close

आफ्नो आईपी एड्रेस परिवर्तन गरेर सुरक्षित रूपमा यसरी चलाउनुहोस् इन्टरनेट

टेकपाना टेकपाना

बैशाख १६, २०८१ ९:३३

आफ्नो आईपी एड्रेस परिवर्तन गरेर सुरक्षित रूपमा यसरी चलाउनुहोस् इन्टरनेट

काठमाडौं । इन्टरनेट प्रयोग गर्दा सुरक्षा र गोपनीयतामा ध्यान दिनु अत्यन्त महत्त्वपूर्ण छ । इन्टरनेटमा आफ्नो गोपनीयता कायम राख्‍ने एउटा उपाय भनेको आईपी एड्रेस परिवर्तन गर्नु हो । जसले गर्दा असम्बन्धित व्यक्तिहरू वा तेस्रो पक्षहरूले तपाईँलाई ट्र्याक गर्न वा तपाईँको ब्राउजिङ हिस्ट्रीमा पहुँच पाउन सक्दैनन् ।

आईपी एड्रेस परिवर्तन गर्न तपाईँसँग कम्प्युटर साइन्सको डिग्री हुन पर्दैन । यो परिवर्तन गर्ने तरिका तपाईँले सोच्नुभएको भन्दा पनि सजिलो छ । सजिलैसँग आईपी एड्रेस परिवर्तन गर्ने तरिका छन् ।

के हो आईपी एड्रेस ?

आईपीको अर्थ हो, इन्टरनेट प्रोटोकल (Internet Protocol) । यसले इन्टरनेटमा जडान गरिएको उपकरणको एक संख्यात्मक लेबल हो । यसको मुख्य दुई काम छन्, नेटवर्क इन्टरफेस पहिचान गर्नु र लोकेसन अर्थात् स्थान पत्ता लगाउनु ।

आईपी एड्रेस इन्टर्नल र एक्स्टर्नल गरी दुई प्रकारका हुन्छन् । तपाईँको घरमा प्रयोग भएको नेटवर्कमा एउटा एक्स्टर्नल आईपी एड्रेस हुन्छ, जुन तपाईँलाई मोडेम वा राउटर सेवाप्रदायकले दिन्छन् । यदि तपाईँ आफ्नो ब्राउजरको 'What is my ip address?' (मेरो आईपी एड्रेस के हो ?) मा जानुभयो भने एक्स्टर्नल आईपी एड्रेस देख्‍नुहुन्छ ।

तपाईँको यो एड्रेस जोकोहिले देख्‍न सक्छन् । तपाईँले यसलाई स्थायी रूपमा परिवर्तन गर्न सक्नुहुन्न । तर तपाईँले यसलाई केही फरक देखाउन सक्नुहुन्छ । बाहिरी दुनियाँले तपाईँलाई ट्र्याक गर्न नमिल्ने बनाउन सक्नुहुन्छ ।

अर्को इन्टर्नल आईपी एड्रेस तपाईँको डिभाइस अनुसार फरक-फरक हुन सक्छन् । यदि तपाईँसँग तपाईँको राउटरको कन्फिगुरेसन विन्डोमा एक्सेस र ज्ञान छ भने यसलाई तपाईँले परिवर्तन गर्न सक्नुहुन्छ ।

यदि तपाईँको आईपी एड्रेस १९२.१६८.१० छ भने तपाईँले यसलाई १०.०.१.० पनि बनाउन सक्नुहुन्छ ।

तपाईँले इन्टर्नल आईपी एड्रेस परिवर्तन गर्नु त्यति महत्त्वपूर्ण छैन । तर बाहिरी दुनियाँले देख्‍न सक्ने तपाईँको एक्स्टर्नल आईपी एड्रेस परिवर्तन गर्न जरूरी छ ।  तैपनि इन्टर्नल आईपी एड्रेस तपाईँलाई राउटरले नै दिएको हुन्छ । आवश्यकता अनुसार यसलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

डिभाइस अनुसार इन्टर्नल आईपी एड्रेस परिवर्तन गर्ने तरिका

लिनक्स

लिनक्स ओपन-सोर्स अपरेटिङ सिस्टम हो ।

१. सुरूमा सेटिङ एप खोल्नुहोस् ।

२. त्यसपछि नेटवर्क पत्ता लगाउनुहोस् ।

३. वायर्ड वा वायरलेससँग सम्बन्धित गियर आइकनमा क्लिक गर्नुहोस् ।

४. आईपीभी४ ट्याब सेलेक्ट गर्नुहोस्।

५. ‘म्यानुअल’मा क्लिक गर्नुहोस्।

६. त्यसमा एड्रेस, नेटमास्क, गेटवे, डीएनएस लगायत आवश्यक जानकारी भर्नुहोस् ।

म्याकओएस

१. प्रणाली सेटिङहरू खोल्नुहोस्।

२. वाई-फाईमा जानुहोस् (यदि वायरलेस छ भने)

३. आफ्नो हालको वायरलेस जडान पत्ता लगाउनुहोस् र विवरणहरूमा क्लिक गर्नुहोस्।

४. त्यहाँ टीसीपी/आईपी देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् ।

५. कन्फिगर आईपीभी४ ड्रप-डाउनबाट म्यानुअल रूपमा सेलेक्ट गर्नुहोस् ।

६. त्यसमा तपाईँले ठेगाना, नेटमास्क, गेटवे, डीएनएस लगायत आवश्यक जानकारी भर्नुहोस् ।

