close

थ्रेड्स एपमाथि मुद्दा हाल्ने एलन मस्कको चेतावनी

टेकपाना टेकपाना

असार २२, २०८० ९:५६

थ्रेड्स एपमाथि मुद्दा हाल्ने एलन मस्कको चेतावनी

काठमाडौं । आफ्ना पूर्व कर्मचारी काममा राखेर ट्वीटर जस्तै एप बनाएको आरोपमा एक्स कर्पोरेसनले मेटा विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ । 

ट्विटरको प्रतिनिधित्व गर्ने वकिल एलेक्स स्पिरोले  बुधबार मेटाका सीईओ मार्क जुकरबर्गलाई एउटा पत्र पठाएका थिए । जसमा मेटालाई ट्विटरका पूर्व कर्मचारी काममा राखेर दुरुस्तै ट्वीटर जस्तै एप बनाउन कम्पनीको ‘ट्रेड सिक्रेट’ र निकै संवेदनशील जानकारी चोरेको आरोप लगाइएको छ । 

"मेटा प्लेटफर्म ट्विटरको ‘ट्रेड सिक्रेट’ र अन्य बौद्धिक सम्पत्तिको व्यवस्थित, जानाजानी र गैरकानूनी दुरुपयोगमा संलग्न भएकोमा ट्वीटरले गम्भिर चिन्ता व्यक्त गरेको छ," ट्विटरका वकिलले पठाएको दुई पेज लामो पत्रमा लेखिएको छ । 

त्यस्तै थ्रेड्सले ट्वीटरको डेटा चोरी गरेको समेत आरोप लगाइएको छ । त्यसमा पनि विशेषगरी ट्वीटर प्रयोगकर्ताको फलोअरको जानकारी चोरेको उल्लेख गरिएको छ । 

मेटालाई पठाइएको पत्रमा ट्वीटरले आफ्नो कम्पनीको ट्रेड सिक्रेट प्रयोग नगर्न माग गरेको छ । त्यसो नगरेको खण्डमा मुद्दा हाल्ने चेतावनी दिइएको छ । 

ट्वीटरको समचार प्रकाशित गर्ने प्लेटफर्म टिटर डेलीले शुक्रबार मेटाविरुद्ध मुद्दा हाल्ने धम्की दिइएको सूचना राखेको थियो । उक्त सूचनाको रिप्लाई दिँदै ट्वीटरका मालिक एलन मस्कले लेखेका छन्, “प्रतिस्पर्धा ठीक छ, चोरी होइन ।”

मेटाले ट्वीटर जस्तै एप बनाएपछि अहिले मस्कले ट्वीटरका कर्मचारी हटाएकोमा माफी मागेको ट्वीट भाइरल छ । “यी बौद्धिक व्यक्तिहरूलाई बर्खास्त गरेकोमा म माफी माग्न चाहन्छु । उनीहरूको अद्भूत प्रतिभा निस्सन्देह अन्यत्र क्षेत्रमा काम लाग्नेछ,” १५ नोभेम्बर २०२२ मा मस्कले लेखेका थिए ।

यसअघि एलन मस्क र मार्क जुकरबर्गको केज फाइट हुने चर्चा थियो । अब फाइट कुनै रिङमा नभइ अदालतमा हुने सङ्केत देखिएको छ । मेटाले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

पछिल्लो अध्यावधिक: असार २२, २०८० ९:५६