close

प्रेम प्रस्ताव अस्वीकार गर्दा पनि पत्रकार युवतीलाई फोन र मेसेजबाट हैरानी दिने गुरागाईं दोषी ठहर

टेकपाना टेकपाना

भदौ ३, २०८० १६:१७

प्रेम प्रस्ताव अस्वीकार गर्दा पनि पत्रकार युवतीलाई फोन र मेसेजबाट हैरानी दिने गुरागाईं दोषी ठहर

काठमाडौं । एक पत्रकार युवतीलाई अनावश्यक फोन तथा मेसेज गरेर हैरानी दिने नेपाल आज नामक अनलाइनका सञ्चालक २९ वर्षीय माधव गुरागाईंलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले गत २९ माघ २०७९ मा निर्धारण गरेको सजायको पूर्ण पाठ सार्वजनिक भएको हो ।

अदालतले १६ माघ ०७९ का दिन गुरागाईंले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ (१) बमोजिमको कसुर गरेको ठहर गरेको थियो । उक्त कसुरमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।

तर अदालतले भने उनीमाथि २० हजार रुपैयाँ जरिवाना र पीडितलाई पुग्न गएको क्षति समेतबाट सोही बराबरको क्षतिपूर्ति भराउने न्यूनतम सजाय मात्र तोकेको छ । न्यायाधीश मैनालीले प्रतिवादी गुरागाईं २९ वर्षको रहेको र सामान्य परिवारको व्यक्ति भएको, पीडित युवतीलाई मन पराई विवाह गर्नेसम्मको कुरा भएको, सँगै काम गर्दै आएको अनलाइन छोडी अर्को च्यानलमा गएको, व्यक्तिगत सामाजिक सञ्जालमा मात्र मेसेज गर्ने गरेको जस्ता आधार देखाउँदै त्यस्तो फैसला सुनाएका छन् ।

"उल्लेखित पिडितको उमेर, आर्थिक, सामाजिक अवस्था, प्रतिवादीको कसूरजन्य कार्यको प्रकृति, कसूरको मात्रा, कसूरभन्दा पहिलाको सम्बन्ध समेतका आधार कारणबाट प्रतिवादी माधवप्रसाद गुरागाईंलाई विद्युतीय कारोबार ऐन बमोजिम २० हजार जरिबाना हुनुका साथै सोही ऐन बमोजिम... २० हजार क्षतिपूर्ति बापत रकम भराई लिन पाउने ठहर्छ," फैसलामा भनिएको छ ।

विगत दुई वर्षदेखि आफूलाई व्यक्तिगत तथा व्यावसायिक रूपमा दक्खल पुग्ने गरी पिछा गर्ने, भाइबर र ह्वाट्सएपबाट बारम्बार फोन गर्ने, अनेक किसिमका अपमानजनक मेसेज गर्ने गरेको भन्दै पीडित पत्रकार युवतीले साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

"निज व्यक्तिको प्रेम प्रस्तावलाई मैले अस्वीकार गरेतापनि सामान्य सम्बन्ध मात्र रहेको अवस्थामा पनि उनले फोन र म्यासेजबाट हैरानी दिने मात्रै नभई मेरो घर जाने बाटोमा आफू पुग्दै गरेको सन्देश पठाउँदै उनले बाटोदेखि मेरो घरसम्मको विभिन्न स्थानहरूको फोटो पठाएर मेरो घर नै पुग्न लागे जसरी मलाई हैरान दिने एवम् अन्य महिलाहरूको नाम लिएर पनि उनले मलाई उनीहरूलाई गरे जस्तै व्यवहार गर्ने धम्की समेत दिने गरेका थिए," पीडितको जाहेरी दरखास्तमा भनिएको छ ।

"मैले निजले गरेका हरेक क्रियाकलापहरूको बेवास्ता गर्दा निज व्यक्तिले मलाई सामाजिक सञ्जाल भाइबर, ह्वाट्सएप लगायतका विद्युतीय माध्यमबाट डर पैदा गर्ने किसिमको फोटोहरू पठाउने र विभिन्न म्यासेजहरू पठाउने र मैले हेर्नै नपाई मेसेजहरू डिलिट गर्ने तथा राति १० बजेपछि पनि म एक अविवाहित महिलाको फोन, ह्वाटसएप तथा भाइबर नम्बरमा बारम्बार मिस कल गर्ने, आफै डिलिट गरी अनावश्यक हैरानी दिई मानसिक तनाव दिनुका साथै मेसेज लेखि पठाई पुनः निजले मेरो सामाजिक र मानसिक रूपमा स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारबाट हनन् गरेको हुनाले निजलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिम हदैसम्मको सजाय गरी पाउँ ।"

फैसला आफ्नो पक्षमा आए पनि न्यायको भने अनुभूति नभएको पीडित पत्रकार कञ्चन न्यौपानेले प्रतिक्रिया दिइन् । टेकपानासँगको कुराकानीमा उनले भनिन्, "मेरो पक्षको बकपत्र समेत परिवर्तन गरिएको छ । बिहे गर्ने कुरा नै थिएन, एकोहोरो पीडक पक्षको बयानलाई आधार मानेर फैसला आएको छ, उसले त्यसको प्रमाण समेत पेश गरेको छैन ।"

प्रतिवादी तथा पीडकलाई उन्मुक्ति दिने गरी फैसला आएको उल्लेख गर्दै न्यौपानेले आवश्यक कानूनी परामर्श लिएर पुनरावेदन जाने बताएकी छन् । 

पछिल्लो अध्यावधिक: भदौ ३, २०८० १७:५४