close

जिमेलमा पासवर्डको साटो यसरी प्रयोग गर्नुहोस् ‘पासकी’

टेकपाना टेकपाना

भदौ १८, २०८० १५:३९

जिमेलमा पासवर्डको साटो यसरी प्रयोग गर्नुहोस् ‘पासकी’

काठमाडौं । गुगलले आफ्ना प्रयोगकर्ताहरूको सुरक्षाको लागि पासवर्ड र टु-फ्याक्टर अथेन्टिकेसनको विकल्पमा पासकी (PassKey) प्रणाली ल्याएको छ । पासकी यस्तो प्रणाली हो, जुन प्रयोग गर्नुअघि अन्य आधिकारिक डिभाइसमा अकाउन्ट लगइन भएको हुनुपर्नेछ ।

गुगलका प्रमुख प्लेटफर्ममा यो फिचर उपलब्ध भइसकेको छ । प्रयोगकर्ताले अब आफ्नो पासवर्ड वा टु-फ्याक्टर अथेन्टिकेसनको सट्टा पासकी प्रयोग गर्न सक्नेछन् ।

पासकीलाई कम्पनीले पासवर्ड र टु-फ्याक्टर अथेन्टिकेसनभन्दा पनि सुरक्षित हुने दाबी गरेको छ । गुगल, एप्पल, माइक्रोसफ्टजस्ता कम्पनीले फिडो अलायन्स (FIDO)सँग सहकार्य गरेर पासकी प्रणाली सुरु गर्ने घोषणा गरेका थिए ।

यो पासकी प्रणाली लागू गर्दा परम्परागत तरिका जस्तै; पासवर्ड राख्ने वा टु-स्टेप अथेन्टिकेसन अन गर्ने आवश्यक हुँदैन । यदि तपाईंले आफ्नो गुगल अकाउन्टमा पासकी लागू गर्नुभयो भने आफ्नो डिभाइसको पिन, बायोमेट्रिक्स अन गर्ने जस्तै फिङ्गरप्रिन्ट वा फेस आईडी प्रयोग गर्दा सजिलै साइनइन गर्न सकिन्छ ।

यसले गर्दा पुरानो पासवर्ड सम्झिरहने झन्झट गर्नु पर्दैन । र, तपाईंको फोनको बायोमेट्रिक्स वा पिन जस्ता कुराहरू थर्ड पार्टीले नपाउने भएकाले पासकी सुरक्षित हुने कम्पनीको भनाइ छ । फिशिङ आक्रमणमा पर्नुभयो भने पनि तपाईंको गुगल अकाउन्ट अर्कोले प्रयोग गर्न पाउँछ भन्ने हुँदैन ।

किनभने तपाईंले साइनइन गर्नका लागि डिभाइसको पिन, पासवर्ड, फिङ्गरप्रिन्ट वा फेसआईडी प्रयोग गर्नुपर्ने हुन्छ । फिशिङमा पर्दा डिभाइसका यस्ता जानकारी ह्याकरको पहुँचमा नपुग्नाले अकाउन्ट सुरक्षित हुन्छ ।

गुगल अकाउन्टमा कसरी पासकी सेट गर्ने ?

- सबैभन्दा पहिले यहाँ क्लिक गरी गुगल अकाउन्टको पेजमा जानुहोस् ।

- त्यसपछि पासवर्ड राखेर लगइन गर्नुहोस् ।

- अनि 'युज पासकी'को अप्सनमा क्लिक गर्नुहोस् ।

- यति गर्नुभयो भने तपाईंले अर्को डिभाइसमा जीमेल साइनइन गर्दा पासकी राख्न भनिएको हुन्छ ।

- तपाईंले अर्को डिभाइस वा ब्राउजरमा सबैभन्दा पहिले आफ्नो ईमेल एड्रेस राख्नुपर्ने हुन्छ । त्यसपछि ‘कन्टिन्यु’ अप्सनमा ट्याप गर्नुहोस् ।

- यति गरेपछि 'युज योर पासकी टु कन्फर्म इट्स रियल्ली यु' भन्ने अप्सन बक्सको अन्तिममा रहेको 'कन्टिन्यु' अप्सनमा क्लिक गर्नुहोस् ।

- अनि तपाईंको डिभाइसमा कोड दिएर स्क्यान गर्न वा बायोमेट्रिक्स भेरिफाइ गर्न भनिएको हुन्छ । यस्तोमा तपाईंले आफ्नो डिभाइसको पासवर्ड, पिन वा बायोमेट्रिक्स राखेर अकाउन्ट साइनइन गर्न सक्नुहुन्छ ।

तपाईंको डिभाइसको पासवर्ड, पिन वा बायोमेट्रिक्स डिभाइसको हार्डवेयरमै भण्डारण भएको हुन्छ । विशेषगरी एन्ड्रोइड ९ र आईओएस १६ बाट सञ्चालित डिभाइसमा यो फिचर प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ १८, २०८० १५:३९