काठमाडौं । गुगलले सर्च रिजल्टमा अनन्तसम्म स्क्रोल गर्ने फिचर बन्द गर्ने भएको छ । गुगल सर्च इन्जिनमा कुनै पनि कुरा सर्च गर्दा अनन्तसम्म स्क्रोल गरिरहन मिल्ने हालको फिचर अब हट्ने भएको हो ।
गुगलले यो फिचर मोबाइल डिभाइसमा अक्टोबर २०२१ र डेस्कटपमा २०२२ को अन्त्यतिर ल्याएको थियो । अब यो फिचर दुवै भर्सनमा बन्द हुन लागेको हो ।
यससँगै डेस्कटपमा सर्च गर्दा साविककै जस्तो क्लासिक पेजिनेसन बार आउने छ । जसमा सर्च रिजल्टका विभिन्न पेजको सङ्ख्या हुने गर्छ । ती मध्ये कुनै एकमा क्लिक गरेर प्रयोगकर्ताले पहिलेकै जस्तो गरी नतिजा हेर्न सक्नेछन् ।
मोबाइल डिभाइसमा भने 'मोर रिजल्ट आउने बताइएको छ । जसमा ट्याप गर्दा थप नतिजा देखिने छन् । यस परिवर्तनले सर्च गर्ने कार्य अझ छिटो हुने तथा प्रयोगकर्ताले अनुरोध नगरेको रिजल्ट नदेखिने गुगलले दाबी गरेको छ ।