close

नेपालमै किनेको फोन एमडीएमएसमा दर्ता गर्न पैसा नलाग्ने, उल्टै व्यापारीमाथि तस्करीको मुद्दा चल्ने

टेकपाना टेकपाना

साउन १२, २०८० १९:६

नेपालमै किनेको फोन एमडीएमएसमा दर्ता गर्न पैसा नलाग्ने, उल्टै व्यापारीमाथि तस्करीको मुद्दा चल्ने

काठमाडौं । नेपालमै किनेको मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभए व्यापारीमाथि कारबाही हुने भएको छ । देशभित्र खरिद गरेको मोबाइल एमडीएमएसमा दर्ता नभए त्यो स्वतः तस्करी गरी ल्याएको ठहर्ने भन्दै भन्सार विभागले कारबाही हुने प्रष्ट पारेको हो । 

सरकारले आर्थिक ऐन मार्फत दर्ता नभई भदौ २०७९ देखि १५ जेठ २०८० को अवधिमा नेपालभित्र प्रयोगमा आएका मोबाइल शुल्क तिरी एमडीएमएसमा दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।

जसअनुसार आईफोन र एक लाख रुपैयाँभन्दा बढी मूल्यका फोनहरूका लागि प्रति सेट १० हजार रुपैयाँ, अन्य स्मार्टफोनका लागि प्रति फोन सेट तीन हजार रुपैयाँ र स्मार्टफाेन बाहेकका मोबाइलका लागि प्रति सेट २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

नियामक प्राधिकरणका अनुसार आर्थिक ऐनले तोकेको अवधिमा प्रयोगमा आएका तर, एमडीएमएसमा दर्ता नभएका आईएमईआई नम्बरको सङ्ख्या ८३ लाख २७ हजार ६०६ रहेको बताउँदै आएको छ । 

एउटै मोबाइलमा दुई ओटासम्म आईएमईआई नम्बर हुने, ट्याब्लेट, स्मार्ट वाच, आईओटी, मसिन टु मसिन लगायतका उपकरणमा समेत सिम कार्ड लाग्ने भएकाले सोको आईएमईआई नम्बर समेत त्यसमा समेटिएको हुनसक्ने सम्भावना छ । 

यद्यपि त्यस्ता डिभाइस हटाउँदा समेत ४० लाखभन्दा बढी मोबाइल एमडीएमएसमा दर्ता गर्नुपर्ने अवस्थामा रहेको अनुमान छ । 

तर आर्थिक ऐनले दिएको म्यादभित्र दुई हजारभन्दा केही बढी मोबाइल मात्र निर्धारित शुल्क भुक्तानी गरी एमडीएमएसमा दर्ता भएको प्राधिकरणले जनाएको छ । 

असार मसान्तसम्मका लागि दिइएको समयसीमा समाप्त भएपछि थप एक महिना बढाउनुपर्ने भन्दै निर्णयार्थ अर्थ मन्त्रालयमा सिफारिस गरिएको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । “तर, अहिलेसम्म म्याद थप भएर आएको जानकारी छैन,” उनले टेकपानासँगको कुराकानीमा भने । 

त्यति ठूलो सङ्ख्याका मोबाइल नतिरी कसरी नेपाल भित्रिए भन्ने विषय आफैंमा गम्भिर छ । जसमा भन्सार छलेर तस्करीबाट आयात भएका मोबाइल समेत रहेको आशङ्का गरिएको छ ।

तर विभागका सूचना अधिकारी खड्का त्यसरी आयात भएको मोबाइल नेपालभित्रै खरिद गरेको खण्डमा एमडीएमएसमा दर्ता हुन पैसा तिर्नु नपर्ने बताउँछन् ।

“३०० अमेरिकी डलर (४० हजार रुपैयाँ) माथिका मोबाइल आयात गर्न नपाइने गरी बीचमा प्रतिबन्ध लागेको समयमा धेरैजसो मोबाइल व्यक्तिगत तवरमा नेपाल भित्रिएको भन्ने हाम्रो बुझाई हो,” उनले भने, “तर नेपालभित्रै खरिद गरिएको मोबाइल एमडीएमएसमा दर्ता छैन भने त्यस्ता प्रयोगकर्ताले प्रमाणसहित उजुरी दिन सक्छन् ।”

