close

इन्जिनियरिङको लाइसेन्स परीक्षामा किन फेल हुन्छन् धेरै विद्यार्थी ?

सञ्जीवन राई सञ्जीवन राई

असार १२, २०८० १४:२६

इन्जिनियरिङको लाइसेन्स परीक्षामा किन फेल हुन्छन् धेरै विद्यार्थी ?

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिमालयन कलेजबाट चार वर्षे इन्जिनियरिङ उत्तीर्ण बिकी राज महत अहिले तनावमा छन् । उनले इन्जिनियरिङ व्यवसायी दर्ता (इन्जनियरिङ लाइसेन्स)का लागि सञ्चालन गरिएको दुवै परीक्षा दिए । तर उत्तीर्ण हुन सकेनन् । यसले मानसिक स्वास्थ्यमा असर पारेको उनी सुनाउँछन् । साथै करियरलाई लिएर पनि प्रश्नहरू उब्जिएको उनकाे अनुभव छ ।

तर उनको यो एक्लो व्यक्तिगत व्यथा होइन । अहिले यो व्यथा इन्जिनियरिङ अध्ययन गरेका धेरै विद्यार्थीको साझा भएको छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ (पहिलाे संसाेधन २०७९) लागू भएपछि इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा अनिवार्य गरियो ।

त्यही अनुरूप हालसम्म नेपाल इन्जिनियरिङ परिषद्‌ले दुई ओटा परीक्षा गराइसकेको छ । तर ती परीक्षामा अनुत्तीर्ण हुने संख्या धेरै छ । यस कुराले विभिन्न प्रश्नहरू खडा गरेको छ । पहिलो पटक गत चैत १२ र १३ मा लाइसेन्स परीक्षा सञ्चालन भएको थियो ।

त्यसमा १, १८१ सहभागी भएकामा ५६५ अर्थात् २८.५२ प्रतिशत मात्र उत्तीर्ण भए । कुल आवेदक भने २,००६ थियो । दोस्रो परीक्षा असार ६-८ मा लिइएको थियो । जसमा २,४६८ आवेदक थिए भने २,३७४ ले मात्र योग्य भएका थिए । तीमध्ये ९ जनाको परीक्षा रोकिएको थियो । जसमध्ये ८०१ मात्र उत्तीर्ण भए । यो संख्या प्रतिशतमा ३३.८७ हुन आउँछ ।

कतिपयले यसको कारण नेपालको शिक्षा व्यवस्थालाई लिएका छन् भने कतिले पाठ्यक्रमलाई । उत्तीर्ण विद्यार्थीहरू भने केही मेहनत गर्दा सफल हुने बताउँछन् । तर यो नतिजाले महत्त्वपूर्ण तथा गम्भिर प्रश्नहरू भने उब्जाएको छ ।

परीक्षाको पाठ्यक्रममा समस्या !

परिषद्ले परीक्षा सञ्चालन गर्न केही महिनाअघि सफ्टवेयर इन्जिनियरिङ, इन्फर्मेसन टेक्नाेलाेजी इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ लगायत २१ ओटा इन्जिनियरिङ विषयहरुकाे पाठ्यक्रम प्रकाशन गरेकाे थियो । यी पाठ्यक्रमलाई लिएर यस क्षेत्रका धेरैले प्रश्न उठाइरहेका छन् । उनीहरूले विद्यार्थी उत्तीर्ण दर कम हुनुको कारण परिषद्ले तयार गरेको त्यही पाठ्यक्रमलाई कारक मानेका छन् । 

यो कुरामा पूर्वाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका डीन देवीप्रसाद भट्टराई पनि सहमत छन् । परिषद्को पाठ्यक्रम नै जटिल भएकाे उनकाे बुझाइ छ ।

“स्नातक तहको अन्तिम तीन वर्षको पाठ्यक्रमलाई आधार मानेर परिषद्ले परीक्षाको पाठ्यक्रम तयार पारेको छ । उता विद्यार्थीले एक वर्षको तयारी गरेर परीक्षा दिने गर्छन् । यता भने छोटो समयमा तीन वर्षको कोर्ष पढेर परीक्षा दिनुपर्ने भयो,” उनी भन्छन् ।

त्यस्तै परिषद्को पाठ्यक्रम अनुसार विद्यार्थीले परीक्षाको तयारीका लागि कम समय पाएको उनी सुनाउँछन् । उनी मुख्य कारणमा उत्तीर्ण हुन निर्धारण गरिएको अङ्कलाई मान्छन् ।

