सी जेड फोल्ड २, ग्यालेक्सी नोट २०, ग्यालेक्सी जेड फोल्ड ३ र ग्यालेक्सी जेड फोल्ड ४ मा यो प्रविधि पाउन सकिन्छ ।

त्यस्तै गुगलको पिक्सेल सिक्स प्रो र पिक्सेल सेभेन प्रोका साथै साओमीको मिक्स फोरमा पनि अल्ट्रा वाइडब्यान्ड प्रविधि राखिएको छ । 

पछिल्लो अध्यावधिक: असार ६, २०८० १९:१३