close

गुगलको सर्च बक्सबाटै यसरी प्रयोग गर्नुहोस् सतहको कोण नाप्नेदेखि टस गर्नेसम्मका सुविधा

टेकपाना टेकपाना

भदौ १०, २०८० १३:४४

गुगलको सर्च बक्सबाटै यसरी प्रयोग गर्नुहोस् सतहको कोण नाप्नेदेखि टस गर्नेसम्मका सुविधा

काठमाडौं । गुगल सर्चको बक्स साधारण देखिए पनि त्यसैबाट दैनिक लाखौं वेबसाइट सर्च हुन्छन् । गुगल सर्चमा यस्ता गोप्य फिचरहरू पनि छन्, जो हाम्रो दैनिकीमा निकै उपयोगी हुन सक्छन् । 

आज हामी तपाईंलाई गुगल सर्चका त्यस्ता ११ रोचक ट्रिक्सको बारेमा बताउँदै छौं ।

 

१) प्याकम्यान डुडल

तपाईंलाई गुगलमा कुनै खेल खेल्नुपर्‍यो भने सबैभन्दा रोचक खेल प्याक म्यान डुडल लिन सक्नु हुन्छ । त्यसका लागि गुगल सर्चमा जानुहोस् र PAC-MAN Doodle सर्च गर्नुहोस् । 

यति गरेपछि प्याकम्यान डुडल खुल्छ । तपाईंले प्लेको बटनमा थिचेर उक्त गेम खेल्न सक्नु हुन्छ । 

 

२)  डायस घुमाउन

गुगल सर्च बक्सको सबैभन्दा रोचक ट्रिक्स मध्येको एक हो, डायस घुमाउने । आफूलाई कुनै नम्बर छान्नुपर्‍यो, तर नम्बर छान्न गाह्रो भइरहेको छ भने तपाईं यसको सहारा लिन सक्नुहुन्छ । 

त्यसका लागि गुगलको सर्च बारमा जानुहोस् । अनि ‘Roll a Die’ सर्च गर्नुहोस् । त्यसपछि आफूलाई कस्तो किसिमको डायस घुमाउनु छ, सोही छान्नुहोस् । 

र, अन्त्यमा रोलको बटनमा थिच्नुहोस् । यति गर्नुभयो भने डायस घुम्छ र जुन नम्बर आउँछ, त्यो स्क्रिनमा देखिन्छ । 

 

३) ग्रामर चेक

गुगल सर्चमा व्याकरण जाँच गर्न सकिने फिचर पनि रहेको छ । यो नेपाली वाक्यका लागि भने उपयुक्त हुँदैन । 

यदि तपाईं अङ्ग्रेजीमा लेख्दै हुनुहुन्छ र, आफूले लेखेको वाक्य वा हरफमा व्याकरणीय त्रुटि छ कि भन्ने आशङ्का लागेमा तलको प्रक्रिया अपनाउन सक्नु हुन्छ । 

सबैभन्दा पहिला आफूले लेखेको वाक्य गुगलको सर्च बक्समा पेस्ट गर्नुहोस् । त्यसपछि सो वाक्यका पछाडि “Check Grammar” टाइप गरी सर्च गर्नुहोस् । यति भएपछि उक्त वाक्यमा व्याकरण अशुद्ध छ भने गुगलले त्यसको शुद्ध वाक्य देखाउँछ ।

 

४) सतहको कोण मापन 

कुनै पनि सतह कति डिग्री कोणमा ढल्किएको छ मापन गर्नका लागि गुगलमा बबल लेभलको फिचर दिइएको छ । ल्यापटप वा डेस्कटपमा भने यो फिचरले काम गर्दैन । 

किनभने त्यसमा यो फिचरका लागि आवश्यक सेन्सर दिइएको हुँदैन । कुनै पनि सतहको कोण मापन गर्नका लागि मोबाइलमा गुगल सर्चको आइकनमा जानुहोस् । 

त्यसपछि “bubble level” टाइप गरेर सर्च गर्नुहोस् । यति गरेपछि फोन राखेको सतह कतातिर ढल्किएको छ, बबल त्यतै सोझिन्छ । 

 

५) सोलिटेर खेल्नुहोस् 

गुगलमै अनलाइनमा खेल्न सकिने गेम हो, सोलिटेर । क्लासिकल कार्ड गेम सोलिटेर खेल्न सबैभन्दा पहिला गुगल सर्चमा जानुहोस् । 

अनि “Play Solitaire” टाइप गरी सर्च गर्नुहोस् । यति भएपछि प्लेको बटनमा ट्याप गरी यो गेम खेल्न सक्नु हुन्छ । 

 

६) बिट सुन्नुहोस्

आफ्नो मस्तिष्कलाई केही बेर आराम दिन चाहनुहुन्छ भने गुगल सर्चमा “metronome” टाइप गरेर सर्च गर्नुहोस् । सर्च गरिसकेपछि मेट्रोनोमीको पेज खुल्छ । 

