close

एनएमबि बैंकले ल्यायो नगद जम्मा, क्लियरिङ चेक डिपोजिट तथा स्टेटमेन्ट जेनेरेट गरिदिने मसिन

टेकपाना टेकपाना

असोज ३, २०८० ९:१

एनएमबि बैंकले ल्यायो नगद जम्मा, क्लियरिङ चेक डिपोजिट तथा स्टेटमेन्ट जेनेरेट गरिदिने मसिन

काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक 'डिजी स्टेसन' को सुरुवात गरेको छ । बैंकले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै ग्राहकका विभिन्न काम स्वचालित ढङ्गले गरिदिने 'डिजी स्टेसन' सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

बैंकका अनुसार डिजी स्टेसन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो । यसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानवीय सहायता बिना गर्न सकिनेछ ।

डिजी स्टेसनको सुरुवातले ग्राहकहरूलाई बैंकले प्रदान गर्ने  बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ । "आफ्ना ग्राहकहरूको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको छ आधुनिक प्रविधिको बैंकिङ सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न हामी समर्पित छौं," बैंकले भनेको छ ।  

बैंकले प्रथम चरणको  डिजी स्टेसनको सुरुवात एनएमबी भवन, बबरमहल शाखामा चारवटा मसिन जडान गरी सञ्चालन गरेको छ। क्याश डिपोजिट मसिनमा ग्राहकले एक लाखभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफैं खातामा रकमान्तर गर्न सक्नेछन् ।

त्यस्तै डिपोजिटको रसिद पनि सोही मसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ । त्यसैगरी चेक डिपोजिट मसिनमा ग्राहकले चेक स्टपदेखि नयाँ चेकको आवेदन र क्लियारिङ चेक समेत डिपोजिट गर्ने सुविधा रहेको बैंकको भनाइ छ ।
 
आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजी स्टेसनमा एटीएम मसिनको सुविधा हुँदा ग्राहक वर्गका अधिकांश बैंकिङ आवश्यकताहरू स्वचालित ढंगले छिटो छरितो माध्यमबाट हुने बैंकको विश्वास छ । 

 

पछिल्लो अध्यावधिक: असोज ३, २०८० ९:१