close

अनलाइनमा आफ्नै साथीलाई पनि यसकारण गर्नुपर्छ शङ्का, सुरक्षित रहन अरु के गर्ने ?

टेकपाना टेकपाना

भदौ २४, २०८० १२:२९

अनलाइनमा आफ्नै साथीलाई पनि यसकारण गर्नुपर्छ शङ्का, सुरक्षित रहन अरु के गर्ने ?

 

काठमाडौं । आजको दुनियाँमा सामाजिक सञ्जाल बिनाको जीवन कल्पना समेत गर्न नसकिने जस्तो भइसक्यो । यो त्यस्तो माध्यम बनिसक्यो कि जसको सहयोगमा हामी आफ्ना साथीभाइ-आफन्त खोजीरहेका, भेटिरहेका र हालखबर बुझिरहेका हुन्छौं ।

यति मात्र होइन, रोजगारी खोज्ने, शपिङ गर्ने र मनोरञ्जन लिने काम पनि यसैबाट गरिरहेका हुन्छौं । यी त भए सामाजिक सञ्जालका राम्रा पक्ष ।

तर यसका कयौं नकारात्मक पक्ष पनि छन् । तपाईं सामाजिक सञ्जालमा निःशुल्क यति धेरै लाभ उठाउन पाउनु हुन्छ किन कि त्यसका लागि तपाईं केवल एउटा उत्पादन हो ।

सामाजिक सञ्जाल कम्पनीहरूले तपाईंको रुचि र अरुचिमाथि हरपल निगरानी गरिरहेका हुन्छन् र सारा प्रयोगकर्ताको अनुभव यसै आधारमा बनिरहेको हुन्छ ।

त्यसैले यदि तपाईंले सामाजिक सञ्जालको प्रयोग गर्दा केही कुरामा ध्यान दिनु भयो भने तपाईंको व्यक्तिगत डेटा सुरक्षित रहनेछ र तपाईंको अनुभव समेत गज्जबको हुनेछ । आज हामी तपाईंलाई इन्टरनेटमा कसरी सुरक्षित रहने भन्ने विषयमा केही महत्त्वपूर्ण टिप्स बताउँदै छौं ।

 

१. इन्टरनेटमा एकपल्ट राखिएको डेटा कहिल्यै डिलिट हुँदैन

इन्टरनेटको डाइरेक्ट्रीमा कुनै पनि डेटा एक पटक राखिसकेपछि त्यसलाई पूर्ण रूपमा मेटाउन वा डिलिट गर्न निकै मुस्किल या भनौं असम्भव नै छ । त्यसैले सामाजिक सञ्जालमा आफ्ना एकदमै निजी जानकारी कहिल्यै नराख्नुहोस्, जस्तै घरको ठेगाना, फोन नम्बर अथवा वित्तीय विवरण ।

त्यसैले फोटो वा भिडिओ शेयर गर्दा जहिले पनि यो कुरा ख्याल राख्नुहोस् । अनलाइनमा कुनै पनि यस्ता पोस्ट नगरौं, जसलाई तपाईंलाई निजी ठान्नु हुन्छ र त्यो लिक हुँदा तपाईंलाई कुनै नोक्सान पुर्‍याउन सक्छ ।

 

२. टु फ्याक्टर अथेन्टिकेसन इनेबल गर्नुहोस्

सामाजिक सञ्जालमा टु फ्याक्टर अथेन्टिकेसन कुनै सुरक्षा कवचको जस्तै हुन्छ । अन्य व्यक्तिहरूका लागि तपाईंको टु फ्याक्टर अथेन्टिकेसन तोड्न सहज हुँदैन ।

यदि यो इनेबल छ भने तपाईंको पासवर्ड ह्याक भएको खण्डमा पनि अर्को व्यक्तिले तपाईंको अकाउन्टमा प्रवेश गर्न सक्दैन । त्यसैले यो सेटिङ अनिवार्य रूपमा इनेबल गर्नुहोस् ।