डिफल्ट रूपमा प्रति मिनेट १०० बिट तोकिएको हुन्छ । यदि प्ले बटन थिच्नुभयो भने बिट बज्न थाल्छ । 

सो बिटलाई आवश्यकता अनुसार बढाउन वा घटाउन सकिन्छ । न्यूनतम ४० बिट प्रति मिनेट बजाउन सकिन्छ भने बढीमा २१८ बिट प्रति मिनेट बजाउन सकिन्छ । 

 

७) श्वासप्रश्वासको व्यायाम

श्वासप्रश्वास सम्बन्धी व्यायाम गर्नका लागि कति समय सास बाहिर फाल्ने र कति समयसम्म भित्र लिने भन्ने जानकारी तपाईंलाई नहुन सक्छ । गुगल सर्चको ‘ब्रिदिङ एक्ससाइज’ फिचर प्रयोग गरी तपाईं श्वास प्रश्वास सम्बन्धी व्यायाम गर्न सक्नुहुन्छ । 

त्यसका लागि सबैभन्दा पहिला गुगल सर्चमा breathing exercise टाइप गरेर सर्च गर्नुहोस् । त्यसपछि तल रहेको भिडिओ प्ले पजको बटनमा थिच्नुहोस् । 

अनि सेतो भाग बढ्दा सास भित्र लिनुहोस् र घट्दा सास बाहिर फाल्नुहोस् । यसरी तपाईं श्वासप्रश्वासको व्यायाम गर्न सक्नुहुन्छ । 

 

८) नयाँ कुरा सिक्न उत्सुक हुनुहुन्छ ? यसो गर्नुहोस् 

 

तपाईंलाई कुनै नयाँ कुरा सिक्ने चाहना छ वा कुनै पनि विषयमा जान्ने इच्छा छ भने गुगल सर्च तपाईंका लागि उपयुक्त हुन सक्छ । त्यसका लागि गुगल सर्चमा I’m feeling curious टाइप गरेर सर्च गर्नुहोस् । 

त्यसपछि गुगलले तपाईंलाई विभिन्न रोचक विषयमा प्रश्न सोध्छ । त्यतिबेला तपाईं आफ्नै उत्तर तयार पार्न सक्नुहुन्छ । 

प्रश्न आएको केही समयमै गुगलले सो प्रश्नको उत्तर तल राखिदिन्छ । यसो गर्दा विज्ञान, इतिहास, साहित्य, भाषा, धर्म आदिका बारेमा नयाँ कुरा सिक्न पाइन्छ । 

 

९) टाइमर सेट गर्नुहोस्

सबै फोनमा टाइमरको सुविधा नहुन सक्छ । भए पनि त्यसलाई प्रयोग गर्ने प्रक्रिया केही जटिल र झन्झटिलो लाग्न सक्छ । 

त्यसैको विकल्पमा गुगल सर्चको टाइमर फिचर प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि सबैभन्दा पहिला गुगल सर्चमा जानुहोस् र timer सर्च गर्नुहोस् । 

यति गरेपछि त्यहाँ एउटा टाइम सेट गरिएको हुन्छ । टाइमको अप्सनमा ट्याप गरी आफूले सेट गर्न चाहेको टाइम छान्नुहोस् र स्टार्टको बटनमा ट्याप गर्नुहोस् । यसरी टाइमर सुरु हुन्छ । 

 

१०) सिक्का टस गर्न 

विभिन्न खेलकुद सुरु हुँदा सिक्का टस गर्ने प्रचलन छ । सबै अवस्थामा तपाईंसँग सिक्का नहुन सक्छ । त्यतिबेला तपाईं गुगलको फ्लिप अ क्वाइन ट्रिक प्रयोग गर्न सक्नुहुन्छ । 

यो फिचर प्रयोग गर्न गुगलको सर्चबक्समा Flip a coin टाइप गरी सर्च गर्नुहोस् । त्यसपछि सिक्का घुम्न थाल्छ । 

केही बेरमा सिक्का हेड वा टेलमध्ये एउटा देखिन्छ । फेरि सुरु गर्न फ्लिप अगेनको अप्सनमा क्लिक गर्न सक्नु हुन्छ ।

 

११) कर्ड थाहा पाउनुहोस्

गुगल सर्चमा कुनै पनि बाध्य बाधक साधनको ट्युनिङ (कर्ड) थाहा पाउन सकिने फिचर दिइएको हुन्छ । त्यसका लागि गुगल सर्चमा जानुहोस् र Turner टाइप गरी सर्च गर्नुहोस् । 

यति भएपछि तपाईंले बजाएको धुन कुन कर्ड अन्तर्गत पर्छ भन्ने देखिन्छ । 

 

पछिल्लो अध्यावधिक: भदौ १०, २०८० १३:४४