close

उपयुक्त नयाँ लोगो भेटिए आज रातिबाटै ट्वीटरको चरा हटाउने एलन मस्कको घोषणा

टेकपाना टेकपाना

साउन ७, २०८० १७:४५

उपयुक्त नयाँ लोगो भेटिए आज रातिबाटै ट्वीटरको चरा हटाउने एलन मस्कको घोषणा

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको उपयुक्त नयाँ लोगो फेला परे आजदेखि नै चरालाई बिदा गर्ने घोषणा गरेका छन् ।  उनका अनुसार त्यस्तो अवस्थामा नयाँ लोगो आज रातिदेखि लाइभ हुनेछ । 

उनले आइतबार बिहान एक ट्वीट राख्दै ट्वीटरको चरालाई बिदाइ गर्न लागेको जानकारी गराएका थिए । त्यसपछि उनी बारम्बार ट्वीटरको नयाँ लोगोबारे ट्वीट पोस्ट गरिरहेका छन् ।
मस्कले आइतबार बिहान एउटा ट्वीटमा ट्वीटरलाई कालो रङ्गको बनाउने उल्लेख गरेका थिए । त्यस लगत्तै उनले एक भोटिङ पोल राख्दै ट्वीटरको डिफल्ट कलर कालो राख्ने कि नराख्ने भनी सोधेका थिए । 

यो समाचार तयार पार्दासम्म भोटिङ गर्न १६ घण्टा बाँकी छ । जसमा अधिकांश अर्थात ७५ प्रतिशतले कालो हुनुपर्ने सुझाव दिएका थिए । 

त्यसपछि अर्को ट्वीट गर्दै मस्कले ट्वीटरको चरा र अन्य सबै चरालाई बिदाइ गर्न लागेको उल्लेख गरे । 

त्यस लगत्तै अर्को ट्वीटमा उनले लेखे, “आज राति उपयुक्त एक्स लोगो पोस्ट भयो भने हामी भोलि उक्त लोगोलाई विश्वभर लाइभ गर्नेछौंं ।” मस्कको सो ट्वीटको रिप्लाई दिँदै थुप्रै प्रयोगकर्ताले ट्वीटरको नयाँ लोगोका लागि सुझाव दिने क्रम सुरु भएको छ ।

अहिले मस्कले सवेर मेरियट (Sawyer Merritt) युजरनेम भएका प्रयोगकर्ताले बनाएको एक्सको एनिमेसन आफ्नो ह्यान्डलमा पिन गरेका छन् ।
सम्भवतः ट्वीटरको नयाँ लोगो त्यही एक्स हुने अपेक्षा गरिएको छ । यद्यपि मस्कले खोजेको जस्तो अर्को लोगो भेटिएको अवस्थामा पिन गरिएको लोगो नै ट्वीटरको लोगो नहुन सक्छ ।

नेपाली समय अनुसार दिउसो पौने चार बजे मस्कले एक्स र टेस्लाको लोगो भएको ब्यानरअघि उभिएर खिचेको फोटो ट्वीट गरेका थिए । सोही फोटोमा पनि उनले आफ्ना दुई हातले एक्स अक्षरको आकार बनाएका छन् ।

सो फोटोको क्याप्सनमा उनले लेखेका छन्, “कुन सूक्ष्म सुरागहरूले यो बाटो दियो निश्चित छैन, तर मलाई अक्षर एक्स ‘X’ मन पर्छ । उनले एक्सका लागि परम्परागत शैलीको ‘आर्ट डेको’ शैलीमा हुनुपर्ने बताएका छन् ।

गत वर्ष अक्टोबरमा मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका थिए । त्यसपछि उक्त प्लेटफर्म विभिन्न कारणले विवादित बन्दै आएको छ ।

मस्कले हालै विज्ञापनबाट हुने ट्वीटरको आम्दानी ५० प्रतिशतले घटेको बताएका थिए । अहिले पुनः ट्वीटरको लोगो परिवर्तन हुने  कुराले चर्चा पाएको छ । सम्भवतः आज राति एक्स अक्षरबाट सुरु हुने ट्वीटरको नयाँ लोगो देख्न सकिनेछ । 

 

पछिल्लो अध्यावधिक: साउन ७, २०८० १७:४५