close

सक्रिय प्रयोगकर्ता घट्न थालेपछि थ्रेड्सकाे वेब एप ल्याउँदै मार्क जुकरबर्ग

टेकपाना टेकपाना

साउन २२, २०८० ११:१९

सक्रिय प्रयोगकर्ता घट्न थालेपछि थ्रेड्सकाे वेब एप ल्याउँदै मार्क जुकरबर्ग

काठमाडौं । जुलाई ५ मा सार्वजनिक भएको थ्रेड्स एपमा सक्रिय प्रयोगकर्ता घट्न थालेपछि कम्पनीका मालिक मार्क जुकरबर्गले छिट्टै वेब एप ल्याउने घोषणा गरेका छन् । ​थ्रेड्समा एक पोस्ट राख्दै जुकरबर्गले अबको केही हप्तामा वेब एप र एड्भान्स सर्च उपलब्ध गराउने घोषणा गरेका हुन् ।

ट्वीटरका नामले परिचित एक्सको प्रतिद्वन्द्वीका रूपमा आएको थ्रेड्स सार्वजनिक भएपछि निकै चर्चा पाएको थियो । जसको परिणाम स्वरूप एप सार्वजनिक भएको एक घण्टामै १० लाख बढी प्रयोगकर्ताले साइनअप गरेका थिए । त्यसको पाँचौं दिनमा अकाउन्ट बनाउनेको सङ्ख्या १० करोड पुगेको थियो, जुन इन्टरनेटको इतिहासमै कम समयमा सबैभन्दा बढी प्रयोगकर्ता पाएको रेकर्ड हो । तर, दोस्रो सातामा प्रवेश गरिसकेपछि थ्रेड्स एप ओरालो लाग्न थालेको छ ।

सीएनएनका अनुसार जुलाई ३१ मा थ्रेड्समा सक्रिय प्रयोगकर्ताको सङ्ख्या ८२ प्रतिशतले घटेको थियो । र, लगातार यो सङ्ख्या घट्ने क्रममा छ । अर्थात् थ्रेड्समा अकाउन्ट बनाउने १० जनामध्ये दुई जना पनि एक दिनमा विरलै थ्रेड्स एप खोल्छन् । सार्वजनिक हुँदा औसत प्रयोगकर्ताले थ्रेड्समा बिताउने समय १९ मिनेट थियो भने अहिले घटेर २ मिनेटमा आएको छ ।

प्रयोगकर्ताको आकर्षण पहिले जस्तै बढाउन थ्रेड्स वेब एपतर्फ सक्रिय भएको हो । अहिले थ्रेड्सको वेब एपमा प्रयोगकर्ताको अकाउन्ट र रिप्लाई मात्र देखिन्छ । त्यसमा लगइन गर्ने र वेबबाटै पोस्ट अपडेट गर्ने सुविधा नहुँदा कन्टेन्ट क्रियटरहरू थ्रेड्समा कम पोस्ट राख्न थालेका छन् । यही कारणले गर्दा थ्रेड्समा प्रयोगकर्ताको आकर्षण कम हुँदै गएको विश्लेषकको भनाइ छ ।

थ्रेड्सको वेब एप सार्वजनिक भएपछि उक्त एपमा सक्रिय प्रयोगकर्ताको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । वेब एपबाहेक थ्रेड्स एड्भान्स सर्च फिचरमा पनि काम गरिरहेको छ । अहिले थ्रेड्समा प्रयोगकर्ताको नाम मात्र सर्च गर्न मिल्छ । एड्भान्स सर्च फिचर उपलब्ध भएपछि बने पोस्ट समेत देख्न सकिने मेटाको भनाइ छ ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८० ११:१९