close

कस्तो छ अनरको हलुका र पातलो ल्यापटप ? (भिडियो सहित)

टेकपाना टेकपाना

भदौ २१, २०८० १०:३०

कस्तो छ अनरको हलुका र पातलो ल्यापटप ? (भिडियो सहित)

काठमाडौं । नेपाली बजारमा हालै भित्रिएको नयाँ ल्यापटप हो, अनरको म्याजिक बुक एक्स १४ । विश्वविद्यालयका विद्यार्थी, कार्यालयमा काम गर्ने कर्मचारी आदिलाई उपयुक्त हुने १४ इन्चको यो ल्यापटपको ‘बडी’ आल्मोनियमबाट बनेको छ । हेर्दा प्रिमियम देखिने र बोक्न अप्ठ्याराे नहुने यो ल्यापटपमा थुप्रै फिचर छन् । आज हामी यो ल्यापटपको विशेषता र कमजोरीबारे जानकारी दिनेछौं: 

विशेषता

कम्पनीले प्रयोगकर्ताको स्वास्थ्यलाई ध्यान दिँदै ल्यापटपमा आँखालाई कम हानी गर्ने एन्टी ग्लेयर, लो ब्लु लाइट दिएको छ । ल्यापटपको स्क्रिन अगाडि लामो समय बस्नु पर्नेहरूका लागि यो एक विकल्प हुनसक्छ । किनकी यही मूल्यका अन्य ल्यापटपले भन्दा आँखालाई कम हानी गर्ने खालका प्रमाणपत्रहरू पाएको छ ।

ल्यापटपमा फास्ट चार्जिङ र टिकाउ ब्याट्री उपलब्ध गराइएको छ । कोर आई फाइभ टुभेल्थ जेनेरेसनको प्रोसेसर हालिएको यो ल्यापटपमा ८ जीबी डीडी आर फोर र्‍याम (DDR4 RAM) र ५१२ जीबी एनभीएमई एसएसडी (NVMe SSD) दिइएको छ । यसमा भएको ५१२ जीबीको एसएसडी गतिको हिसाबले त चाँडो छ । तर स्टोरेजका लागि भने हार्डडिस्क थप्नुको विकल्प छैन । 

तर ८ जीबी र्‍याम सहितको आई फाइभ प्रोसेसर भएकाले यो ल्यापटपबाट भिडिओ एडिटिङको काम अलि असहज हुन्छ । यसमा इन्टेलको यूएचडी ग्राफिक्स (UHD graphics) छ । त्यसको साटो ‘डेडिकेडेट ग्राफिक्स’ भइदिएको भए यो ल्यापटपले अन्य ‍प्रतिस्पर्धीहरूलाई पछि पार्न सक्थ्यो । यद्यपि कलर एक्युरेसी राम्रो भएकाले र्‍याम अपग्रेड गरेर भिडिओ एडिटिङ गर्न भने सम्भव छ । 

ल्यापटपको अर्को राम्रो कुरा यसको फास्ट चार्जिङ हो । कम्पनीले ल्यापटपमा ६५ वाटको यूएसबी टाइप सी पावर एडप्टर दिएको छ । यसबाट डेढ घण्टा भन्दा कम समयमा फुल चार्ज हुने कम्पनीकाे दाबी छ ।

फुल चार्ज भएपछि ब्राइटनेशलाई ५०/६० प्रतिशत राखेर ल्यापटप चलाउँदा ६ देखि ७ घण्टासम्म ब्याट्री ब्याकअप पाइन्छ । ब्राइटनेशलाई अझै घटाएर चलाउँदा भने ८-९ घण्टासम्म ब्याअप पाइन्छ । त्यस्तै यसको चार्जर मोबाइलको जस्तै छ । त्यसले पनि ल्यापटप बोकेर यात्रा गरिरहनु पर्नेलाई सहज बनाइदिन्छ । कम्पनीका अनुसार भने यस ल्याटपटपले १२ घण्टाको ब्याट्री ब्याकअप दिन्छ । 

