close

कक्षा ११-१२ मा किन पढ्ने कम्प्युटर विज्ञान ?

सञ्जीवन राई सञ्जीवन राई

असार २६, २०८० १६:४०

कक्षा ११-१२ मा किन पढ्ने कम्प्युटर विज्ञान ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरिसकेको छ । अब विद्यार्थीहरू कक्षा ११ मा भर्ना हुन्छन् । उनीहरूले कक्षा ११/१२ मा ६ ओटा विषय पढ्नुपर्छ । जसमा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित अनिवार्य विषय हुन् । 

यी बाहेक तीन ऐच्छिक विषय छनोट गर्नुपर्ने हुन्छ । तर विद्यार्थीले चाहे चौंथो ऐच्छिक विषय पनि पढ्न सक्छन् । यसका लागि कक्षा ११ मा पढ्नुपर्ने ऐच्छिक विषयहरूलाई चार समूहमा वर्गीकरण गरिएको छ ।

कतिपय विद्यालयले भने शिक्षक तथा स्रोत अभावका कारण सबै समूहबाट ऐच्छिक विषय पढाउन पाउँदैनन् । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लागू भएसँगै कक्षा ११ मा २०७७ देखि नयाँ पाठ्यक्रम लागू भयो । योसँगै कक्षा ११ मा सङ्कायको व्यवस्था हट्यो । यसकारण विद्यार्थीले विषय छनोट गर्दा उच्च शिक्षामा कुन सङ्काय पढ्ने, त्यही अनुसारको विषय चयन गर्नुपर्छ । 

एसईईपछि साधारण, प्राविधिक र परम्परागत शिक्षामा आधारित विषयहरू विद्यार्थीले पढ्न सक्छन् । यसबाहेक क्याम्ब्रिज विश्वविद्यालयको  ‘ए लेभल’ पनि पढ्न सक्छन् । विद्यार्थीले प्रत्येक ऐच्छिक समूहबाट आफूले पढ्ने एकएक ओटा विषयहरू चयन गर्नुपर्ने हुन्छ ।

कम्प्युटरमा रुचि भएका विद्यार्थीले अन्य तीन समूहबाट फरक फरक विषय लिएर कम्प्युटर पनि लिन सक्छन् । यसरी समूहबाट ऐच्छिक विषय लिँदा एउटै समूहभित्र भएका दुई विषयहरू भने लिनुहुँदैन । त्यसो भए पछि परीक्षा दिँदा समस्या हुन्छ । 

नेपालमा आधारभूत तहदेखि नै कम्प्युटर विषयको पढाइ हुन्छ । प्राविधिक ज्ञान तथा सीप भएका विद्यार्थी उत्पादन गर्न तल्लो तहबाट नै कम्प्युटर विषय समावेश गरिएको हो । त्यही अनुरूप कक्षा ११ र १२ मा पनि ऐच्छिक कम्प्युटर राखिएको छ ।

यो विषयमा सैद्धान्तिक र प्रयोगात्मक दुवै किसिमका कक्षा हुने गर्छन् । विद्यार्थीमा जीवनोपयोगी सीप विकास गराउनु यो कोर्षको उद्देश्य छ । 

कस्ता छन् पढाइने विषय ?

विद्यालय तहको कम्प्युटर विषयमा भएका कतिपय आधारभूत कुराहरू यसमा पनि दोहोरिएका छन् । तर विषयवस्तुको दायर भने गहिरो भएको छ । कक्षा ११ को ऐच्छिक कम्प्युटरमा कम्प्युटर सिस्टम, नम्बर सिस्टम एन्ड कन्भर्सेसन  बुलियन लजिक, इन्फरमेसन सेक्युरिटी एन्ड साइबर ल, मल्टिमिडिया, वेब टेक्नोलोजी लगायतका विषय छन् ।