“कलेजको परीक्षामा ४० अङ्क ल्याउँदा विद्यार्थी उत्तीर्ण हुन्छन् । तर परिषद्को परीक्षामा ५० अङ्क ल्याउनुपर्छ,” उनी भन्छन्, “कलेजमा ४१ अङ्क ल्याउने विद्यार्थी परिषद्को परीक्षामा त फेल हुने भयो । विद्यार्थी कम उत्तीर्ण हुनुको मुख्य कारण यो हो ।”

त्यस्तै विश्वविद्यालयहरूले फरक-फरक पाठ्य्रकम अध्यापन गराउनु पनि एउटा कारण हुनसक्ने डीन भट्टराईको आँकलन छ । यो कुरालाई मध्यनजर गरेर परिषद्ले काम गर्नुपर्ने उनको भनाइ छ । 

पोखरा विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङ (एसओई)का निर्देशक ओम प्रकाश गिरी भने पहिलो पटकमा विद्यार्थी अन्यौल भएर त्यस्तो नतिजा आउने सुनाउँछन् । कस्तो किसिमको प्रश्न पत्र आउँछ, कहाँ-कहाँबाट प्रश्न आउँछ भन्नेबारे विद्यार्थीलाई थाहा नहुँदा त्यस्तो परिणाम आएको उनकाे तर्क छ । 

तर इन्जिनियरिङ परिषद्का रजिष्ट्रार ई. शिवमंगल गिरी यो कुरा स्वीकार गरे पनि पाठ्यक्रमको कुरा असत्य भएको बताउँछन् । परिषद्ले पूरा तयारी गरेर मात्र परीक्षा सञ्चालन गराएको उनको दाबी छ ।

“पाठ्यक्रम पनि हामीले समयमा नै प्रकाशन गरेका थियौं । कोर विषयको पाठ्यक्रम बनाएका थियौं । हामीले त्यसैबाट प्रश्नपत्र बनाएका थियौं,” उनी भन्छन् । बरु शिक्षण संस्थामा यस प्रकारको परीक्षा दिने बानी नहुनुलाई उनी कारण मान्छन् ।

त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. शशिधरराम जोशी भने पाठ्यक्रमलाई मूल्याङ्कन गर्नुपर्ने भए पनि यसमा त्रुटि नभएको बताउँन् । नियमित उत्तीर्ण हुने विद्यार्थी परीक्षामा सामेल नभएकाले पनि ठ्याक्कै यसबारे विश्लेषण गर्नु उपयुक्त नभएको उनको धारणा छ  । जब नियमित विद्यार्थीहरू परीक्षामा सामेल हुन्छन्, तब मात्र विश्लेषण गर्नुपर्ने उनकाे धारणा छ ।

नेपाली विश्वविद्यालय अब्बल !

इन्जिनियरिङ व्यवसायी दर्ता परीक्षाको नतिजामा देखिएको अर्को तथ्य विदेशमा पढेकाहरूको उत्तीर्ण संख्या स्थानीय विश्वविद्यालयभन्दा निकै कम हुनु हो । विद्यार्थीहरू विदेशमा कस्ता कलेजमा पढे भन्नेले कुराले फरक पार्ने पूर्वाञ्चल विश्वविद्यालयका डीन भट्टराई बताउँछन् ।

विश्वमा धेरै खालका कलेज पाइने भएकाले त्यसले नतिजामा फरक पारेको उनको तर्क छ । तर पोखरा विश्वविद्यालयका एसओईका निर्देशक गिरी भने नेपाली विश्वविद्यालयहरू कमजोर नभएको बताउँछन् । 

काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागका सहप्राध्यापक डा. रविन्द्र विष्ट सबै ठाउँका विद्यार्थीलाई एउटै भाडामा राख्दा नतिजा यस्तो आएको विश्लेषण गर्छन् ।

“कम्प्युटर इन्जिनियरिङमा केयूले सम्बन्धन दिएको छैन । तर अन्य विश्वविद्यालयहरूले सम्बन्धन दिएका सबै कलेजहरूमा एकै स्तरको पढाइ हुँदैन,” उनी भन्छन्, “स्राेत साधन भएकाे र नभएकाे इन्जिनियरिङ कलेजमा पढेका विद्यार्थीको स्तर त पक्कै फरक हुन्छ ।” त्यस्तै विश्वविद्यालय तथा कलेजका कुल उत्तीर्ण विद्यार्थीबाट कति जनाले लाइसेन्स पाए भन्ने कुरा महत्त्वपूर्ण हुने उनको धारणा छ । त्यसले मात्र विश्वविद्यालय तथा कलेजहरूको वास्तविकता थाह हुने उनी सुनाउँछन् ।

पूर्वाञ्चल विश्वविद्यालयका पूर्व विद्यार्थी महत भने कलेज तथा विश्वविद्यालयलाई नियमित अनुगमन नगर्दा यस्तो अवस्था निम्तिएकाे धारणा राख्छन् ।