ल्यापटको स्पिकर पनि बजेट अनुसार स्तरीय नै छ । जसले गर्दा पर्सनल ल्यापटपमा नेटफ्लिक्स, प्राइम वा चलचित्रहरू हेर्न रुचाउनेहरुलाई पनि यो ल्यापटका विशेषताले आकर्षित गर्न सक्छ । त्यस्तै ब्याकलिट किबोर्ड भएकाले ल्यापटपबाट रातको समयमा बत्ती गए पनि टाइपिङ गर्न सकिन्छ । साथै डिस्प्लेमा १०० प्रतिशत एसआरजीबी (sRGB) भएकाले ‘कलर एक्युरेसी’ पनि राम्रो छ । जसले गर्दा यसबाट भिडिओहरू हेर्दा राम्रो अनुभव गर्न मिल्छ ।

पोर्ट र की

ल्यापटपको दायाँभागमा यूएसबी ३.२ जेन वान टाइप ए र ३.५ एमएम हेडफोन ज्याक छ । बायाँ भागमा भने अर्को टाइप ए, एचडीएमआई र यूएसबी टाइप-सी पोर्ट दिइएको छ । ल्यापटपमा एउटा थन्डरबोल्ट पोर्ट भइदिएको भए अझै राम्रो हुने थियो । यसबाट डिस्प्ले आउटपुटका लागि अरु विकल्पसँगै डेटा ट्रान्सफर तीव्र गतिमा गर्न सकिन्थ्यो । त्यस्तै इथरनेट पोर्ट (ethernet port) पनि दिइएको छैन । ल्यापटपले वाई-फाई सिक्ससम्म सपोर्ट गर्ने भएकाले कम्पनीले नदिएको हुन सक्छ ।  

फिङ्गरप्रिन्ट सेन्सर सहितको पावर बटनले ल्यापटलाई थप स्मार्ट बनाएको छ । तर पावर बट‍नलाई फङ्सन की (function key) को पङ्कतीमा नभएर छुट्टै कतै राखिएको भए अझै राम्रो हुन सक्थ्यो । त्यस्तै क्याप्सलक वा फङ्सन की सक्रिय हुँदा की मै इन्डिकेटर बल्छ । जसले सामान्य किबोर्डमा जस्तो अर्को  भागमा राखिएको इन्डिकेटरतर्फ आँखा पुर्‍याइरहन पर्दैन । 

कमजोर पक्ष

सामान्य गेमहरु यसमा खेल्न सकिन्छ । तर लामो समय गेम खेल्दा वा ठूलो क्षमताका सफ्टवेयर चलाउँदा ल्याटपटप छिट्टै तात्तिन्छ । मेटल बडीले गर्दा हेर्दा राम्रो र ल्यापटप बलियो बनेपनि तापक्रम बढेको चाँडै महसुस हुन्छ । त्यस्तै अप र डाउन एरोको आकर तुलनामा कन्ट्रोल की (control key) सानो बनाइएको छ । जसले गेम खेल्दा वा टाइपिङ गर्दा थोरै अप्ठ्यारो भने हुन्छ । 

मूल्य अनुसार ल्यापटपको वेबक्यामले भने गुणस्तरीय भिडिओ खिच्दैन । यसको वेबक्यामले एचडी क्वालिटीको भिडिओ खिच्छ । जुन जमाना र बजेट अनुसार अलि कम रेजाेलुसन हो ।

ठयसमा फुल एचडी रेजाेलुसनको वेबक्याम भइदिएको भए भर्चुअल मिटिङ वा क्लासरुममा सहभागी हुँदा नहिच्किचाई यसको प्रयोग गर्न सकिन्थ्यो । तर यो बजेटको अधिकांश ल्यापटपहरूमा यही गुणस्तरको वेबक्याम हुने भएकाले ठूलो कमजोरीको रुपमा भने लिनु हुँदैन । नेपाली बजारमा यसको मूल्य ८९ हजार रुपैँया तोकिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २१, २०८० १०:३०