close

कम्प्युटरको ब्लु लाइटबाट आँखालाई कसरी जोगाउने ?

टेकपाना टेकपाना

असार ८, २०८० ९:४४

कम्प्युटरको ब्लु लाइटबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं । प्रविधिको यो दुनियाँमा कम्प्युटरमा काम गर्नु अनिवार्य नै भइसकेको छ । सूचना प्रविधिको क्षेत्रमा मात्र नभइ हरेक क्षेत्रमा आजको दिनमा कम्प्युटरमा नै काम हुने गर्छन् । कम्प्युटरमा काम गर्नु अत्यावस्यक बनिसकेको छ । 

कुनै पनि क्षेत्रको कुनै पनि कामका लागि अहिले कम्प्युटरको प्रयोग बढ्दो छ । लामो समयमा कम्प्युटरमा काम गर्नु दैनिकी जस्तै भएको छ । यसले गर्दा हामी आफैलाई पनि विभिन्न चिन्ताले सताउने गर्छ । सबैभन्दा पहिलो चिन्ता हामीलाई हाम्रो आखाँको लाग्छ । 

आँखाका कुनै समस्या आयो भने कम्प्युटरमा धेरै समय बिताएर हो कि भन्ने डर पक्कै पनि आउँछ । स्क्रिनमा बढी समय बिताउँदा हाम्रो कार्काडियन रिदमलाई हानी गर्छ । 

कार्काडियन रिदम सजीव प्राणीहरूको शरीरमा भएको एउटा यस्तो आन्तरिक प्रक्रिया हो जसले स्लिप-वेक साइकल (निदाउने-ब्यूँझने चक्र) लाई नियमन गरेको हुन्छ । त्यस्तै लामो समयसम्म आँखामा प्रकाश पर्दा त्यसले शरीरमा भौतिक असर जस्तै आँखा चिलाउने समस्या पनि निम्तिन्छ । 

वेब एमडीले गरेको एक अध्ययन अनुसार ५० देखि ९० प्रतिशत रिमोट वर्कर (घरबाटै कम्प्युटरमा बसेर काम गर्ने मानिस) मा डिजिटल आई स्ट्रेनको लक्षण देखिएको छ । 

डिजिटल आई सिन्ड्रम जसलाई कम्प्युटर भिजन सिन्ड्रम (सीभीएस) पनि भनिन्छ, यो यस्तो अवस्था हो जहाँ डिजिटल डिभाइसका कारण मान्छेको भिजन (दृष्टि) मा समस्या आउँछ । विशेषगरी कम्प्युटर, स्मार्टफोन, ट्याबलेट र अन्य विद्युतीय उपकरण अत्यधिक प्रयोग गर्दा यस्तो समस्या निम्तिन्छ ।

हुन त ब्लु लाइट ब्लक गर्ने चस्माले ब्लु लाइटबाट हाम्रो स्लिप-वेक साइकललाई जोगाउँछ भनिएको छ । तर, त्यस्ता ग्लास कम्प्युटर भिजन सिन्ड्रम अर्थात् डिजिटल आइ स्ट्रेनबाट हामीलाई जोगाउन त्यति प्रभावकारी छैनन् । 

कम्प्युटर भिजन सिन्ड्रमका लक्षणहरू के के हुन् ? 

यदि तपाईं पनि लामो समय कम्प्युटर स्क्रिनमा काम गर्नुहुन्छ भने तलका मध्ये पक्कै पनि कुनै लक्षण तपाईंमा देखा परेका हुनसक्छन् । कम्प्युटर भिजन सिन्ड्रमका केही लक्षणहरू तल उल्लेख गरिएको छ । 

- आँखा सुख्खा हुनु

-आँखा चिलाउनु 

-आँखा रातो हुनु

- टाउको दुख्नु

- धमिलो देखिनु 

- घाँटी दुख्नु

- मांसपेशी ऐँठन हुनु

हामी यहाँ डिजिटल उपकरणका कारण हुने कम्प्युटर भिजन सिन्ड्रम वा भनौं आइस्ट्रेन (आँखा दुखाई) का समस्यालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं । 

१) रातको समयमा स्क्रिनको ब्राइटनेस घटाउनुहोस् 

कम्प्युटरको स्क्रिनले आँखामा पार्ने असर कम गर्नका लागि रातको समयमा स्क्रिनको ब्राइटनेस कमभन्दा पनि कम राख्नुहोस् । अधिकांश डिभाइसमा अटो ब्राइटनेसको सुविधा हुन्छ । जसले तपाईंको वरपरको प्रकाशलाई मध्यनजर गर्दै तपाईंका लागि उपयुक्त ब्राइटनेस मिलाउँछ । 

