close

बर्दीमा टिकटक बनाउने २०८ प्रहरीलाई कारबाही

टेकपाना टेकपाना

असार २९, २०८० १५:२

बर्दीमा टिकटक बनाउने २०८ प्रहरीलाई कारबाही

काठमाडौं । बर्दीमै टिकटक भिडिओ बनाउने २०८ प्रहरीलाई प्रहरी प्रधान कार्यालयले कारबाही गरेको छ । २०७७ देखि चालू आर्थिक वर्षको असार २२ गतेसम्म कार्यालयले बर्दी लगाएर टिकटक भिडिओ बनाउने प्रहरीलाई विभागीय कारबाही गरेको हो ।

२०७७ असोजदेखि प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने बताएको थियो । त्यही अन्तर्गत अनुशासन पालन नगर्ने प्रहरीलाई कारवाही गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ८२, २०७८/७९ मा ३० र २०७९/८० मा ९६ गरी तीन वर्षको अवधिमा २०८ जनालाई विभागीय कारबाही गरिएको छ ।

“कहिलेकाहीँ सामाजिक सञ्जालमा आउँछ । त्यसबाट पनि छानबिन हुन्छ,” उनले भने, “हाम्रो यहाँ मनिटरिङ एजेन्सी छ त्यसबाट पनि मनिटर गर्छौं । त्यसपछि सम्बन्धित कार्यालयलाई पत्राचार गरी कारवाही गर्न निर्देशन दिन्छौं ।”

बर्दीमै टिकटक भिडिओ बनाउनेलाई विभागीय कारवाही अन्तर्गत सबैभन्दा पहिले सचेत गराउने गरिएको उनले सुनाए । उनले अगाडि भने, “विभागीय कारवाहीमा सचेत गर्नेदेखि नसेद गर्ने, उसको प्रमोसन रोक्का गर्ने, ग्रेड रोक्का गर्ने त्यो लगायत अन्य थुप्रै किसिमका कारवाही छन् ।”

पछिल्लो अध्यावधिक: असार २९, २०८० १५:२