काठमाडौं । फेसबुकमा आफ्ना भिडिओ रेकर्ड गरी दुरुपयोग हुन थालेपछि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले तुरुन्तै प्रहरीमा उजुरी दिने बताएका छन् । पुराना भिडिओ डाउनलोड गरी नक्कली अकाउन्टबाट लाइभ भइरहेको जस्तो देखाएर ठगी कार्य भइरहेको थाहा पाएपछि राईले यस्तो बताएका हुन् ।
टेकपानासँग कुरा गर्दै मेयर राईले भने, “यसअघि त्यसरी भिडिओ दुरुपयोग भएको कुरा मेरो जानकारीमा आएको थिएन,” उनले भने, “कसरी दुरुपयोग भइरहेका छन् भन्ने कुरा जाँच गरी तत्कालै प्रहरीमा रिपोर्ट गर्छु ।”
स्क्यामर सबैभन्दा पहिला सामाजिक सञ्जालमा लाइभ भिडिओ राखेका चर्चित व्यक्तिलाई निशाना बनाउँछन् । उनीहरूकै नाममा फेक आईडी खोल्छन् ।
त्यसपछि लाइभ गरिएका भिडिओ डाउनलोड गर्छेर त्यसलाई एडिट गरी छेउमा भिडिओ प्ले गर्छन् र लाइभ जस्तो देखाउन ब्लर गरिएको कुनै सङ्ख्या राख्छन् । केहीमा भने छेउमा रकम समेत उल्लेख गरिएको हुन्छ ।
“'इट्स रियल' तस्विरमा रहेको नम्बर अनुमान गर्ने पहिलो ५०० जनाले ९५०,००० पुरस्कार पाउने भन्दै प्रलोभन देखाइएको हुन्छ । जसलाई लाइभ भिडिओको क्याप्सनमा राखिएको हुन्छ ।
यसरी भिडिओ लाइभ भइरहेको जस्तो देखाएर ठगहरूले कमेन्ट गर्नेहरूलाई भिडिओ १५ वा २० ओटा ग्रुपमा शेयर गर्न लगाउँछन् । भिडिओ ग्रुपमा शेयर गर्ने वा छेउमा देखिएको नम्बर कमेन्ट गर्नेलाई स्क्यामरले लिङ्क पठाएर त्यसमा क्लिक गर्न लगाउँछन् । त्यसपछि उनीहरूले बिच्छ्याएको जालमा प्रयोगकर्तालाई फसाइन्छ ।