काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमा आफ्नो नामको नक्कली अकाउन्ट बनाउनेलाई कारबाही हुन थालेकाे बताएका छन् । फेसुबक पेजमा एक पोस्ट गर्दै साम्पाङले नक्कली अकाउन्ट खाेल्नेविरूद्ध कारबाही भइरहेकाे उल्लेख गरे ।
''मेरो नामको फेक आईडी, ग्रुप र पेज खोलेर छाडा अश्लील फोटाेहरू पोष्ट गर्नेहरूलाई धमाधम कारबाही हुँदैछ !'' उनले भने । तर कुन प्रक्रियाबाट कसरी कारबाही भइरहेकाे छ भन्ने विषयमा भने उनले खुलाएका छैनन् ।
उनको नाममा सामाजिक सञ्जालमा नक्कली अकाउन्ट, ग्रुप तथा पेज बनाएर त्यसमा अश्लील फोटो/भिडिओ पोष्ट गर्ने क्रम बढिरहेको छ । सामाजिक सञ्जालमा उनको नाममा खोलिएका थुप्रै नक्कली अकाउन्ट, ग्रुप तथा पेज भेटिन्छन् ।
तीमध्ये केहीमा मेयर साम्पाङले गर्ने पोष्टहरू पुन: पोष्ट गरेको देख्न सकिन्छ भने अन्यमा अनावश्यक सामग्रीहरू पाेस्ट भएकाे भेटिन्छ । उनले पटक-पटक चेतावनी दिँदा पनि यो क्रम घटेको छैन ।