close

नेपालमा इन्जिनियरिङ पढ्न कति लाग्छ शुल्क ?

सञ्जीवन राई सञ्जीवन राई

साउन २६, २०८० २१:५१

नेपालमा इन्जिनियरिङ पढ्न कति लाग्छ शुल्क ?

काठमाडाैँ । नेपाल इन्जिनियरिङ काउन्सिल (एनईसी)का अनुसार देशमा ५७ प्रकारका इन्जिनियर दर्ता भएका छन् । यद्यपि नेपालमा एक दर्जन जति इन्जिनियरिङ कोर्ष मात्र सञ्चालन हुने गरेको छ । अझ सूचना प्रविधि (आईटी)सँग सम्बन्धित इन्जिनियरिङ विषय त केही मात्र सञ्चालनमा छन् । तर यी सबै इन्जिनियरिङ कोर्षको शुल्क पनि विश्वविद्यालय अनुसार फरक फरक पाइन्छ । अझ विश्वविद्यालयको नै आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा पनि उही कोर्षको शुल्कमा अन्तर हुने गरेको छ ।

इन्जिनियरिङ पेशा र शिक्षामा योजना बनाउन, विकास गर्न र अनुगमन गर्न वैधानिक रूपमा एनईसीको स्थापना गरिएको छ । तर विश्वविद्यालयले बनाउने कोर्षको पाठ्यक्रम र तोक्ने शुल्कमा आफ्नो कुनै पनि भूमिका नहुने र ती काम विश्वविद्यालय स्वयंले गर्न सक्ने एनईसीका रजिष्टार शिव मङ्गल गिरी बताउँछन् । यद्यपि त्यहाँबाट उत्तीर्ण हुने इन्जिनियरहरूको दर्ता गर्ने, उनीहरूको हकहितका लागि पक्ष लिने काम भने एनईसीले गर्ने उनी सुनाउँछन् । 

यता देशमा उच्च शिक्षाको गुणस्तर प्रवर्द्धन, सहजीकरण, अभिवृद्धि गर्न विश्वविद्यालय अनुदान आयोग (यूजीसी) स्थापना गरिएको छ । आयोगले पनि विश्वविद्यालयहरूले लिने शुल्कमा कुनै पनि नियमन नगर्ने सचिव शङ्करप्रसाद भण्डारी बताउँछन् । बरु गुणस्तर मापन गर्ने, विश्वविद्यालयहरूलाई विश्वव्यापी मापदण्डअनुसार विकास गर्न सहयोग गर्ने जस्ता काम गर्ने उनको भनाइ छ ।

विश्वविद्यालयहरूको आ-आफ्नै ऐन‍ कानून हुन्छ । त्यसैमा आधारित भएर उनीहरूले आफ्नो विभिन्न क्रियाकलापहरू सञ्चालन गर्ने गर्छन् । यसकारण विश्वविद्यालयहरूले आफू अनुकूलका कोर्ष बनाउन, सञ्चालन गर्न, ती कोर्षको शुल्क तोक्न सक्छन् । कुनै पनि विश्वविद्यालयहरूले सम्बन्धन दिएका कलेजहरूले पनि आफू अनुकूल शुल्क तोक्न सक्छन् । यसकारण पनि नेपालमा इन्जिनियरिङका कोर्षको शुल्कमा एकरूपता नहुने जानकार बताउँछन् । 

विश्वविद्यालयले कत्तिको गुणस्तरीय शिक्षा दिएको छ, कोर्षमा कसरी प्रयोगात्मक कक्षा हुन्छन्, कस्ता फ्याकल्टी (शिक्षक/शिक्षिका) ले अध्यापन गराउँछन्, भौतिक संरचना कस्ता छन् भन्ने कुराका आधारमा कोर्षको शुल्क फरक हुने काठमाडौं विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङका डीन प्रा. डा. मनिष पोखरेल बताउँछन् ।

“झट्ट हेर्दा अन्य विश्वविद्यालयले भन्दा केयूले महँगो शुल्क लिएको देखिन्छ,” उनी भन्छन्, “तर ती विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरूले हामीले भन्दा धेरै बढी शुल्क लिने गरेका छन् । नेपालमा केयूले बढी शुल्क लिन्छ भन्ने जनमानसमा एउटा भ्रम छ । जुन गलत हो ।”

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका डीन प्रा. ई. देवी प्रसाद भट्टराई पनि पाेखरेलकाे कुरामा सहमत देखिन्छन् । उनका अनुसार कोर्ष सञ्चालन गर्ने कलेजको स्थान, कोर्षको महत्त्व आदिले समेत शुल्कमा प्रभाव पार्ने गर्छ । सम्बन्धन पाएको कलेजहरूले भने आफू अनुकूल शुल्क लिन पाउने र त्यसमा विश्वविद्यालयको भूमिका नहुने उनको भनाइ छ ।  