''यो नतिजा कलेज तथा विश्वविद्यालयलाई कडा प्रश्न हो । विद्यार्थी परीक्षाबाट भाग्न त भएन । तर के कहिले कलेजहरूमा कसरी अध्ययन गराएको छ, ल्याबको कुराहरू के कस्तो छ भने अनुगमन भएको छ ? ती नगरी अहिले लाइसेन्समा मात्र कडाइ गरियो,'' उनी भन्छन् । 

उनले परिषद्को पाठ्यक्रम अनुसार नै परीक्षाको तयारी गरेका थिए । विभिन्न कन्सल्टेन्सी धाएर ‘मक टेस्ट’ पनि दिए । तर ती अनुसारको प्रश्न नआएको उनको गुनासो छ । “कोर्षसँग मिल्ने पाँच/छ ओटा प्रश्न त आए । तर त्यसमा कुन तहको गहिराइ मिसाएको हाे, बुझ्न सकिएन,” उनी भन्छन्, “सुरुको परीक्षामा त तयारी गराउने कुनै किताब पनि थिएन । हामीले जानेको/पढेको कुरालाई ‘बायस’ गर्ने प्रश्न आएका थिए । किन त्यसो गरियो थाहा छैन ।”

यसअघि नेपालमा इन्जिनियरिङ उत्तीर्ण हुनासाथ लाइसेन्स पाइन्थ्यो । तर इन्जिनियरको गुणस्तर अभिवृद्धि गर्न परीक्षा अनिवार्य गरियो । नेपालमा गत भदौमा इन्जिनियरिङ परिषद् ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै इन्जिनियरिङ पास गरेपछि व्यवसाय गर्न परीक्षाको व्यवस्था अनिवार्य भएको हो ।

नेपालमा इन्जिनियरिङ व्यवसाय गर्नेबारे आमसोचाइ गलत भएको परिषद्का रजिष्ट्रार गिरी बताउँछन् । खासमा व्यवसाय भनेको इन्जिनियर आफूले प्राप्त गरेको ज्ञान/सीपलाई प्रयोग गर्नु रहेको उनको भनाइ छ । त्यहीँबाट इन्जिनियरले आयआर्जन गर्ने कुनै पनि काम गर्छ भने त्यसलाई व्यवसाय भनिने उनी प्रष्ट पार्छन् ।

इन्जिनियरिङ व्यवसायी दर्ताको महत्त्व

इन्जिनियरले गर्ने हरेक पेशा इन्जिनियरिङ व्यवसाय दर्ता अन्तर्गत पर्छ । त्यही अनुसार एउटा इन्जिनियर परिषद्मा दर्ता हुनुपर्छ । सरकारले २०५५ बाट यो व्यवस्था सुरु गरेको थियो । यसरी व्यवस्था अनुसार दर्ता हुँदा सरकारसँग इन्जिनियरकाे रेकर्ड बस्ने रजिष्ट्रार गिरी सुनाउँछन् । त्यसरी काम गर्दा सजिलो हुने उनको तर्क छ ।

तर रेकर्ड नहुँदा यो पेशामा व्यवस्थित नहुने र कसले के गर्छ भन्ने थाहै नहुने उनी धारणा राख्छन् । त्यस्तै यो बाध्यकारी व्यवस्थाले विद्यार्थी पढाइप्रति लगनशील हुने उनी विश्वास गर्छन् । अन्तिम परीक्षा उत्तीर्ण हुँदैमा विद्यार्थीले इन्जिनियर बनेँ भन्ने सोच्न नहुने उनकाे तर्क छ । बरु विद्यार्थी थप मेहनती, लगनशील हुनुपर्ने उनकाे सुझाव छ ।

परीक्षाको आवश्यकता

समाजमा प्रतिष्ठित पेशामध्ये इन्जिनियरिङ पनि एक हो । विद्यार्थीले त्यही अनुसारको ज्ञान तथा सीप हासिल गरेनन् भने भविष्य राम्रो हुँदैन । साथै राम्रो काम पाउँदैनन् । अहिले पढाइको बारेका सोचहरू पनि परिवर्तन भइरहेको छ । त्यही भएर यो पेशालाई अलि मर्यादित बनाउन, गुणस्तर अभिवृद्धि गर्न र  गुणस्तरको मापन गर्न यो परीक्षाको व्यवस्था गरिएको  रजिष्ट्रार गिरी सुनाउँछन् । परीक्षाको उद्देश्य कसैलाई कसैलाई फेल गराउने भने नरहेको उनी स्पष्ट हुन्छन् ।

पछिल्लो अध्यावधिक: असार १२, २०८० १६:५३