७. त्यसपछि ठीक चिन्हमा क्लिक गर्नुहोस् ।

विन्डोज ११

१. सेटिङमार्फत नेटवर्क र इन्टरनेटमा जानुहोस् ।

२. आफ्नो जडान प्रकार (इथरनेट वा वाई-फाई) सेलेक्ट गर्नुहोस्।

४. त्यसपछि ‘म्यानेज’ गई ‘एडिट’मा क्लिक गर्नुहोस् ।

५. एडिट नेटवर्क आईपी अन्तर्गत म्यानुअल सेलेक्ट गर्नुहोस् ।

६. आवश्यक जानकारी भर्नुहोस्, अनि क्लिक गर्नुहोस् ।

७. त्यसपछि सेभमा क्लिक गर्नुहोस् ।

एन्ड्रोइड

१. सेटिङ अप्सनमा गई नेटवर्क र इन्टरनेट ट्याप गर्नुहोस् ।

२. तपाईँंले प्रयोग गरिरहनुभएको वायरलेस नेटवर्कसँग सम्बन्धित गियर आइकनमा ट्याप गर्नुहोस् ।

३. माथिल्लो दायाँ कुनामा रहेको पेन्सिल आइकनमा ट्याप गर्नुहोस् ।

४. एड्भान्स अप्सनमा ट्याप गर्नुहोस् ।

५. आईपी सेटिङ ड्रप-डाउनको स्टाटिक छनौट गर्नुहोस् ।

६. आवश्यक जानकारी भर्नुहोस् र सेभमा ट्याप गर्नुहोस्।

आईओएस

१. सेटिङमा गई वाई-फाई सेलेक्ट गर्नुहोस् ।

२. तपाईँंले प्रयोग गरिरहनुभएको वायरलेस नेटवर्कको दायाँतिर रहेको आइकनमा ट्याप गर्नुहोस् ।

३. कन्फिगर आईपी ड्रप-डाउनबाट म्यानुअल सेलेक्ट गर्नुहोस् ।

४. आवश्यक जानकारी भर्नुहोस् र सेभ गर्नुहोस् ।  

याद राख्नुहोस् कि तपाईँले आफ्नो इन्टर्नल आईपी एड्रेस परिवर्तन गरेमा तपाईँको एक्स्टर्नल आईपी एड्रेसमा कुनै फरक पार्दैन ।

एक्स्टर्नल आईपी एड्रेस परिवर्तन गर्ने तरिका  

तपाईँले म्यानुअल्ली र स्थायी रूपमा एक्स्टर्नल आईपी एड्रेस परिवर्तन गर्न सक्नुहुन्न । तर तपाईँले आफ्नो वास्तविक आईपी एड्रेसलाई लुकाउन भने विभिन्न सेवाको उपयोग गर्न सक्नुहुन्छ । जसले तपाईँको आईपी एड्रेसलाई केही मात्रामा अस्पस्ट पारिदिन भने सक्छ ।

१ भीपीएन

तपाईँले वास्तविक एक्स्टर्नल आईपी एड्रेस लुकाउन भीपीएन सेवाहरू प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईँको आईपी एड्रेसलाई लुकाउने मात्रै होइन, वास्तविक एड्रेसलाई इन्क्रिप्ट पनि गरिदिन्छ ।

एक्स्टर्नल आईपी एड्रेस लुकाउन यो सबैभन्दा सजिलो तरिका हो । तपाईँंले प्रयोग गर्ने हरेक प्लेटफर्मको लागि भीपीएन सेवा फेला पार्न सक्नुहुनेछ । जसमध्ये नोर्ड भीपीएन, एक्सप्रेस भीपीएन, सर्फशार्क भीपीएन, प्राइभेट इन्टरनेट एक्सेस र प्रोटोन भीपीएन लोकप्रिय छन् । तर प्राय भीपीएन प्रयोग गर्नका लागि शुल्क तिर्नुपर्ने हुन्छ ।

२. टोर ब्राउजर

यदि तपाईँ भीपीएनको लागि रकम तिर्न चाहनुहुन्न वा त्यस्तो सेवा इन्स्टल वा कन्फिगर गर्ने प्रक्रियामा जान चाहनुहुन्न भने टोर ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ ।

टोर ब्राउजरले भीपीएनले गर्ने सबै काम गर्छ । तर यसले केबल तपाईँको वेब ब्राउजर ट्राफिकलाई मात्रै अस्पष्ट बनाउने काम गर्छ, अन्यमा गर्दैन ।

3. प्रोक्सी सर्भर

यो सबैभन्दा जटिल प्रक्रिया हो, किनभने यो सेवा इन्स्टल र कन्फिगर गर्न आवश्यक छ, जुन प्राय: भीपीएन वा टोर ब्राउजर प्रयोग गर्नुभन्दा बढी चुनौतीपूर्ण हुन्छ । यदि तपाईँले प्रोक्सी सर्भर प्रयोग गर्नुभयो भने तपाईँको नेटवर्कमा अन्य डिभाइस जडान गर्न पनि यही सर्भरको प्रयोग गर्नुपर्छ । त्यसैले यो झन्झटिलो छ ।

तपाईँले आफ्नो गोपनीयता सुरक्षित राख्नको लागि आईपी एड्रेस लुकाउन सक्नुहुन्छ । तर पहिले नै प्रयोग भइसकेको इन्टर्नल आईपी एड्रेस प्रयोग नगर्नुहोस् ।

तपाईँको एक्स्टर्नल आईपी एड्रेस परिवर्तनका लागि भीपीएन वा टोर ब्राउजर प्रयोग गर्नुभयो भने त्यसले तपाईँको आफ्नो लोकेसनलाई लुकाइदिन्छ । साथै यसले तपाईँको इन्टरनेट गतिविधिलाई पनि इन्क्रिप्ट गरिदिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८१ ९:३३