आज हामी कुन-कुन विश्वविद्यालयले कस्ता कस्ता इन्जिनियरिङ कोर्ष चलाइरहेका छन् र तिनको शुल्क कति छ भन्ने विषयमा जानकारी दिँदै छौं:

कम्प्युटर इन्जिनियरिङ 

नेपालमा याे कोर्ष त्रिभुवन विश्वविद्यालय, काठमाडाैं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा सञ्चालन भइरहेकाे छ ।

त्रिविकाे आङ्गिक र सम्बन्धनप्राप्त १४ कलेजहरुमा याे काेर्ष सञ्चालनमा छ, जहाँ याे काेर्ष प् ३ देखि ९ लाख रुपैयाँसम्म लाग्छ । यद्यपि यो त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले यो शैक्षिक सत्रबाट सबै इन्जिनियरिङ कोर्षको शुल्क बढाउने निर्णय गरेको छ ।

यदि आईओईले शुल्क बढाए न्यूनतम ती कोर्षको शुल्क साढे सात लाख हुनेछ । त्यस्तै  पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत आङ्गिक तथा सम्बन्धन प्राप्त सात कलेजहरुले याे कार्यक्रम अध्यापन गराइरहेका छन् ।

ती कलेजहरूमा अध्ययन गर्न छ देखि १० लाख रुपैयाँसम्म शुल्क लाग्छ । याे काेर्ष गर्न काठमाडाैं विश्वविद्यालय, पाेखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूर पश्चिम विश्वविद्यालयमा क्रमशः आठ लाख ५० हजार, छ देखि १० लाख, चार लाख ७३ हजार र तीन लाख रुपैयाँ लाग्छ । 

इलेक्ट्राेनिक्स, कम्युनिकेसन एण्ड इन्फरमेसन इन्जिनियरिङ

त्रिभुवन विश्वविद्यालयकाे आङ्गिक र सम्बन्धनप्राप्त १२ कलेजहरूमा यसकाे पढाइ हुन्छ । आङ्गिक क्याम्पसहरूमा याे काेर्ष गर्न साढे तीनदेखि छ लाखसम्म र निजी कलेजहरूमा छ लाखदेखि नाै लाखसम्म लाग्छ ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयले ‘ब्याचलर इन इलेक्ट्राेनिक्स, कम्युनिकेसन एण्ड अटाेमेसन इन्जिनियरिङ’ नाम राखेर यो कोर्ष सञ्चालन गरिरहेको छ । यस विश्वविद्यालयकाे आङ्गिक र सम्बन्धन प्राप्त पाँच कलेजहरूमा याे कोर्ष अध्ययन गर्न ६-९ लाख रुपैयाँसम्म लाग्छ । 

इलेक्ट्रिकल इन्जिनियरिङ

नेपालमा यो कोर्ष त्रिभुवन विश्वविद्यालको आङ्गिक र सम्बन्धनप्राप्त कलेजहरूमा सञ्चालन भइरहेको छ । यसको शुल्क कलेज अनुसार तीनदेखि नाै लाख रुपैयाँसम्म रहेको छ ।

यहीसँग समान काेर्ष काठमाडाैं विश्वविद्यालयले ‘इलेक्ट्रिकल एण्ड इलेक्ट्राेनिक्स इन्जिनियरिङ’ विथ स्पेसलाजेसन इन पावर एण्ड कन्ट्राेल अर कम्युनिकेसन’ चलाइरहेको छ ।

याे काेर्ष गर्न आठ लाख ५० हजार रुपैयाँ लाग्छ । त्यस्तै पोखरा विश्वविद्यालयले ‘बीई इलेक्ट्राेनिक्स एण्ड कम्युनिकेसन’ नाम राखेर उस्तै याे काेर्ष सञ्चालन गरिरहेकाे छ । यस विश्वविद्यालयकाे आङ्गिक र सम्बन्धनप्राप्त ६ कलेजहरूमा अध्ययन गर्न ६-८ लाख रुपैयाँसम्म लाग्छ ।

मोरङ जिल्लामा अवस्थित मनमोहन प्राविधिक विश्वविद्यालयले समेत ‘इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ’ कोर्ष चलाइरहेको छ । विश्वविद्यालयले यस कोर्षको शुल्क पाँच लाख ७५ हजार रुपैयाँ लिने गरेको छ ।

सफ्टवेयर इन्जिनियरिङ

पोखरा विश्वविद्यालयकाे आङ्गिक र सम्बन्धन प्राप्त तीन कलेजहरूमा याे विषय सञ्चालनमा छ । याे विषय अध्ययन गर्न पाँचदेखि नाै लाख रुपैयाँसम्म लाग्छ ।

आफ्नै केन्द्रीय क्याम्पसमा भने विश्वविद्यालयले यो कोर्षको शुल्क पाँच लाख ८७ हजार रुपैयाँ लिने गर्छ ।

