काठमाडौं । बङ्गलादेशी नागरिकलाई अपहरण गरी नेपालमा बन्धक बनाएर राखेको आरोपमा दुई जना नेपाली र पाँच बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बङ्गलादेशी नागरिक अमिर हुसेन, जागिर आलाम, एमडी मोसयुर रहमान, सलिन मिया, तामिना बेगम रहेका छन् ।
त्यस्तै नेपाली नागरिकमा तारा नेपाली, रोशनी राई रहेका छन् । पक्राउ परेका आरोपीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतवार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार २८ असारमा दुई जना बङ्गलादेशी नागरिकलाई अपहरण गरेको भन्दै एक जना बङ्ग्लादेशी वकिल ह्वाट्सएपमा पीडकले पठाएको भिडिओ ल्याएर कार्यालय आएका थिए । उक्त भिडिओमा बन्धक बनाएर राखिएका पीडितको घाँटीमा चक्कु तेर्साएर मारिदिन्छु भन्दै धम्की दिइएको देखिन्थ्यो ।
“पीडितका परिवारबाट सुरुमा १० लाख टाका (बङ्गलादेशी मुद्रा) मागिएको रहेछ,” एसएसपी केसीले भने, “पछि २० लाख टाका मागेपछि उनीहरूले वकिलको सहायता लिएका रहेछन् ।”
तिनै वकिल र प्रहरीको सहायताले अपहरणमा संलग्न भएको आरोपमा आठ जना पक्राउ परेको केसीले बताए । उनीहरूले रोजगारीको लोभ देखाएर अपहरण गरी ल्याएका पीडित पुरुषका परिवारबाट रकम माग्ने गरेको देखिएको प्रहरीले जनाएको छ । त्यस्तै अपहरणमा परेका पीडित महिलालाई मसाज तथा यौनजन्य काममा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अपहरण गरी राख्ने ठाउँ र राखिसकेपछि शारीरिक तथा मानसिक यातना दिनेमा नेपाली जोडिएका छन् ।
पीडितहरूलाई जाहेरी दिन लगाएर उनीहरूमाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।