आईफोन डिभाइसमा स्क्रिनको ब्राइटनेस स्टान्डर्ड डिस्प्ले सेटिङभन्दा पनि कम गराउने सुविधा हुन्छ । समग्रमा के भन्न खोजिएको हो भने तपाईंले कम्प्युटर प्रयोग गर्दा आफूलाई उपयुक्त हुने गरी कमभन्दा कम ब्राइटनेस राख्नुहोस् । 

२) स्क्रिनभन्दा टाढा रहनुहोस् 

हामीमध्ये अधिकांशले विस्तरामा बसेर ल्यापटममा फिल्म हेर्नुपर्‍यो वा काम गर्नुपर्‍यो भने निकै नजिक राख्छौं । वास्तवमा यसरी आँखाको नजिक स्क्रिनलाई ल्याउँदा त्यसले आँखालाई असर गर्छ । यसबाट जोगिनका लागि तलका प्रक्रिया अपनाउनुहोस् । 

- कम्प्युटर स्क्रिन वा ल्यापटप आफूभन्दा टाढा राख्नुहोस् । विशेषगरी कुनै टेबल वा डेस्कमा राख्नु भएको छ भने पनि आफूभन्दा टाढा नै राख्नुपर्छ । 

- मोबाइल प्रयोग गर्दा आँखाभन्दा ३० इन्च टाढा राख्नुहोस् । 

- घाटीलाई असर नपर्ने गरी डिभाइसलाई आँखाको अगाडि राख्नुहोस् । 

- पेन मेडिसिनका अनुसार आँखाभन्दा स्क्रिन चारदेखि आठ इन्च तल राख्नुपर्छ । यस्तो गर्दा घाँटीमा पर्ने दबाब कम हुन्छ र आँखा पनि जोगिन्छ । 

३) स्क्रिनबाट ब्रेक लिनुहोस् 

कम्प्युटरमा बसेर काम गर्ने भइसकेपछि समय समयमा ब्रेक लिने गर्नुपर्छ । हुन त यस्तोमा प्रायः मानिसहरू एकाग्र भएर काम गर्छन् । तर, पनि आँखा, मस्तिष्क र शरीरलाई आराम दिन तपाईंले समय समयमा ब्रेक लिनुपर्छ । 

विज्ञहरूका अनुसार हरेक दुई घण्टा कम्प्युटरमा काम गरिसकेपछि तपाईंले १५ मिनेट आराम लिनुपर्छ । ब्रेकको समयमा आँखाको व्यायाम गर्नुपर्छ । 

४) सही तरिकाले बस्ने बानी बसाल्नुहोस्

तपाईं डेस्कटपअघि कसरी बस्नुहुन्छ भन्ने कुराले पनि तपाईंको शरीरको अवस्था निर्धारण गरेको हुन्छ । यदि तपाईं सहज र सही तरिकाले बस्नुभयो भने त्यसले घाँटी, आँखा र पछाडिको भागलाई आराम दिन्छ । बस्ने सही तरिकाहरू तल उल्लेख गरिएको छ । 

- आफ्नो कुर्सीलाई यसरी राख्नुहोस् जहाँ घुँडाले खुट्टासँग ९० डिग्री कोण बनाउन सकियोस् ।

- भूइँमा आफ्नो खुट्टा समतल बनाएर राख्नुहोस् ।

- कुर्सीमा अडेस लागेरभन्दा पनि सिधा पर्नेगरी बस्नुहोस् । 

- डेस्कमा हात ९० डिग्री पर्नेगरी राख्नुहोस् ।

- कम्प्युटर टाढा परे पनि माउसलाई आफ्नो हातको नजिक पर्नेगरी राख्नुहोस् । 

५) आँखाका लागि उपयुक्त ड्रप

हामी कम्प्युटरमा काम गर्दा आँखा कम झिम्काउँछौँ । यसरी आँखाको झिम्काइ कम हुँदा आँखा चिलाउने समस्या निम्तिन्छ । त्यसैले आँखालाई उपयुक्त हुने ड्रप राख्दा आँखा सुख्खा हुने, चिलाउने समस्याबाट मुक्त हुन सकिन्छ । आँखामा उपयुक्त हुने ड्रप अस्पतालमा गइ आँखा जाँच गराएर डाक्टरको सुझावमा औषधी खरिद गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असार ८, २०८० ९:४९