बी टेक इन् इन्भाइराेमेन्टल इन्जिनियरिङ

काठमाडाैं विश्वविद्यालयकाे इन्भाइराेमेन्टल साइन्स एन्ड इन्जिनियरिङ विभाग अन्तर्गत रहेर याे विषय सञ्चालन भइरहेकाे छ । याे चार वर्षे कोर्षकाे शुल्क साढे ८ लाख रुपैयाँ रहेकाे छ ।  

समग्रमा नेपाली विश्वविद्यालयले सञ्चालन गरिरहेका इन्जिनियरिङ कोर्षको शुल्क तीनदेखि लिएर १३/१४ लाख रुपैयाँ पर्ने देखिन्छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस र आङ्गिक क्याम्पसको तुलनामा सम्बन्धन प्राप्त कलेजहरूमा सोही कोर्षको शुल्क बढी हुने गरेको पाइन्छ ।

इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूमध्ये निर्धारित निश्चितलाई विश्वविद्यालय तथा कलेजले छात्रवृत्ति उपलब्ध गराउने गर्छन् । 

नेपालमा विश्वविद्यालयले सञ्चालन गर्ने इन्जिनियरिङ कोर्ष र तिनको शुल्क (आङ्गिक कलेज) तल तालिकामा समेत दिइएको छ । यसलाई विश्वविद्यालयहरूले सार्वजनिक गरेपनि सम्बन्धन प्राप्त कलेजहरूकाे शुल्कसँग नमिल्न सक्छ ।
 

क्र.स

विश्वविद्यालय

कोर्ष

शुल्क (रुपैयाँमा)

१. 

त्रिभुवन विश्वविद्यालय

-कम्प्युटर इन्जिनियरिङ 

-इलेक्ट्राेनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ

-इलेक्ट्रिकल इन्जिनियरिङ

-मेकानिकल इन्जिनियरिङ

-एरोस्पेस इन्जिनियरिङ

-केमिकल इन्जिनियरिङ

-इन्डस्ट्रियल इन्जिनियरिङ 

-जियोम्याटिक्स इन्जिनियरिङ 

-एग्रीकल्चर इन्जिनियरिङ 

-अटोमोबाइल इन्जिनियरिङ

-आर्किटेक्चर इन्जिनियरिङ 

-सिभिल इन्जिनियरिङ

३ देखि ९ लाख रुपैयाँसम्म

(आर्किटेक्चर र एरोस्पेसको शुल्क भने अरु इन्जिनियरिङको भन्दा बढी हुने गरेको छ)

२.

पूर्वाञ्चल विश्वविद्यालय

-कम्प्युटर इन्जिनियरिङ

-इलेक्ट्रिकल इन्जिनियरिङ

-इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ

-जियोम्याटिक्स इन्जिनियरिङ

-सिभिल इन्जिनियरिङ

-आर्किटेक्चर इन्जिनियरिङ

 

साढे पाँच लाख

 

(आर्किटेक्चर इन्जिनियरिङ अन्यको भन्दा बढी हुने गरेको छ ।)

काठमाडौं विश्वविद्यालय

-जियोम्याटिक्स इन्जिनियरिङ

-कम्प्युटर इन्जिनियरिङ

-माइनिङ इन्जिनियरिङ

-सिभिल इन्जिनियरिङ

-आर्किटेक्चर इन्जिनियरिङ

-इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ

-मेकानिकल इन्जिनियरिङ

-केमिकल इन्जिनियरिङ

 

साढे ८ लाख

 

(आर्किटेक्चर इन्जिनियरिङकोको भने ९ लाख ७० हजार छ)

 

४. 

पोखरा विश्वविद्यालय

-सिभिल इन्जिनियरिङ

-सिभिल एन्ड रुरल इन्जिनियरिङ

 

-कम्प्युटर इन्जिनियरिङ 

-सफ्टवेयर इन्जिनियरिङ 

-इलेक्ट्राेनिक्स एण्ड कम्युनिकेसन

६ लाख २३ हजार

६ लाख २३ हजार

 

५ लाख ८७ हजार

५ लाख ८७ हजार

५ लाख ८७ हजार

५.

मध्य पश्चिम विश्वविद्यालय

-सिभिल इन्जिनियरिङ

-हाइड्रोपावर इन्जिनियरिङ

-कम्प्युटर इन्जिनियरिङ

४ लाख ८७ हजार

६.

सुदूर पश्चिमाञ्चल विश्वविद्यालय

-कम्प्युटर इन्जिनियरिङ 

-सिभिल इन्जिनियरिङ

३ लाख

७.

मन मोहन प्राविधिक विश्वविद्यालय

-सिभिल इन्जिनियरिङ

-इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ

५ लाख ७५ हजार

पछिल्लो अध्यावधिक: साउन २६, २०८० २२:१९