मोबाइल खरिद गर्दा ग्राहकले बिल र वारेन्टी कार्ड नछुटाई लिने गरेको स्मरण गराउँदै सूचना अधिकारी खड्काले त्यस्ता कागजात सहित एमडीएमएसमा दर्ता नभएका मोबाइलको विषयमा उजुरी दिन आग्रह  गरे । यस्तो उजुरी नेपाल दूरसञ्चार प्राधिकरण वा भन्सार विभाग जहाँसुकै दिन सकिनेछ ।   

“नेपालमा कुनै पनि पसलमा किने हो भने त्यसलाई पैसा नतिरी एमडीएमएसमा दर्ता गर्नुपर्ने हुन्छ,” उनले भने, “नेपाल भित्र खरिद गरेको हो र एमडीएमएसमा दर्ता छैन भने त्यो मोबाइल तस्करी गरी ल्याएको भन्ने कुरा बुझ्नुपर्ने हुन्छ ।”

ठूलो राजस्व उठ्ने देखेरै नेपाल भित्रिसकेका तर, एमडीएमएसमा दर्ता नभएका मोबाइललाई शुल्क तिरी दर्ता गर्ने व्यवस्था गरिएको खड्काले बताए । 

तर म्याद थप गर्दा समेत बाँकी मोबाइल शुल्क तिरी एमडीएमएसमा दर्ता हुने सम्भावना भने न्यून देखिन्छ । त्यस्ता मोबाइललाई कानूनी बनाउने सवालमा दर्ता बिन नेपालभित्र चलाउन नमिल्ने व्यवस्था गर्नुपर्ने पक्षमा भन्सार विभाग छ । 

“एमडीएमएसमा नआएका मोबाइलमा सिम नचल्ने बनाइदिनु पर्छ भन्ने सुझाव हाम्रो हो,” सूचना अधिकारी खड्काले भने, “त्यस्ता प्रयोगकर्तालाई एसएमएस पठाएर १५ दिनभित्र दर्ता नगरे नेपालमा नचल्ने विषय सूचित गर्नुपर्छ भनेका थियौं ।” 

तर त्यस्तो निर्णय भन्सार विभाग वा नेपाल दूरसञ्चार प्राधिकरणको तहबाट भने गर्न सम्भव छैन । यस्तोमा अर्थ मन्त्रालय वा मन्त्रिपरिषद्‌बाटै एमडीएमएसमा दर्ता नभएका मोबाइल नेपालभित्र नचल्ने व्यवस्था गर्नुपर्ने आशय खड्काको छ । 

“कसैले पैसा तिर्ने, कसैले पैसा नतरी चलाउने कुरा जायज भएन,” उनले भने । 

१५ जेठसम्मका लागि शुल्क तिरेर एमडीएमएसमा मोबाइल दर्ता गर्न सकिने व्यवस्था भए पनि त्यस पछि प्रयोगमा आएका तर प्रक्रिया नपुगी दर्ता नभएका मोबाइलको हकमा के हुने भन्ने प्रश्नको जवाफ भने कतै छैन । प्राधिकरण र विभाग दुवैले त्यसको परिकल्पना अहिलेसम्म नगरिएको बताउँदै आएका छन् । 

मोबाइल एमडीएमएसमा दर्ता छ कि छैन, कसरी थाहा पाउने ? 

-यसका लागि सबैभन्दा पहिला एमडीएमएस डट एनटीए डट जीओभी डट एनपीमा खोल्नुहोस् अथवा यहाँ क्लिक गरी नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस पोर्टलमा जानुहोस् । 

-त्यहाँ थोरै तलतर्फ जानुहोस् र बायाँतर्फ दिइएको बक्समा आफ्नो मोबाइलको आईएमईआई नम्बर राखेर 'खोज्नुहोस्' लेखिएको निलो बटनमा दबाउनुहोस् । यदि तपाईंलाई आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा छैन भने *#06# डायल गरी चेक गर्न सक्नुहुन्छ । 

-यदि तपाईंको मोबाइल एमडीएमएसमा दर्ता रहेछ भने त्यसको जानकारी पपअप विन्डोमा देखिन्छ । अन्यथा दर्ता नभएको जानकारी सहित दर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनले लिङ्क सहितको विन्डो खुल्छ ।

 

पछिल्लो अध्यावधिक: साउन १२, २०८० १९:७