close

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता, विद्यार्थी सहितको समितिले नयाँ शुल्क निर्धारण गर्ने

टेकपाना टेकपाना

भदौ १३, २०८० २१:२७

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता, विद्यार्थी सहितको समितिले नयाँ शुल्क निर्धारण गर्ने

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने सहमति भएकाे छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल, रजिष्ट्रार प्रा.डा. पेशन दाहाल लगायत आन्दोलनरत विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूबीच बसेको छलफलले शुल्क नबढाउने निष्कर्ष निकालेकाे हाे ।

यससँगै आन्दोलनरत विद्यार्थीहरूले विराेधका कार्यक्रम फिर्ता लिएकाे नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । शुल्क फिर्ता लिने निर्णयपछि अनशनरत विद्यार्थीहरूले अनशन तोडेका छन् । उनीहरूलाई जुस पिलाएर अनशन तोडाइएको हाे ।

शुल्क वृद्धि नि:शर्त खारेज गर्नुपर्ने र बी.ई./बी. आर्कको प्रवेश परीक्षा सुचारू गर्नुपर्ने माग राख्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय उपमहासचिव रसना यादव, अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र बयाडी र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिजापति चार दिनदेखि अनशनरत थिए । त्यस्तै शुल्क वृद्धि खारेजको माग राख्दै नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसका सुलभ चापागाईं भदौ ५ देखि अनशनरत थिए । 

त्यस्तै आजको छलफलमा विद्यार्थी प्रतिनिधि सहित गठन हुने समितिबाट सात दिनभित्र प्रतिवेदन पेश गर्ने र प्राप्त राय सुझावको आधारमा कायम गरिने शुल्कलाई लागू गर्ने पनि निर्णय भएको छ ।

संस्थानले‍ यसै शैक्षिक सत्रदेखि लागू हुने गरी बढाएकाे शुल्क खारेजीको माग राख्दै पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस आदिमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका थिए ।

 

हेर्नुहोस् सहमति पत्र

 

पछिल्लो अध्यावधिक: भदौ १४, २०८० ६:३८