close

साउण्ड बक्ससहितको क्यूआर ल्याउँदै ईसेवा, भुक्तानी हुने बित्तिकै अडि‌ओ सुनिने

टेकपाना टेकपाना

असोज ८, २०८० १७:०

साउण्ड बक्ससहितको क्यूआर ल्याउँदै ईसेवा, भुक्तानी हुने बित्तिकै अडि‌ओ सुनिने

काठमाडौं । नेपालको प्रमुख डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले अब क्यूआर कोडसँगै साउण्ड बक्स समेत उपलब्ध गराउने भएको छ । वालेटबाट रकम काटिंदा भुक्तानी सफल भए नभएको थाहा पाउन समस्या हुने भएपछि कम्पनीले साउण्ड बक्स समेत उपलब्ध गराउने भएको हो । 

कम्पनीका अनुसार साउण्ड बक्सका लागि नेपालकै अर्को प्रविधि कम्पनी यार्सा टेकसँग सहकार्य गरिएको छ । यार्साले बनाएका साउण्ड बक्सको अग्र भागमा क्यूआर कोड राखिनेछ । 

फोनपे तथा ईसेवा समेतको माउ कम्पनी एफवन सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवाश शर्माले ट्विटर (हालको एक्स) मा एक भिडिओ शेयर गरेका छन् । जसमा उनले उत्साहित हुँदै ईसेवाले फोनपे क्यूआरका लागि साउण्ड बक्स सुरु गरिरहेको जानकारी दिएका छन् । सँगै पोस्ट गरिएको छोटो भिडिओमा साउण्डबक्सको अगाडि भागमा ईसेवाले उपलब्ध गराएको फोनपे क्यूआर राखिएको छ । उक्त क्यूआरमा वालेट तथा मोबाइल बैंकिङ एपबाट स्क्यान गरी भुक्तानी गर्दा साउण्ड बक्सले रिङटोनसँगै भुक्तानी प्राप्त भएको जानकारी रकम बोलेरै दिने गर्छ । 

ईसेवाको कार्यालय नजिकै रहेको हिमालयन जाभामा साउण्ड बक्स सहितको क्यूआर कोड परीक्षण गरिएको हो । उक्त परीक्षण सफल भएको र कम्पनीले अब चाँडै नै मर्चेन्टहरूलाई उपलब्ध गराउने बुझिएको छ ।

तर साउण्ड बक्स सहितको क्यूआर कोडका लागि लाग्ने शुल्क सम्बन्धी स्पष्ट जानकारी भने प्राप्त भइसकेको छैन । यद्यपि कम्पनीले निश्चित रेन्टल चार्ज अथवा एकमुस्ट शुल्क लिएर उक्त साउण्ड बक्स उपलब्ध गराउने अनुमान गरिएको छ । 

डिजिटल वालेट तथा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा एसएमएस तुरुन्तै नआउने, लिङ्क गरिएको मोबाइल मर्चेन्टको काउन्टरमै राख्नु पर्ने जस्ता समस्याका कारण उपभोक्ता र मर्चेन्टलाई झन्झट हुन थालेपछि पछिल्लो समय साउण्ड बक्स तथा डिजिटल स्क्रिन सहितका क्यूआर कोड उपलब्ध गराउने ट्रेन्ड नै सुरु भएको छ । 

 

पछिल्लो अध्यावधिक: असोज ८, २०८० १७:०