काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले न्यूनतम ५०० रुपैयाँको अर्डर गर्नुपर्ने नीति हटाएको छ । कम्पनीले आफ्नो बजार विस्तार गर्ने उद्देश्यका साथ पुरानो नीति परिवर्तन गरेको हो । यसका साथै, फुडमाण्डले छोटो दुरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ ।
अब ग्राहकले ५०० रुपैयाँभन्दा कम मूल्यको पनि अर्डर गर्न सक्नेछन् । यस्ता अर्डरमा ५० रुपैयाँको न्यूनतम शुल्क लाग्नेछ । ग्राहकको सुझावलाई मध्यनजर गर्दै फुडमाण्डुले सो नीति परिवर्तन गरिएको जनाएको छ ।
यससँगै अब ग्राहकले जतिसुकै रकमको अर्डर पनि गर्न सक्नेछन् । फुडमाण्डुले आफ्नो डेलिभरी शुल्कको नीतिमा पनि परिवर्तन गरेको छ । जसले गर्दा छोटो दुरीबाट अर्डर गर्ने ग्राहकलाई फाइदा पुग्ने बताइएको छ ।
हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीका लागि पनि ५० रुपैयाँ न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो । परिवर्तित नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दुरीका लागि २५ रुपैयाँ र सोभन्दा माथिको दुरीका लागि थप २५ रुपैयाँ प्रति किलोमिटर तिर्नुपर्ने छ ।
यद्यपि, एक हजार रुपैयाँभन्दा बढीको अर्डरमा भने जतिसुकै लामो दुरीमा पनि बढीमा ७५ रुपैयाँ डेलिभरी शुल्क तोकिएको छ ।
फुडमाण्डु संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले ५०० को न्यूनतम् अर्डर गर्नुपर्ने बाध्यतालाई सदाका लागि हटाइएको बताए ।
सन् २०१० देखि सञ्चालनमा आएको फुडमाण्डु ले हालसम्म चार लाखभन्दा बढी ग्राहकलाई आठ सयभन्दा बढी रेस्टुरेन्ट मार्फत काठमाडौं उपत्यका र पोखरामा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।