close

अब गुगल सर्चमा तपाईंको ठेगाना, फोन नम्बर वा ईमेल देखिए अलर्ट आउने

टेकपाना टेकपाना

साउन १९, २०८० ११:३४

अब गुगल सर्चमा तपाईंको ठेगाना, फोन नम्बर वा ईमेल देखिए अलर्ट आउने

काठमाडौं । प्रयोगकर्ताले गुगल सर्चमा आफ्नो व्यक्तिगत सूचना देखिएको खण्डमा अब सहजै त्यसलाई फेला पार्न र हटाउन सक्ने भएका छन् । कम्पनीले वेबमा प्रयोगकर्ताको ईमेल एड्रेस, फोन नम्बर अथवा ईमेल फेला पारेको खण्डमा त्यसलाई रिभ्यु गर्न र सर्च रिजल्टबाट हटाउनका लागि अनुरोध पठाउने सुविधा ल्याएको हो ।

यो सबै मोबाइल तथा  वेबमा गुगलको 'रिजल्ट अबाउट यु' नामक ड्याशबोर्डमा रहनेछ । अपडेटसँगै तपाईंले आफ्नो बारेमा सर्च नगरिकनै गुगलमा रहेको आफ्नो सूचना फेला पार्न सक्नु हुनेछ ।

एक पटक तपाईंले आफ्नो व्यक्तिगत जानकारी राखिसकेपछि, उक्त ड्याशबोर्डले तपाईंको व्यक्तिगत सूचना खुल्ला रूपमा राखेका वेबसाइट अगाडि ल्याउनेछ र तपाईलाई जहाँजहाँ देखिन्छ, ती प्रत्येक वेब पेज रिभ्यु गर्न दिनेछ र त्यसलाई हटाउन अनुरोध समेत पठाउन सक्नु हुनेछ । यसअघि तपाईंले गुगल सर्चमा देखिने आफ्नो व्यक्तिगत सूचना आफै खोज्नुपर्ने हुन्थ्यो र म्यानुअल्ली त्यसलाई हटाउन अनुरोध पठाउनु पर्थ्यो ।

त्यस्तोमा यो निकै ठूलो सुधारको विषय हो । यदि भविष्यमा गुगलमा आफ्नो व्यक्तिगत सूचना आउन सक्ने विषयलाई लिएर तपाईं चिन्तित हुनुहुन्छ भने तपाईंले पुश नोटिफिकेसन इनेबल गर्न पनि सक्नु हुन्छ ।

जसले कुनै पनि रिजल्टमा तपाईंको व्यक्तिगत जानकारी देखिएको खण्डमा तपाईंलाई अलर्ट पठाउनेछ । यस्तै तपाईंले पठाएको अनुरोध गुगलको हबबाट ट्रयाक समेत गर्न सक्नु हुन्छ ।

जसमा तपाईंको प्रक्रिया कहाँ पुग्यो, स्वीकृत भयो, अस्वीकृत भयो अथवा अनुरोध फिर्ता आदि देखाउनेछ । यहाँनिर ख्याल गर्नुपर्ने कुरा के छ भने गुगलबाट तपाईंको जानकारी हटाउनुको अर्थ वेबबाट पूर्ण रूपमा मेट्नु भन्ने चाहिँ होइन ।

जुन वेब पेजमा तपाईंको व्यक्तिगत सूचना समावेश छ, त्यो पेजमा गएर मानिसहरूले उक्त सूचना भेट्न सक्छन् । त्यस बाहेक सर्च रिजल्टको सवालमा गुगलका पनि आफ्नै केही सीमाहरू छन्, जसमा कुनै उसले हटाउन सक्छ, कुनै सक्दैन ।

त्यस्तै सरकारी अथवा शैक्षिक संस्थाहरूबाट प्राप्त हुने रिजल्टलाई लिएर गुगलले कुनै कदम चाल्न सक्दैन । यो पछिल्लो अपडेटले गुगलमा आफ्नो जानकारी भेट्ने र त्यसलाई हटाउने प्रक्रियालाई निकै छिटोछरितो बनाइदिएको छ ।

खासगरी यदि तपाईं डक्सिङ (इन्टरनेटमार्फत कुनै व्यक्ति वा संस्थाको व्यक्तिगत पहिचान खुल्ने सूचना सार्वजनिक रूपमा उपलब्ध गराउने कार्य) को सिकार हुनु भएको छ भने यो निकै महत्त्वपूर्ण हुन्छ । अहिले यो फिचर सुरुवातमा अमेरिकामा अङ्ग्रेजीमा रोलआउट हुने क्रममा छ ।

गुगलले बताएको छ कि चाँडै नै कम्पनीले अन्य देश तथा भाषामा समेत उपलब्ध गराउनेछ ।

पछिल्लो अध्यावधिक: साउन १९, २०८० ११:३५