close

कौशी खेती गर्न सघाउने ‘करेसा’ एप सार्वजनिक

टेकपाना टेकपाना

साउन १८, २०८० १३:३

कौशी खेती गर्न सघाउने ‘करेसा’ एप सार्वजनिक

काठमाडौं । कौशी खेतीमार्फत सहरी कृषि प्रवर्द्धनमा सघाउ पुर्‍याउन ‘करेसा’ मोबाइल एप सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (यूएन ह्याबिट्याट) को संयोजन तथा ललितपुर महानगरपालिका, हसेरा कृषि अनुसन्धान तथा तालिम केन्द्र र स्टोरी साइकलसँगको सहकार्यमा उक्त एप सार्वजनिक गरिएको हो ।

‘कौशी खेतीमार्फत सहरी कृषि प्रवर्द्धन परियोजना’ अन्तर्गत विकास गरिएको ‘करेसा एप’ले हातहातमा कौशी खेतीको ज्ञान पुर्‍याउने अपेक्षा राखिएको छ । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जरी शाक्य बज्राचार्यले मोबाइलमा एप इन्स्टल गरेर उक्त परियोजनाको उद्घाटन गरिन् ।

एपमा सहरी करेसा, विद्यालय करेसा, करेसा ट्रयाकर, करेसा बजारलगायतका फिचर उपलब्ध छन् । जसमध्ये सहरी करेसाभित्र कौशी खेतीका लागि ठाउँ मिलाउने, भार अनुमान गर्ने, माटो संकलन, पानीको जोहो, बाली व्यवस्थापन, मल व्यवस्थापन, रोग एवं किरासम्बन्धी जानकारीसँगै कोशीमा प्रयोग हुने विभिन्न प्रविधिबारे जानकारी उपलब्ध गराइएको छ ।

यसका अलावा कुन समयमा के गर्ने भनेर फसल क्यालेन्डर अर्थात् विविध बालीसम्बन्धी जानकारीमूलक पात्रो पनि यही एपमा समावेश गरिएको छ ।

एप सार्वजनिक गर्दै महानगरकी उपप्रमुख बज्राचार्यले घरभित्रको फोहोरलाई घरभित्रै व्यवस्थापन गरी सहरलाई प्रदूषणमुक्त बनाउन, उद्यमशीलता विकास गर्न र सहरी सुन्दरता प्रवर्द्धन गर्न कौशी खेतीले महत्त्वपूर्ण योगदान दिनसक्ने बताइन् ।

यस्तै यूएन ह्याबिट्याटकी बसोबास कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले विपद्को अवस्थामा आइपर्ने सहरी खाद्य संकटको जोखिमलाई कम गर्न, सहरी कृषि र दिगो फोहोरमैला व्यवस्थाका लागि घरधुरी स्तरमा क्षमता अभिवृद्धिमा जोड दिन र उत्पादित उपजलाई उन्नत प्रविधिमार्फत बजारमा जोड्ने परियोजनाकाे उद्देश्य भनाइ राखिन् ।

हातहातमा कौशी खेतीको ज्ञान पुगोस् भन्ने उद्देश्यले करेसा एप निर्माण गरिएको उनको भनाइ छ ।

विद्यालय तहदेखि नै यससम्बन्धी जनचेतना जगाउन परियोजनाअन्तर्गत नमूना मछिन्द्र माध्यमिक विद्यालयमा नमूना फार्म निर्माण गरिएको छ । फार्मको रेखदेखका लागि विद्यालयमा इको क्लब गठन गरिएको र कौशी खेतीबाट उत्पादित उपज छात्रावासमा प्रयोग हुने बताइएको छ ।

यस्तै ललितपुर महानगरपालिका महिला विकास शाखाका अधिकृत शोभादेवी खरेलले कौशी खेतीलाई महिला उद्यमशीलतासँग जोड्ने लक्ष्य रहेको बताइन् ।

परियोजनाले ललितपुर महानगरभित्र सहरी खेती प्रवर्द्धनका लागि तीन दिने प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको छ । उक्त तालिममा ललितपुर महानगरभित्रका विभिन्न वडाका ४७ जना प्रशिक्षार्थीहरूले भाग लिएका थिए ।

तालिममा कौशी खेतीमार्फत महिला उद्यमशीलता, सहरी कृषिबारे स्थानीय अभ्यास र अन्तर्राष्ट्रिय परिवेशको लेखाजोखा, फुड म्यापिङ, माटोबिनै खेती गरिने प्रविधि हाइड्रोपोनिक्सबारे जानकारी दिइयाे ।

यस्तै, बाली पात्रो तयार गर्ने तरिका, नर्सरी ब्यवस्थापन, घरभित्रको फोहोरमैला व्यवस्थापन गरी मल बनाउने तरिका, रोगकिरा नियन्त्रणका लागि प्रकाश जालको प्रयोग, मोहिनी पासो र करेसा एपको प्रयोग गर्ने तरिकामा पनि तालिममा सिकाइएको छ ।

पछिल्लो अध्यावधिक: साउन १८, २०८० १३:१७