close

महत्त्वपूर्ण ईमेल स्पाममा जानबाट रोक्ने जिमेलको सेफ लिस्टिङ फिचर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

भदौ २४, २०८० १०:२

महत्त्वपूर्ण ईमेल स्पाममा जानबाट रोक्ने जिमेलको सेफ लिस्टिङ फिचर, यसरी गर्नुहोस् प्रयोग

 

काठमाडौं । विश्वमा सबैभन्दा धेरै प्रयोग हुने इमेल सेवा हो, जिमेल । गुगलको यो सेवामा अनेकौं फिचरहरू रहेका छन्, जसमध्ये एउटा हो सेफ लिस्टिङ ।

यो फिचरको सहयोगमा तपाईंले आफ्नो इनबक्समा थप नियन्त्रण पाउन सक्नु हुन्छ । आज हामी तपाईंलाई यसले कसरी काम गर्छ भन्ने विषयमा बताउँदै छौं । यो फिचरले प्रयोगकर्तालाई जरुरी इमेल छुट्नबाट जोगाउँछ ।

के हो सेफ लिस्टिङ ?

सेफ लिस्टिङलाई ह्वाइट लिस्टिङको नामबाट समेत चिन्ने गरिन्छ । यसले कुनै निश्चित ईमेल एड्रेस अथवा डोमेनलाई सुरक्षित ढङ्गले मनोनयन गर्ने विकल्प दिन्छ ।

जब एक पटक तपाईं कुनै ईमेल एड्रेसलाई सेफ लिस्टिङमा राख्नु हुन्छ, त्यसपछि यस्ता सोर्स अर्थात स्रोत ईमेल आईडीबाट प्राप्त ईमेल सोझै इनबक्समा आउँछन् । यसरी तपाईं महत्त्वपूर्ण ईमेल स्पाम फोल्डरमा जानबाट रोक्न सक्नु हुन्छ ।

यो फिचरले कसरी काम गर्छ ?

जिमेलको सेफ लिस्टिङले सुरक्षित आईडी तथा डोमेनको एक सूची बनाउने सुविधा दिन्छ । जब यो सूचीमा रहेको कुनै एड्रेस वा डोमेनबाट ईमेल आउँछ, त्यसलाई जिमेलले सुरक्षित ठान्छ र सोझै इनबक्समा पठाउँछ ।

यसले जरुरी ईमेललाई गल्तिले स्पामको रूपमा सूचीकृत हुनबाट जोगाउँछ र व्यवस्थित ढङ्गको ईमेल अनुभव दिन्छ ।

 

कुनै ईमेल वा डोमेनलाई कसरी गर्ने सेफ लिस्टिङ ?

  • सबैभन्दा पहिला जिमेल खोल्नुहोस् र सेटिङ गियर आइकनमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि सी अल सेटिङ (See All Settings) मा जानुहोस् र त्यसअन्तर्गत रहेको फिल्टर एन्ड ब्लक्ड एड्रेस (Filters and Blocked Addresses) ट्याबमा जानुहोस् ।

  • यति गरिसकेपछि क्रियट अ न्यु फिल्टर (Create a new filter) मा क्लिक गर्नुहोस् ।

  • अब उक्त ईमेल एड्रेस वा डोमेन त्यसमा समावेश गर्नुहोस्, जसलाई तपाईं सेफ लिस्टिङमा राख्न चाहनु हुन्छ ।

  • त्यसपछि तल रहेको क्रियट न्यु फिल्टरमा क्लिक गर्नुहोस् ।

  • अब नेभर सेन्ड इट टु स्पाम  (Never send it to Spam) मा क्लिक गर्नुहोस् ।

  • त्यसपछि क्रियट फिल्टरमा क्लिक गर्नुहोस् ।
     

किन जरुरी छ सेफ लिस्टिङ ?
 

जिमेल प्रयोगकर्ताका लागि सेफ लिस्टिङ निकै जरुरी छ । किन भने यसले प्रयोगकर्तालाई विश्वसनीय ईमेल एड्रेसबाट प्राप्त ईमेललाई तुरुन्तै उनीहरूको इनबक्समा पठाइदिन्छ ।
जसले गर्दा महत्त्वपूर्ण ईमेल स्पाम फोल्डरमा जान पाउँदैनन् । यस्तोमा सञ्चार तथा उत्पादनशीलता बढ्न जान्छ । यति मात्र होइन, सेफ लिस्टिङलाई प्रभावकारी किसिमले व्यवस्थापन गरी व्यवस्थित हुन सकिन्छ । 

पछिल्लो अध्यावधिक: भदौ २४, २०८० १०:२