 

३. प्राइभेसी सेटिङमा ध्यान दिनुहोस्

सामाजिक सञ्जालमा तपाईंको व्यक्तिगत डेटा सुरक्षाका लागि तपाईंको कम्प्युटर तथा मोबाइल र सम्बन्धित सामाजिक सञ्जालमा दिइएको प्राइभेसी सेटिङ निकै महत्त्वपूर्ण हुन्छ ।

समय समयमा र हरेक अपडेट पश्चात उक्त सामाजिक सञ्जालमा दिइएको प्राइभेसी चेक जाँच गर्न पनि नभुल्नुहोस् । जसमा तपाईंले गरेका पोस्ट, तपाईंको सम्पर्क, साथीहरूको सूची, फोटो कोकोले देख्न सक्छन् भन्ने कुरामा विचार गर्नुहोस् ।

साथै तपाईंको लोकेसनको पहुँच अल्वेज अलाउ अर्थात् सधैं अनुमति दिने विकल्प भुलेर पनि नछान्नुहोस् ।

 

४. साथीमाथि पनि विश्वास नगर्नुहोस्

आजकल हामी यतिसम्म त पक्कै पनि सजग भइसकेका छौं कि कुनै अपरिचित व्यक्तिले पठाएका च्याट वा लिङ्क खोल्नु हुँदैन र तिनलाई बेवास्ता गर्नु पर्छ । यस्तोमा ह्याकरले अर्को बाटो अपनाउन थालेका छन् ।

उनीहरूले तपाईंकै कुनै साथीको सामाजिक सञ्जाल अकाउन्ट ह्याक गर्छन् र त्यसपछि तपाईंलाई निशानामा पार्छन् । यस्तो कार्य कुनै च्याट अथवा हाइपर लिङ्कको माध्यमबाट हुने गर्छ ।

साथीले च्याटमा तपाईंलाई कुनै चिज डाउनलोड गर्न वा कुनै लिङ्कमा क्लिक गर्न भनेको हुन्छ । यस्तोमा तपाईंलाई लाग्छ कि त्यो त चिनेजानेकै विश्वासिलो साथीले पठाएको हो र त्यसमा क्लिक गरेर डाउनलोड गर्दा हुन्छ ।

यदि यसो सोच्नु भयो भने तपाईं जालमा फस्नु भयो । त्यसैले यदि तपाईंलाई आफ्नो साथीले सामाजिक सञ्जालमा थोरै मात्र पनि सन्देहास्पद वा शङ्का लाग्ने गतिविधि गर्‍यो भने सतर्क बन्नुहोस् ।

 

५. निष्क्रिय अकाउन्टमा ध्यान दिनुहोस्

समयसँगै सामाजिक सञ्जालमा तपाईंसँग जोडिने साथीहरूको सूची थपिंदै जान्छ । जसमध्ये केहीलाई त तपाईंले चिनेको पनि हुँदैन ।

यद्यपि सूचीमा त्यस्ता अनेकौं व्यक्ति रहेका हुन्छन्, जोसँग तपाईं कहिल्यै भेटिनु भएको पनि छैन र कहिल्यै अन्तरक्रिया समेत गर्नु हुन्न अथवा उनीहरू निष्क्रिय जस्तै हुन्छन् । त्यसैले आफ्नो फ्रेन्ड लिस्ट प्रत्येक दुई-तीन महिनामा एक पटक चेक गर्नुहोस् र अनावश्यक व्यक्तिलाई हटाउनुहोस् ।

किन भने ह्याकरले सबैभन्दा पहिला यस्तै निष्क्रिय अकाउन्टमाथि कब्जा जमाउँछन् र उनीहरूलाई हतियार बनाएर तपाईंको अकाउन्टलाई निशाना बनाउँछन् ।

पछिल्लो अध्यावधिक: भदौ २४, २०८० १२:३४