काठमाडौं । ट्वीटर ह्याक गर्ने एक ह्याकरलाई जेल सजाय सुनाइएको छ । तीन वर्षअघि ट्वीटरको डेटा ब्रिचमा संलग्न जोसेफ जेम्स ओक्नर नामक २४ वर्षीय ह्याकरलाई शुक्रबार न्युयोर्क सङ्घीय अदालतले पाँच वर्षको कैद सजाय सुनाएको हो ।
उनीमाथि कम्प्युटर ह्याकिङ, अनलाइन ठगी र अनलाइन दुर्व्यवहार गरी चार ओटा मुद्दामा दोषी ठहर गरिएको छ । साथै ओक्नर आफ्नो अपराधका पीडितहरूलाई ७ लाख ९४ हजार अमेरिकी डलर जरिवाना तिर्न समेत तयार भएका छन् ।
बेलायती नागरिक ओक्नरलाई अमेरिकाको अनुरोधमा यसै वर्षको सुरुवातमा स्पेनबाट सुपुर्दगी गरिएको थियो, त्यसयता उनी हिरासतमा रहेका थिए । सुनुवाइका क्रममा न्यायाधीश जेड एस रेकोफले भनेका छन् कि ओक्नरले प्रि-ट्रायल हिरासतमा दुई वर्ष बिताएपछि उनको कैद सजाय आधा घट्नेछ ।
ओक्नरले आफ्नो अपराधको बारेमा अदालतमा बयानका क्रममा आफ्नो अपराध 'मुर्ख्याइँ र औचित्यहीन' भएको उल्लेख गर्दै आफ्ना पीडितहरूसँग माफी मागेका थिए । अभियोजनकर्ताका अनुसार ओक्नरले आफ्नो विशेष प्राविधिक सीप तथा दक्षतालाई दुर्भावनापूर्ण प्रयोजनमा लगाउँदै आएका थिए ।
त्यसक्रममा उनले भारी मात्रामा क्रिप्टो करेन्सी चोरी गर्न जटिल किसिमको सिम स्वाइप आक्रमण, ट्वीटर ह्याक, सामाजिक सञ्जाल अकाउन्टहरू हत्याउन कम्प्युटरमा घुसपैठ र एक नाबालिग सहित दुई जना पीडितलाई साइबर दुर्व्यवहार गरेका थिए ।
ओक्नरले ट्वीटरका कर्मचारीहरूमाथि छल गरी ट्वीटरको नेटवर्कमा ह्याकरको समूहलाई एक्सेस दिन फोनमा आधारित सोसल-इन्जिनियरिङ टेक्निक प्रयोग गरेका थिए ।
ट्वीटरको डेटा चोरीमा दोषी ठहर गरिएका अन्य ह्याकरमध्येका एक ग्राहम इभान क्लार्क जो किर्क नामबाट समेत परिचित छन्, उनले ट्वीटर प्रयोगकर्ताका अकाउन्ट हाइज्याक गरी अर्को व्यक्तिलाई दिन उक्त ट्वीटर नेटवर्कको एक्सेस प्रयोग गरी आन्तरिक एड्मिन टुलमा छेडखानी गरेका थिए ।
तत्कालीन समयमा ट्वीटरका दशौं लाख प्रयोगकर्ताको विश्वकै चर्चित हस्तीहरूका अकाउन्टमार्फत आफ्नो टाइमलाइन क्रिप्टोकरेन्सी स्क्यामहरूले भरिएको देखेका थिए ।