यसमा सी प्रोग्रामिङ, एचटीएमएल, सीएसएस जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेज छन् । कक्षा १२ भने डेटाबेस म्यानेजमेन्ट सिस्टम, नेटवर्क एन्ड डेटा कम्युनिकेसन, वेब टेक्नोलोजी (सीएसएस, जाभास्क्रिप्ट, पीएचपी), अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ कन्सेप्ट, सफ्टवेयर प्रोसेस मोडल, रिसेन्ट ट्रेन्ड इन आईसीटी जस्ता विषयवस्तु छन् ।

कम्प्युटर विषयमा सैद्धान्तिक बाहेक प्रयोगात्मक कक्षा पनि छ । त्यसले विद्यार्थीको सीप पनि विकास हुने गर्छ । 

पढेपछि भविष्य 

कक्षा ११/१२ मा ऐच्छिक कम्प्युटर लिँदैमा भविष्य भने बन्दैन । त्यसपछि पनि विद्यार्थीले थप उच्च शिक्षा लिनुपर्ने हुन्छ । यस बेला कम्प्युटर लिँदा भने आईटी पढ्ने विद्यार्थीलाई सहयोग पुग्छ । खासमा यसबेला जागिरमुखी भएर भन्दा पनि आफ्नो करियरलाई सहयोग गर्छ भनेर विषय चयन गर्नुपर्ने हुन्छ ।

एसईईपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सञ्चालन गर्ने तीन वर्षे डिप्लोमा र १८ महिने प्रि–डिप्लोमा आईटी पढ्दा भने अवसर पाइन्छ ।

यसरी डिप्लोमा तह उत्तीर्ण विद्यार्थीले भने नेपाल सरकारको राजपत्र अंकित (नन-अफिसर) पाँचौ तहसम्म र प्रि-डिप्लोमा चौंथो तहसम्म भिड्न पाउँछन् । तर पाठ्यक्रम परिमार्जन, शिक्षक अभाव, भौतिक पूर्वाधारको कमी लगायतका धेरै समस्याले प्रभावकारितामा भने असर पुर्‍याइरहेको छ । 

ऐच्छिक समूहमा रहेका विषय 

सङ्कायको व्यवस्था हटेपनि फरक फरक समूहबाट भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान लिएर विद्यार्थी पढ्छन् ।

त्यस्तै पहिलेका व्यवस्थापन, कानून सङ्काय पढ्नेले पनि त्यसै अनुसारका विषय छान्छन् । ऐच्छिक समूहमा रहेका केही विषय त्यस्ता छन्: 

-पहिलो ऐच्छिक

यसमा भौतिक विज्ञान, लेखाविधि, ग्रामीण विकास, विधिशास्त्र र कानूनी सिद्धान्त, चित्रकला, मनोविज्ञान जस्ता विषय राखिएका छन् ।

-दोस्रो ऐच्छिक

जीव विज्ञान, शिक्षा र विकास, भूगोल, कार्यविधि कानून, समाजशास्त्र जस्ता विषयहरू यसमा छन् ।

-तेस्रो ऐच्छिक

यसमा रसायन विज्ञान, अर्थशास्त्र, पर्यटन र पर्वतारोहण अध्ययन, बजारशास्त्र लगायतका अन्य विषय राखिएको छ ।

-चौंथाे ऐच्छिक

गणित, प्रायोगिक (अप्लाइड) गणित, वाणिज्य (बिजनेस) गणित, मानव अधिकार, पुस्तकालय तथा सूचना विज्ञान, वातावरण विज्ञान, साधारण कानून, वित्त शास्त्र, सहकारी व्यवस्थापन, बौद्ध अध्ययन, मूर्तिकला, गायन, कम्प्युटर विज्ञान जस्ता विषय राखिएका छन् ।

यो पनि पढ्नुहोस्

एसईईमा कुन ग्रेड ल्याएका विद्यार्थीले के पढ्न पाउँछन् ?

पछिल्लो अध्यावधिक: असार २६, २०८० १६:५३