काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न बहानामा ओटीपी (वन टाइम पासवर्ड) कोड मागे नदिन अनुरोध गरेको छ ।
विहीवार एक विज्ञप्ति जारी गर्दै कार्यालयले फेसबुक, भाइबर, ईमो, ह्वाट्सएप तथा टिकटक जस्ता माध्यमबाट कुनै पनि किसिमका प्रलोभनमा पारी ओटीपी कोड दिने, रकम पठाउने काम नगर्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।
“फेसबुक, भाइबर, ईमो, ह्वाट्सएप, इन्स्टाग्राम टिकटक जस्ता सामाजिक सञ्जालहरूको माध्यमबाट विभिन्न उपहार तथा पार्सल पठाएको, चिठ्ठा परेको, बैंक तथा वालेटको कर्मचारी हुँ भनी ओटीपी कोड माग्ने, डलर देखाई नेपाली पैसा साटने, विदेश पठाउने / बोलाउने बहानामा ठगी गर्ने कार्यहरू बढिरहेकोले यस्ता झुट्टा आश्वासन र प्रलोभनयुक्त गैरकानूनी कार्यबाट सावधान रहन साथै यस्ता प्रकृतिका अपराधबाट बच्नको लागि व्यक्तिगत विवरण, बैंक विवरण, ओटीपी कोड, पिन कोड जस्ता सेक्युरिटी कोडहरू कोही कसैलाई नदिनु हुन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अनुरोध गर्दछ,” विज्ञप्तिमा लेखिएको छ ।